काठमाडौं । एमजी मोटर इन्डियाले कोमेट ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल (जीएसईभी) प्लेटफर्ममा आधारित माइक्रो एसयूभी ल्याउने भएको छ । कम्पनीले सन् २०२५सम्ममा नयाँ एसयूभी ल्याउने गरी उत्पादनको काम अगाडि बढाएको हो ।
एमजीले यसको उत्पादन प्रक्रिया अगाडि बढाइसकेको छ । अहिले उत्पादन कोड नेम ‘ई-२६०’ रहेको नयाँ इलेक्ट्रीक एसयूभी निकै लोभलाग्दो डिजाइनमा आउने पक्का भएको हो ।
एमजीले यसको प्रोटोटाइप मोडल चाँडै सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ । आगामी मे महिनामा कोमेट मिनी ईभीको विक्री सुरु भएसँगै नयाँ मोडलको प्रोटोटाइप सार्वजनिक हुनेछ ।
कोमेट ईभीको तुलनामा केही ठूलो हुने बताइएको माइक्रो एसयूभी सुजुकी जिम्नी थ्री डोर मोडल जस्तै देखिन्छ । यो ईभी पनि थ्री डोरमा नै आउने छ । यसको डिजाइन एक कम्प्याक्ट सिटी कारको जस्तै हुनेछ ।
यसको बाहिरी लुक्स भने एमजीको सिस्टर कम्पनी बेजोनले २०२२मा देखाएको येप माइक्रो एसयूभीको जस्तै हुने सम्भावना छ । त्यसैले नयाँ एसयूभी बक्सी सेप र रेट्रो डिजाइनमा हुने अनुमान गर्न सकिन्छ ।
कम्पनीले नयाँ एसयूभीमा दिने ब्याट्री, मोटर लगायतका विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
कम्पनीले सार्वजनिक गरेको अवधारणा अनुसार यो ईभी १०० हर्सपावर र अल व्हील ड्राइभ अप्सनमा डुअल मोटर सेटअप सहित आउने अनुमान भने गर्न सकिन्छ ।

