काठमाडौं । बजारमा सबैभन्दा धेरै चर्चा हुने विद्युतीय कारको बहुआयामिक पक्षमा अहिले छलफल चलिरहेको छ । यसका फाइदा र बेफाइदाका अलावा यसको उच्चतम प्रयोग कसरी हुन्छ भन्ने विषयले अटो पण्डितहरुलाई ब्यस्थ बनाएको छ ।
आज अर्थमन्त्री डा. प्रकाशशरण महतले संघिय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दैछन् । भन्नलाई आगामी वर्षको बजेट भनिएपनि करका दरहरु आज साँझबाटै लागु हुने भएको कारण इलेक्ट्रीक कारमा लगाउने करलाई धेरैले चासोका साथ हेरेका छन् ।
यहि क्रममा महिन्द्राको एक्सयूभी ४०० र ग्रेटवाल मोटर्सको ओरा गुड क्याट ईभीमा कस्तो कर लाग्छ भन्ने कुरेर बसेका मोडल हुन् । यसअघि सरकारले कुनै ब्यवसायीक घरानाको उत्पादन नै नेपाल ल्याउन नदिने नियतका साथ ईभीमा कर निर्धारण गरेको र यसपटक सम्भवत त्यो परिवर्तन हुने अनुमानको साथ यी दुई ब्राण्डका इलेक्ट्रीक कार नेपाल आउने प्रतिक्षामा छन् ।
अहिले सरकारले १०० किलोवाट क्षमताको मोटरसम्मका साधनमा १० प्रतिशत भन्सार मात्रै लगाएको छ । त्योभन्दा माथिका गाडीमा फरक भन्सार दर र अन्तःशुल्क पनि लगाइएको कारण महिन्द्रा र ग्रेटवालले आफ्ना उत्पादन ल्याउन पर्ख र हेरको नीति अपनाएका हुन् ।
नेपाल आउने क्रममा रहेका यी दुबै कारमा ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छन् । अहिलेकै मोटर पावर अनुसारको कर तिर्ने हो भने दुबै मोडलमा ३० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण शुल्क लाग्छ । त्यसमा ब्यवसायीको खर्च र नाफा जोड्दा गाडीको मूल्य ७५ लाख हाराहारी पर्न आउने भएको कारण तत्काल यी गाडी नेपाल नआएका हुन् ।
सरकारले अहिलेको नीतिगत ब्यवस्था परिवर्तन नगरेको खण्डमा ग्रेटवाल र महिन्द्राले केही समयपछि यी दुबै कार नेपाल ल्याउने छन् । यदि परिवर्तन भएको खण्डमा पनि थोरै करको दायरामा पर्नेगरी नेपाल आउने सम्भावना भने देखिन्छ ।
जे होस्, सरकारले कर बढाएपनि वा नबढाएपनि यी दुई ईभी भदौसम्म नेपाली बजारमा बिक्री सुरु हुने अपेक्षा र अनुमान गर्न सकिन्छ ।


