बीवाइडीको प्रिमियम ब्राण्ड ‘डेन्जा’ले ल्यायो ७ सय किमि रेन्ज दिने एसयूभी

काठमाडौं । बीवाइडीको प्रिमियम ब्राण्ड डेन्जाले सिंगल चार्जमा ७०२ किलोमिटरसम्म रेन्ज दिने नयाँ एसयूभी ‘एन–सेभेन’ बजारमा ल्याएको छ । बीवाइडीले डेन्जाको स्वामित्व ९० प्रतिशत पुर्याएपछि आएको यो दोस्रो मोडल हो ।

बीवाइडी र डेम्बलरको संयुक्त ५०/५० प्रतिशत लगानीमा सन् २०१२ मा स्थापना भएको डेन्जा ब्राण्डको थप ४० प्रतिशत स्वामित्व खरिद गरेपछि बीवाइडीले पहिलो मोडल ‘डी-नाइन’ एमपीभी ल्याएको थियो ।

कम्पनीले डी-नाइन एमपीभी १० महिना अघि बजारमा ल्याएको हो । यो मोडल मासिक १० हजार यूनिट हाराहारी बिक्री हुँदै आएको तथ्यांकले देखाएको छ । डी-९ मोडलको बिक्री उत्साहजनक रहेको कम्पनीले भनाइ छ ।

डेन्जाले ल्याएको नयाँ एन-सेभेन प्रिमियम एसयूभी हो । ५ सिट क्षमताको यो एसयूभीको लम्बाई ४८६० एमएम, चौडाई १९३५ एमएम र उचाई १६०२ एमएम रहेको छ ।

डेन्जा एन-७ मा २९४० एमएम लामो ह्वीलवेस दिइएको छ । कम्पनीले यसलाई दुई फरक फ्रन्ट डिजाइनमा ल्याएको छ । भेरियन्ट अनुसार फरक स्थानमा डे टाइम रनिङ लाइट पाउन सकिन्छ । डेन्जाले यसमा आफ्नै अपरेटिङ सिस्टम दिएको कम्पनीले जनाएको छ ।

प्रिमियम ब्राण्डको रुपमा आएको कारण यसको रेन्ज पनि निकै धेरै छ । यसमा ९१ किलोवाट आवर क्षमताको फिनड्रिम्स ब्राण्ड (जो बीवाइडीको सहायक कम्पनी)ले नै उत्पादन गरेको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ ।

यसको टु ह्वील ड्राइभ भर्सनले क्रुजिङ रेन्ज ७०२ किलोमिटर दिने सीएलटीसीले प्रमाणित गरेको छ । फोर ह्वील ड्राइभ सिस्टम भएको भेरियन्टले क्रुजिङ रेन्ज ६३० किलोमिटर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एन–सेभेन मोडल सीबीटी (सेल टु बडी) टेक्नोलोजीमा आधारित छ । कम्पनीले यसमा टु ह्वील ड्राइभ भर्सनमा २३० किलोवाट पीक पावर भएको मोटर दिएको छ भने फोर ह्वीलमा ३८९ किलोवाटको मोटर छ ।


Back_to_top