सुरक्षीत कारमा अकल्पनीय क्षती

काठमाडौं । मंगलबार बझाङको केदारस्यूँ गाउँपालिका-१, जुवालीखेत देउरामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भयो । सू.प.प्र. ००१ झ ४८० नम्बरको टोयोटा फर्चुनर गाडी सडकबाट ४०/५० मिटर तल खस्दा गाडीमा सवार सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीसहित उनको परिवारका ३ जनाको मृत्यु भएको थियो ।

निकै सुरक्षीत मानिने टोयोटा फर्चुनर सडकबाट ४०/५० मिटर तल खस्दा कसरी यति धेरै क्षती भयो भन्ने विषयले अहिले चर्चा पाइरहेको छ ।

टोयोटाले भारतमा उत्पादन गरेको टोयोटा फर्चुनर निकै सुरक्षीत कार मानिन्छ । यसले आसियन एनक्याप र अष्ट्रेलियन एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल भएको छ । नेपालमा पनि टोयोटा फर्चुनर थुप्रै दुर्घटनामा २०० मिटरभन्दा बढी तल खस्दापनि यात्रु र गाडीमा ठूलो क्षती नभएको घटना छन् ।

टोयोटाका गाडी विश्वभर बलियो, टिकाउ र सुरक्षीत मानिन्छन् । यसका बाबजूद गाडीमा यति ठूलो क्षती कसरी पुग्यो भन्ने विषयले सबैलाई झस्काएको छ ।

हुन त दुर्घटना भएपछि निकै सुरक्षीत मानिने बीएमडब्लू, मर्सिडिज जस्ता गाडी यात्रा गर्ने यात्रुको पनि मृत्यु भएका समाचार आइरहन्छन् । तर, सामान्य लाग्ने दुर्घटनामा हुने अल्कपनीय क्षतीले बहस गराउँछ ।

बझाङ प्रहरीका सहायक निरिक्षक केशवदत्त भट्ट पनि यो दुर्घटनामा भएको क्षती सोचेभन्दा निकै बढी भएको मान्छन् । उनी भन्छन्, ‘प्रहरीको स्कर्टिङ यूनिट अगाडि थियो । पछाडि मन्त्री ज्यू लगायतका अन्य उहाँका परिवारका सदस्य हुनुहुन्थ्यो । पछाडि रहेको गाडी अचान खसेपछि स्कर्टिङ टीमले नै उहाँको उद्दार गरेको थियो ।’

भट्टका अनुसार दुर्घटनाको कारण पत्ता लागिसकेको छैन । तर, जहाँ दुर्घटना भएको थियो । त्यहाँ बाटो पनि ठीकठाक थियो । गाडीको स्पीड पनि धेरै थिएन ।

दुर्घटनामा मन्त्री पृथ्वीबहादुर सिंह, उनको धर्मपत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको निधन भएको हो । चालकको अझै उपचार चलिरहेको छ ।

मन्त्री सिंहको धर्मपत्नी र भाउजुको देउरास्थित रितु पोलिटेक्निकमा प्राथमिक उपचार गराउने क्रममा नै मृत्यु भएको थियो । मन्त्री सिंहको भने नेपालगंज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

गाडीमा समस्या आएको कारण दुर्घटना भएको थियो वा चालकले गरेको मानवीय त्रुटीको कारण यति ठूलो दुर्घटना भयो ? यसको विषयमा छानबिन होला । तर, हाम्रा सडकको अवस्थाकै कारण ५० प्रतिशतभन्दा बढी दुर्घटना हुने गरेको भने साँचो हो ।


Back_to_top