काठमाडौं । महिन्द्राले करिब २० महिनाअघि बजारमा ल्याएको एक्सयूभी ७०० को उत्पादन एक लाख यूनिट पुरा भएको छ । कम्पनीले औषत मासिक ५ हजार यूनिटका दरले उत्पादन गरेर एक लाख यूनिटको कोशेढुङ्गा छुन सफल भएको हो ।
भारतमा सबैभन्दा धेरै वेटिङ पिरियड रहेको एक्सयूभी ७०० का केही भेरियन्टमा अहिलेपनि ४८ महिनासम्म वेटिङ गर्नु पर्ने अवस्था रहेको कम्पनीले जनाएको छ ।
महिन्द्राले एक्सयूभी ७०० को विभिन्न २९ भेरियन्ट भारतीय बजारमा विक्री गर्दै आएको छ । ५ र ७ सिट मध्ये कुनै एक छनोट गरेर किन्न सकिने एक्सयूभी ७०० निकै आकर्षक डिजाइनमा तयार भएको मोडल हो ।
महिन्द्राले अहिलेसम्म बजारमा ल्याएको मध्य सबैभन्दा धेरै हाइटेक फिचर दिइएको एक्स्यूभी ७०० मा ‘एड्रिनोएक्स’ कनेक्ट फिचर पाउन सकिन्छ । बोस्च इन्डियाले उत्पादन गरेको यो सिस्टम निकै नविनतम, लोभलाग्दो र प्रयोग गर्न सजिलो रहेको महिन्द्राको दावी छ ।

यात्रालाई आरामदायी र मनोरन्जनात्मक बनाउन मोवाइल कनेक्ट, सिमकार्ड बिनाको नेभिगेशन, रिमोर्ट स्टार्ट÷स्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पनि यसमा समावेस भएका छन् ।
नेपालमा उपलब्ध एक्सयूभी ७०० मा २.० लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले २०० पीएस पावर र ३८० एनएम टर्क प्रदान गर्छ ।
एक्सयूभी ७०० को सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने, टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ ।
कम्पनीले यसलाई प्रिमियम बनाउन ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील र पानारोमिक सनरुफ जस्ता फिचर प्रदान गरेर गाडीलाई लोभलाग्दो बनाएको छ ।
नेपालमा आर्थिक मन्दीको असर
महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेटले तीन महिना अघि नेपालमा एक्सयूभी ७०० को विक्री सुरु गरेको हो । कम्पनीले विmक्री सुरु गरेको भएपनि बजारमा देखिएको आर्थिक संकटको असर यसको विक्रीमा परेको छ ।

अहिले कुनै पनि ब्राण्डले गाडीको विक्री राम्रो गर्न सकिरहेका छैनन् । यस्तो संकटपूर्ण समयमा नेपाल आएपनि ग्राहकको प्रतिक्रिया राम्रो आइरहेको कम्पनी स्रदोतले मेरोअटोलाई बतायो ।
अहिले नेपाली बजारमा एक्सयूभी ७०० को विभिन्न ६ भेरियन्ट विक्री वितरण गर्दै आएको छ । कम्पनीले ५ सिट अप्सनमा ३ भेरियन्ट र ७ सिट अप्सनमा पनि ३ भेरियन्ट ल्याएर विक्री वितरण सुरु गरेको हो ।
मूल्यको हिसावले एक्सयूभी ७०० को ५ सिट अप्सन ७ सिटरको तुलनामा सस्तो रहेको छ । जसमा एएक्स ३ को मूल्य ७४ लाख रुपैयाँ, एएक्स ५ को ८१ लाख रुपैयाँ र एएक्स ५ अटोमेटीकको ८९ लाख रुपैयाँ रहेको छ ।
साथै, कम्पनीले ७ सिट क्षमताको एएक्स ५ को मूल्य ८३ लाख रुपैयाँ, एएक्स ७ को १ करोड ५ लाख रुपैयाँ र एएक्स ७ अटोमेटीकको १ करोड १० लाख रुपैयाँ कायम गरेर विक्री गरिरहेको छ ।

