महिन्द्राको हटकेक एसयूभी, यही महिना नेपालमा विक्री सुरु हुँदै

काठमाडौं । महिन्द्राको एसयूभी क्रेजलाई परिवर्तन गर्ने एसयूभीको रुपमा अघिल्लो वर्ष भारतमा विक्री सुरु भएको एक्सयूभी ७०० नेपाल आउने भएको छ । कम्पनीको चर्चित एसयूभी आयात प्रतिबन्धको कारण नेपाल आउन पाएको थिएन ।

भारतमा बुकिङको मामलामा रेकर्ड कायम गरेको एक्सयूभी ७०० कै कारण महिन्द्राले अहिलेसम्मकै धेरै गाडी सन् २०२२ मा विक्री गर्न सफल भएको हो । निकै प्रिमियम फिचर र बोल्ड डिजाइनमा बजारमा आएको एक्सयूभी ७०० डिजेल र पेट्रोल दुबै इन्जिनमा उपलब्ध रहेको छ ।

‘आयात प्रतिबन्धको कारण नेपाल ल्याउन नपाइएको एक्स्यूभी ७०० चाँडै नेपाल आउने छ । संभवत आयात प्रतिबन्ध फुकुवा भएपछि महिन्द्राको पहिलो नेपाल आउने मोडल एक्सयूभी ७०० नै हो । यसलाई यही जनवरी महिनामा नेपालमा विक्री सुरु गर्ने योजना बनेको छ’, अग्नी इनकर्पोरेट स्रोतले मेरोअटोसँग भन्यो ।

महिन्द्रा एक्सयूभी ७०० ले ‘ग्लोवल एनक्यापको सेफर च्वाइस अवार्ड’ २०२२ जित्न सफल भएको थियो । ग्लोबल एनक्यापले निर्धारण गरेको ६६ अंकमा ५७.६९ अंकसहित महिन्द्रा एक्सयूभी ७०० ले सेफर च्वाइस अवार्ड जितेको हो ।

अहिल्यै महिन्द्राले एक्सयूभीलाई कति भेरियन्टमा र कुन मूल्य राखेर ल्याउँछ भन्ने एकिन भएको छैन । तर, भारतमा ५ र ७ सिट क्षमतामा विक्री भइरहेको एक्सयूभी ७०० निकै पावर फुल २.२ लिटर टर्बो डिजेल र २.० लिटर टर्बो पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

नेपालमा त महिन्द्राको पहिलो ठूलो साइजको पेट्रोल एसयूभीको रुपमा एक्सयूभी ७०० आउने छ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस र डिजेल इन्जिनले १८५ पीएस पावर प्रदान गर्नेछ । डिजेल इन्जिनको टर्क ४५० एनएम छ भने, पेट्रोल इन्जिनको ३८० एनएम प्रदान गर्छ ।

एक्सयूभी ७०० को सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ । तर, टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ ।

यसमा एड्रोनएक्स कनेक्ट सिस्टममा ६० वटाभन्दा धेरै कनेक्ट फिचर रहेका छन् । ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील र सनरुफले यो गाडीलाई लोभलाग्दो बनाएको छ ।


Back_to_top