काठमाडौं । हरेक बिहान काठमाडौंमा एउटै दृश्य दोहोरिन्छ। हजारौं मानिस धुलाम्मे सडकछेउ बसको प्रतीक्षामा उभिएका हुन्छन्। कार्यालय जाने कर्मचारी ट्राफिकमा फसिरहेका हुन्छन्। विद्यार्थीहरू भीडभाड भएको माइक्रोबसको ढोकामा झुन्डिएर यात्रा गर्न बाध्य हुन्छन्। बसका सहचालकहरू ट्राफिकको हल्लाबीच गन्तव्य चिच्याइरहेका हुन्छन् भने विदेशी पर्यटकहरू बस कहाँ जाँदैछ भनेर बुझ्न संघर्ष गरिरहेका हुन्छन्।
धेरै नेपालीका लागि यो अब सामान्य दैनिक जीवन बनिसकेको छ। जसले हाम्रो समाज, अर्थव्यवस्था तथा जीवनशैली र उत्पादन सम्बन्धमा समेत नकारात्मक असर पारिरहेको छ। तसर्थ यो भयावह अवस्थालाई परिवर्तन गर्नैपर्छ। तर कसरी ?
नेपालको सार्वजनिक यातायात केवल यात्राको मात्र विषय होइन। यो प्रत्यक्ष रूपमा जनजीविका, आर्थिक, सामाजिक सम्बन्ध तथा दिगो विकाससँग जोडिएको छस् सार्वजनिक सुरक्षा, आर्थिक उत्पादकत्व, दिगो पर्यटन, वातावरण, ट्राफिक व्यवस्थापन, र नागरिकहरूको दैनिक जीवनको गुणस्तरसँग।तर हरेक दिन लाखौं मानिस बोक्ने यो प्रणाली आज पनि पुरानो शैली, कमजोर नियम, अव्यवस्थित योजना र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणको अभावमा चलिरहेको छ।
अर्कोतर्फ, नेपाल परिवर्तन पनि भइरहेको छ। काठमाडौंमा विद्युतीय बसहरू देखिन थालेका छन्। क्यूआर भुक्तानी प्रणाली सार्वजनिक यातायातमा विस्तार हुँदैछ। डिजिटल प्रविधि तीव्र रूपमा बढिरहेको छ। युवापुस्ताले सफा, व्यवस्थित र स्मार्ट शहरको माग गरिरहेको छ।
समस्या के हो भने देश अगाडि बढिरहेको छ, तर नेपालको सार्वजनिक यातायात प्रणाली भने अझै विगतकै शैलीमा अड्किएको छ।

यो लेख चालक वा सहचालकलाई मात्र दोष दिन लेखिएको होइन। उनीहरू पनि नेपालको कमजोर कानुनी र व्यवस्थापकीय संरचना, गैरजिम्मेवार नीति र व्यवस्था, ट्राफिक तथा प्रशासनिक दबाब र मुनाफाखोर गाडी मालिक तथा अव्यवस्थित प्रणालीभित्र काम गर्न बाध्य छन्।
वास्तविक समस्या अझ ठूलो छ। नेपालसँग आधुनिक शहरी समाजअनुसारको स्पष्ट र दीर्घकालीन सार्वजनिक यातायात दृष्टिकोण छैन। जहाँ सरकारी लगानी छैन, त्यहाँ नीतिनिर्माता र पहुँचवालाको रुचि छैन।
र यदि यो अवस्था यस्तै रहिरह्यो भने, शहर विस्तार हुँदै जाँदा र निजी सवारी साधन बढ्दै जाँदा तथा मोटरसाइकलमा जनता निर्भर रहँदा समस्या अझ गम्भीर बन्नेछ।
नेपालको सार्वजनिक यातायातको वास्तविक अवस्था
काठमाडौंमा नियमित सार्वजनिक यातायात प्रयोग गर्ने जो कोहीले वास्तविकता सजिलै बुझ्छ। धेरै बसहरू अत्यधिक भीडभाडयुक्त छन्, राम्रो हावाप्रवाह छैन, आवाज धेरै हुन्छ, फोहोर छन्, र राम्रो मर्मत गरिएको हुँदैन।
गर्मी महिनामा धुलो, ट्राफिक र घामका कारण बसभित्र यात्रा निकै असहज हुन्छ। मनसुनमा यात्रुहरू हिलो भएको सडकछेउ बस कुर्दै उभिन बाध्य हुन्छन्। धेरै बसभित्र सिट च्यातिएका हुन्छन्, भुइँ फोहोर हुन्छ, झ्याल बिग्रिएका हुन्छन् र सरसफाइ कमजोर हुन्छ। यी समस्या साना जस्तो देखिए पनि, यही कुराले लाखौं नेपालीको दैनिक यात्रा अनुभव निर्धारण गर्छ। सार्वजनिक यातायात संघर्ष जस्तो हुनु हुँदैन। यो व्यवस्थित, सुरक्षित, भरपर्दो र सम्मानजनक हुनुपर्छ।

