काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले देशभर रहेका आफ्ना संगठनका प्रतिनिधिलाई चितवनमा बोलाएको छ । एशोसिएशनले अहिलेको अटोमोवाइल क्षेत्रको समस्या र त्यसको समाधानमा छलफल गर्न भन्दै चितवन भेला बोलाएको हो ।
पुस ८ र ९ गरी दुई दिन चल्ने भेलामा नाडाका पूर्व अध्यक्षहरु, नाडाका सातै प्रदेश एशोसिएशनका अध्यक्ष लगायत पदाधिकारीहरु र नाडाका केन्द्रिय कार्य समिति सदस्यहरुको उपस्थिति रहेको छ ।
कार्यक्रममा नाडा र नाडाका प्रदेश एशोसिएशनहरु वीच नेपालको समग्र अटोमोवाइल क्षेत्रले बर्तमान समयमा भोग्नु परिरहेको समस्या र बैंकहरुको उच्च ब्याजदर, चालु पूँजी कर्जामा लागु गरेको जोखिमभार र एलसी मार्जिन जस्ता ब्यवस्थाले व्यापार गर्न कठिन भएको विषयमा छलफल गर्ने बताइएको छ ।
यसअघि नाडाले मङ्गसिर २२ गते काठमाडौं लगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो ।
चितवनमा भइरहेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा. विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोवाइल क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत गर्ने नाडाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

