काठमाडौं । सिट्रोन सीथ्री इलेक्ट्रीक किन्ने ग्राहकले मूल्यको २० प्रतिशतले हुन आउने ६ लाख ५९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सक्ने छन् । कम्पनीले यसको सुरुवाती भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेसँगै यसको डाउन पेमेन्ट एकिन भएको हो ।
सिट्रोनको बहुप्रतिक्षित इलेक्ट्रीक क्रसओभर सीथ्री नेपालमा हिजो सोमबारबाट बुकिङ खुल्ला भएको छ । फ्रेन्च कार निर्माताले भारतमा उत्पादन गरेको पहिलो इलेक्ट्रीक क्रसओभरको रुपमा सीथ्री नेपाल आउन लागेको हो ।
आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले आगामी साउनमा डेलिभरी दिनेगरी बुकिङ खुल्ला गरेको सीथ्री इलेक्ट्रीक बुकिङकर्ताले १ लाख रुपैयाँ बुझाएर बुकिङ गर्न सक्नेछन् । निकै आकर्षक डिजाइन, फराकिलो क्याविन र ठूलो बुट स्पेश रहेको सीथ्रीमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । रेगुलर मोडलको तुलनामा यसमा १० एमएम कम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
कति पर्ला मासिक किस्ता ?
कम्पनीले यसको सुरुवाती भेरियन्टको मूल्य ३२ लाख ९९ हजार निर्धारण गरेको र ईभीमा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्नेले ८० प्रतिशत कर्जा सुविधा लिन पाउने छन् । यदि सीथ्री किन्ने ग्राहकले २० प्रतिशत मात्रै डाउन पेमेन्ट बुझाउने हो भने २६ लाख ३९ हजार २०० रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ ।
यसरी लिएको कर्जा अहिले १२.५ प्रतिशत ब्याजदरसम्ममा पाइने र ७ वर्ष भित्र तिर्ने सुविधा पाउने हुँदा मासिक ४७ हजार ३०० रुपैयाँ हाराहारी किस्ता तिर्नु पर्ने हुन्छ ।
यस्तो छ सीथ्री इलेक्ट्रीक
भारतमा सीथ्री इलेक्ट्रीक लाइभ र फिल गरी दुईवटा भेरियन्ट बिक्री हुँदै आएको छ । नेपालमा पनि सम्भवत दुबै भेरियन्ट उपलब्ध हुनेछन् ।
कम्पनीले सीथ्री इलेक्ट्रीकमा २९.२ किलोवाट आवरको लिथियम आयोन फोस्फेट ब्याट्री दिएको छ । यसलाई निरन्तर डिसी चार्जरबाट चार्ज गर्न मिल्नेगरी इन्जिनियरिङ गरिएको छ । फ्रन्ट ह्वील ड्राइभ सिस्टम उपलब्ध कारमा ४२ं५ किलोवाट अर्थात् ५७ हर्सपावरको मोटर छ । साथै यसको टर्क १४३ एनएम पाउन सकिन्छ ।
सानो मोटर भएपनि तत्कालै पावर पाइने कारण यसले ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउने छ । यसको टप स्पीड क्ष्मता भने १०७ किलोमिटर प्रतिघण्टा मात्रै छ । सिट्रोनको ई-सीथ्रीमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित ईको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।
भारतमा सीथ्रीमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर ब्याट्रीमा वारेन्टी दिएको छ । त्यस्तै, यसको मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी छ । नेपालमा कति वारेन्टी दिन्छ भन्ने कुरा सार्वजनिक गरेको छैन ।