बस प्रणाली अझै अन्योलपूर्ण
नेपालको सार्वजनिक यातायातको सबैभन्दा ठूलो समस्या मध्ये एक हो, रुटको अन्योल।आज पनि यात्रुहरू हातले लेखिएका कागजमा, जथाभावी टाँसिएका स्टिकरमा, धमिला बोर्डहरूमा, वा सहचालकको चिच्याहटमा निर्भर छन्। यात्रुहरूको खराब व्यवहारमा समेत।स्थानीय यात्रुहरूलाई समेत कहिलेकाहीँ बस रिङरोड भित्र जान्छ कि बाहिर, बानेश्वर हुँदै जान्छ कि जाँदैन, कोटेश्वर रोकिन्छ कि रोकिन्न, भक्तपुरसम्म पुग्छ कि बीचमै रोकिन्छ, वा कुन बस कति बेला जान्छ या जान्छ कि जाँदैन भन्ने कुरा बुझ्न गाह्रो हुन्छ।
पर्यटकहरूको लागि त यो प्रणाली झन् कठिन हुन्छ। नेपालले अब स्पष्ट रङ्ग(आधारित रुट प्रणाली लागू गर्नुपर्छ। उदाहरणका लागि रातो रुट → रिङरोड सेवा, निलो रुट → एयरपोर्ट सेवा, हरियो रुट → ललितपुर सेवा र पहेँलो रुट → भक्तपुर सेवा।
हरेक बसमा रुट नम्बर, गन्तव्य, डिजिटल डिस्प्ले, र एकरूप रुट जानकारी हुनुपर्छ। दक्षिण कोरिया, सिंगापुर, जापान र भारतले समेत यस्ता प्रणाली सफलतापूर्वक प्रयोग गरिरहेका छन्। नेपाललाई सबैभन्दा महँगो प्रणाली चाहिएको होइन। नेपाललाई व्यवस्थित प्रणाली चाहिएको हो।
बस बसपार्क र स्टप या तोकेको स्थानमै रोकिनुपर्छ
काठमाडौंको ट्राफिक जामको मुख्य कारणमध्ये एक हो, बसहरू जथाभावी रोकिनु। सार्वजनिक सवारी साधन चोकमै, सडकको बीचमा, ट्राफिक बत्ती नजिक, विद्यालय या संवेदनशील क्षेत्रमा, वा चलिरहेको गाडीको अगाडि अचानक रोकिन्छन्।यसले ट्राफिक जाम, दुर्घटना जोखिम, झैझगडा, असभ्यता, असहज र कठिन यात्रा, र पैदल यात्रु तथा मोटरसाइकल चालकको सुरक्षामा खतरा बढाउँछ।

नेपालले अब कडाइका साथ बसहरूलाई तोकिएको बस स्टपमा मात्र रोकिने व्यवस्था लागू गर्नुपर्छ। साथै बस स्टपहरू पनि सुधार हुनुपर्छ। आधुनिक बस स्टपमा छानो तथा शौचालय, समयसहितको रुट जानकारी, बत्ती तथा पानी, सबै किसिमका बस्ने ठाउँ, र स्पष्ट संकेत हुनुपर्छ। सामान्य सुधारले पनि यात्रु अनुभवमा ठूलो परिवर्तन ल्याउन सक्छ।
स्मार्ट सार्वजनिक यातायात प्रणाली आवश्यक
काठमाडौंको ट्राफिक अब केवल म्यानुअल रूपमा नियन्त्रण गरेर सम्भव छैन। नेपाललाई जीपीएस ट्र्याकिङ, ट्राफिक प्रहरी, रुट व्यवस्थापन, समय तालिका, र आपतकालीन निगरानीसँग जोडिएको केन्द्रीय यातायात नियन्त्रण प्रणाली आवश्यक छ।
हरेक सार्वजनिक सवारीमा जीपीएस ट्र्याकिङ, स्पिड निगरानी, डिजिटल दर्ता, र रुट ट्र्याकिङ प्रणाली हुनुपर्छ। यसले लापरवाही ड्राइभिङ नियन्त्रण, बस दौड प्रतिस्पर्धा कम, समय व्यवस्थापन सुधार, र दुर्घटनामा छिटो प्रतिक्रिया दिन मद्दत गर्नेछ। यात्रुहरूले मोबाइल एपमार्फत बस कहाँ छ भन्ने जानकारी पाउन सक्नुपर्छ।
सार्वजनिक यातायात सफा हुनुपर्छ
