काठमाडौं । दुई दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटर्स ग्रुप र एलजी इनर्जी सोलुसन मिलेर अमेरिकामा ब्याट्री प्लान्ट स्थापना गर्ने भएका छन् । बढ्दो विद्युतीय साधनको माग सम्बोधन गर्न दुई कोरियाली कम्पनीको संयुक्त लगानीमा ब्याट्री उत्पादन गर्न लागेका हुन् ।
अमेकिाको जर्जिया राज्यमा स्थापना हुने प्लान्टमा एलजी इनर्जी शोलुसन र हुन्डाई मोटर्स ग्रुपको समान ५०/५० प्रतिशत सेयर रहने छ । यी दुई कम्पनी बीचको सहकार्य तत्काल सुरु हुने घोषणा भएको हो ।
नयाँ ब्याट्री प्लान्टका लागि ४.३ विलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरिएको छ । नयाँ बन्ने प्लान्टबाट वार्षिक ३० गिगाहर्ज आवर ब्याट्री उत्पादन हुनेछ । उक्त परिमाणको ब्याट्रीको प्रयोगबाट वार्षिक ३ लाख इलेक्ट्रीक कार उत्पादन हुने कम्पनीले जनाएको छ ।
कोरियन अटोमोवाइल निर्माताले ईभी उत्पादनमा आफुलाई आक्रमक बनाउन केही दिनअघि मात्रै भारतको तामिलनाडुमा २ खर्ब भारतीय रुपैयाँ लगानी गर्ने सम्झौंता गरेको थियो । कम्पनीले गरेको सम्झौंता अनुसार भारतमा नै ब्याट्री उत्पादन, चार्जिङ नेटवर्क विस्तार र ईभीको लागि आवश्यक पर्ने ईको सिस्टम निर्माण गर्ने उल्लेख छ ।
विश्व बजारमा ईभी विकासमा तिब्र सफलता पाइरहेको हुन्डाईले कोना, आयोनीक ५ र आयोनीक ६ जस्ता मोडल अहिले बजारमा बिक्री गर्दै आएको छ । चाँडै कम्पनीले आयोनीक ७ जस्तो फुल साइज इलेक्ट्रीक एसयूभी र अन्य साना उत्पादन पनि बजारमा ल्याउने तयारी गरिरहेको समाचारहरु बाहिर आएका छन् ।


