काठमाडौं । चर्चित इलेक्ट्रीक सब फोर मिटर एसयूभी नेक्सन ईभीको प्राइम मोडलको बुकिङ सुरु भएको छ । टाटाको आधिकारीक बितरक सिप्रदी ट्रेडिङले नेक्सन प्राइमका सबै भेरियन्टमा २ लाख ५० हजार रुपैयाँ मूल्य बढ्ने सूचना ग्राहकलाई दिएर बुकिङ सुरु गरेको हो ।
सरकारले ५० किलोवाटदेखि १०० किलोवाटसम्मको सेग्मेन्ट छुट्टाएर भन्सार र अन्तःशुल्क वृद्धि गरेसँगै टाटाले आफ्नो विद्युतीय कारको मूल्य समायोजन गरेको हो ।
सिप्रदीले अहिले नेपाली बजारमा नेक्सन प्राइमको ३ भेरियन्ट र डार्क एडिसनको २ भेरियन्ट बिक्री गर्दै आएको छ । यसअघि नेक्सन प्राइम एक्सएम भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको थियो । अहिले कम्पनीले यसको मूल्य ४१ लाख ४९ हजार बनाएको छ ।
त्यस्तै यसअघि एक्सजेड भेरियन्टको मूल्य ४० लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ४२ लाख ९९ हजार रुपैयाँ थियो । यी दुबै भेरियन्टमा पनि २ लाख ५० हजार रुपैयाँ मूल्य बढ्ने भएको हो ।
नेक्सन ईभी डार्क एडिसन दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले यसअघि डार्क एडिसनमा एक्सजेड प्लस भेरियन्टको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ र एक्सजेड लग्जरी प्लस भेरियन्टको ४३ लाख ९९ हजार रुपैयाँ थियो । यी दुबै भेरियन्टमा पनि २ लाख ५० हजार मूल्य वृद्धि भएको जानकारी शोरुममा सेल्स टीमले दिइरहेको छ ।
सिप्रदी ट्रेडिङले यी सबै भेरियन्टसहित नेक्सन म्याक्स र टिगोर ईभीको नयाँ मूल्य भने, आगामी आइतबारसम्ममा सार्वजनिक गर्ने जनाएको छ ।
नेक्सन ईभीमा ३० किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । कम्बस्चन इन्जिन भएको नेक्सनको लगभग समान डिजाइन र फिचर रहेको ईभी थप हाइटेक रहेको छ ।