नेपालको सार्वजनिक यातायातको एउटा कटु वास्तविकता हो, सरसफाइको अभाव। धेरै बसहरू नियमित सफा हुँदैनन्। धुलो, फोहोर, दुर्गन्ध र बिग्रिएको सिटले यात्रु अनुभवलाई नराम्रो बनाउँछ। सरकारले सार्वजनिक सवारीका लागि अनिवार्य सरसफाइ मापदण्ड लागू गर्नुपर्छ। यसअन्तर्गत दैनिक सफाइ, साप्ताहिक गहिरो सफाइ, आकस्मिक निरीक्षण, र नियम उल्लंघनमा जरिवाना हुनुपर्छ। सफा सार्वजनिक यातायात विलासिता र व्यापार मात्र होइन। यो आधारभूत अधिकार र विकासको पनि आधार हो। सार्वजनिक सम्मान हो र अधिकार हो।
सीसीटीभी र यात्रु सुरक्षा अनिवार्य हुनुपर्छ
विशेषगरी महिला, विद्यार्थी, र ज्येष्ठ नागरिक अझै पनि धेरै सार्वजनिक सवारीमा पूर्ण सुरक्षित महसुस गर्दैनन्। बसहरूमा सीसीटीभी क्यामेरा, गुनासो नम्बर, चालक परिचय, र आपतकालीन अलर्ट प्रणाली हुनुपर्छ। यसले दुर्व्यवहार कम, चोरी नियन्त्रण, जिम्मेवारी बढाउने, र दुर्घटना अनुसन्धानमा मद्दत गर्नेछ।

चालक र सहचालकलाई व्यावसायिक तालिम आवश्यक
चालक र सहचालकहरू कठिन परिस्थितिमा काम गर्छन्। तर व्यावसायिकता सुधार आवश्यक छ। यात्रुहरूले बारम्बार खतरनाक ओभरटेक, दुर्व्यवहार, धूम्रपान, सरसफाइ अभाव, र यात्रु तान्न गरिएको प्रतिस्पर्धाबारे गुनासो गर्छन्। नेपालले अनिवार्य तालिम र वृद्धि विकास, स्वास्थ्य परीक्षण र स्वास्थ्य बिमा, सडक सुरक्षा र यात्रुमैत्री शिक्षा, प्राविधिक ज्ञान, सीप र तालिम, र आधुनिक र चरित्र प्रमाणपत्र नवीकरण प्रणाली लागू गर्नुपर्छ।
डिजिटल भुक्तानीले नेपाल परिवर्तन गर्दैछ
नेपालमा इसेवा, खल्ती, आइएमई पे, फोन पे लगायत प्रणालीले डिजिटल भुक्तानीलाई तीव्र रूपमा विस्तार गरेका छन्। भने विश्वस्तरका सेवा प्रदायक कम्पनीहरू समेत नेपाल आउन इच्छुक छन्। केही सार्वजनिक बसहरूले क्यूआर भुक्तानी स्वीकार गर्न थालेका छन्। यो सकारात्मक सुरुवात हो। तर सेवाको बैकिङ चार्ज अत्यन्तै खर्चिलो तथा अव्यवहारिक छ। यसो सुधार गर्न जरुरी छ, अन्यथा डिजिटल उबथmभलत भनेको दलाललाई पोस्नु नहोस् कतै। डिजिटल प्रणालीले भाडा विवाद कम, नगद व्यवस्थापन सहज, पारदर्शिता बढाउने, चरित्रवान, कम खर्चिलो र भरपर्दो, र यात्रु अनुभव आधुनिक बनाउनेछ।
विद्युतीय सार्वजनिक यातायात ठूलो अवसर
काठमाडौंको वायु प्रदूषण अहिले गम्भीर सार्वजनिक स्वास्थ्य समस्या बनिसकेको छ। यसमा यातायातको ठूलो योगदान छ।
नेपालसँग जलविद्युत क्षमता भएकाले विद्युतीय सार्वजनिक यातायात नेपालको भविष्य बन्न सक्छ।सरकारले विद्युतीय बस, चार्जिङ स्टेशन, ईभी प्रोत्साहन, र हरित यातायात नीतिमा लगानी गर्नुपर्छ।यसले इन्धन आयात घटाउने, प्रदूषण कम गर्ने, र दीर्घकालीन आर्थिक फाइदा दिनेछ।
मुख्य सोच्नुपर्ने विषय के हो भने ईभी निर्माता तथा वितरकहरूले यसको दिगोपना, सुरक्षा, ब्याट्री व्यवस्थापन तथा आर्थिक पक्षबारे सरकारी निकाय, मिडिया, उपभोक्ता र विज्ञहरूलाई आश्वस्त तुल्याउनैपर्छ। अन्यथा तावा बाट भुङ्ग्रोमा भनेजस्तो दिन आउन सक्छ।
निजी सवारीको प्रयोग घटाउनुपर्छ
यदि काठमाडौंको सडक यसरी निजी सवारीले भरिँदै गए भविष्यमा शहर स्थायी जाममा फस्नेछ। समाधान केवल सडक फराकिलो बनाउनु होइन। पैदल यात्रा र साइक्लिङको पूर्वाधार, सडकको संरचनामा सुधार, मास ट्रान्सपोर्टेसन, लाइफ स्टायलमा परिवर्तन, विद्यालय र कलेज छनोटमा ध्यान तथा बसाइँसराइमा समेत पुनर्विचार गर्नु जरुरी देखिन्छ। त्यसैगरी अर्को समाधान भनेको सार्वजनिक यातायातलाई भरपर्दो, सफा, समयमै, सस्तो, र सहज बनाउनु हो। सोको लागि सरकारी लगानी तथा अनुकूल कानुन र व्यवस्थित संरचना जरुरी छ। मानिसलाई जब राम्रो विकल्प मिल्छ, उनीहरू आफै सार्वजनिक यातायात रोज्न थाल्छन्।

पार्क एण्ड राइड आवश्यक
काठमाडौं प्रवेश गर्ने मुख्य क्षेत्रहरू कलंकी, कोटेश्वर, सातदोबाटो, र भक्तपुर प्रवेश क्षेत्रमा पार्क एण्ड राइड प्रणाली बनाउन सकिन्छ। यसमा मानिसले बाहिर पार्किङ गर्ने, अनि बस वा ईभी सटल प्रयोग गरेर शहरभित्र जाने।यसले ट्राफिक घटाउने, पैसा बचाउने, नागरिकलाई स्वस्थ बनाउने, पार्किङ दबाब कम गर्ने, ट्राफिक जाम र दुर्घटना घटाउने, र सार्वजनिक यातायात प्रयोग बढाउनेछ।
नेपालले अब नीति स्तरमै सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्छ। यसमा सरकारी लगानी, सार्वजनिक यातायात प्राधिकरण, ईभी सार्वजनिक बसमा कर छुट, सार्वजनिक सवारी सुधारका लागि सहुलियत ऋण, अव्यवस्थित पार्किङ नियन्त्रण, र भीडभाड क्षेत्रमा क्रमशः पार्किङ शुल्क वृद्धि समावेश हुनुपर्छ। तर जनतालाई विकल्प नदिई दण्ड दिनु हुँदैन। पहिले सार्वजनिक यातायात सुधार हुनुपर्छ।
निष्कर्ष
नेपालको सार्वजनिक यातायात प्रणाली पूर्ण रूपमा बिग्रिसकेको छैन। तर सुधार नगरे स्थिति झन् गम्भीर हुनेछ। नेपालले अब सुरक्षा, सरसफाइ, प्रविधि, अनुशासन, दिगोपन, र यात्रुको सम्मान केन्द्रमा राखेर दीर्घकालीन यातायात दृष्टिकोण बनाउनुपर्छ।
सार्वजनिक यातायातले हरेक दिन लाखौं नेपालीको जीवन छोइरहेको हुन्छ।कलेज जाने विद्यार्थी। अफिस जाने कर्मचारी। घुम्नफिर गर्न जाने पर्यटक। अस्पताल जाने बिरामी। घर फर्किरहेको परिवार। सेवा प्रदायक व्यक्ति। भविष्यका नीतिनिर्माता हरू समेत।
भनिन्छ सुरक्षित र व्यवस्थित यातायातको गतिले समग्र देशको दैनिक जीवनको तथा विकासको गति निर्धारण गर्छ। यदि नेपालले सार्वजनिक यातायात सही ढंगले सुधार गर्न सक्यो भने, त्यसको फाइदा केवल बसमा सीमित रहने छैन। यसले सार्वजनिक सुरक्षा, पर्यटन, अर्थतन्त्र, वातावरण, शहरी अनुशासन, दिगो विकास, र स्वस्थ नागरिक जीवनको गुणस्तर सबैमा सकारात्मक प्रभाव पार्नेछ।
नेपाललाई संसारकै सबैभन्दा महँगो, अव्यवस्थित र कमजोर यातायात प्रणाली चाहिएको होइन। सबैका लागि सुरक्षित, दिगो, किफायती, पहुँचयोग्य र स्मार्ट मोबिलिटी चाहिएको हो, जुन हाम्रो अधिकार, राज्यको जिम्मेवारी तथा नागरिकको जीवन पद्धति पनि हो।
लेखक भण्डारी नेपाल अटोमोबाइल एशोसिएसन (नासा)का खेलकुद अधिकृत हुन् ।


