हेल्मेट कानुन तथा मापदण्ड सम्बन्धी नीतिगत संवाद सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) र एआईपी फाउण्डेसनको सहयोगमा ‘हेड्स अप’ अभियान अन्तर्गत हेल्मेट कानून तथा मापदण्ड सम्बन्धी पोलिसि डाइलग सम्पन्न गरेको छ ।

कार्यक्रममा विभिन्न सरकारी निकाय, स्वास्थ्य क्षेत्र, सडक सुरक्षा विज्ञ, प्राविधिक क्षेत्र, युवा, बालबालिका तथा सरोकारवाला संस्थाका गरी करिब ६० जनाको सहभागिता रहेको थियो ।

नासा नेपालका परियोजना संयोजक सुवास भट्टराईले नासा नेपालको सडक सुरक्षा सम्बन्धी गतिविधि तथा हाल सञ्चालन भइरहेको “हेड्स अप” अभियानबारे जानकारी गराएका थिए ।

त्यस्तै, अर्थोपेडिक सर्जन डा. सतीशप्रसाद बर्नवालले सडक दुर्घटना र हेल्मेटको प्रयोग विषयमा प्रस्तुति दिँदै दुईपाङ्ग्रे सवारी दुर्घटनाबाट हुने गम्भीर चोटपटक तथा जोखिम न्यूनीकरणमा गुणस्तरीय हेल्मेटको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

त्यसैगरी, नेपाल प्रहरीको राजमार्ग एण्ड ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी भुवनेश्वर तिवारीले सडक सुरक्षा, विद्यमान कानुनी व्यवस्था तथा सडक सुरक्षामा सरोकारवालाको भूमिकाबारे प्रस्तुति दिए ।

सडक सुरक्षा विज्ञ भगवती सेडाइले नेपालमा विद्यमान हेल्मेट कानून, राष्ट्रिय हेल्मेट मापदण्ड कार्यान्वयनको आवश्यकता तथा चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्नुपर्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

काठमाडौं विश्वविद्यालयका प्रा.डा.ड्यानियल तुलाधर, राष्ट्रिय सडक सुरक्षा परिषद्का सरोज कुमार प्रधान लगायतले हेल्मेटको गुणस्तर, सडक सुरक्षा नीतिहरू तथा प्रभावकारी कार्यान्वयनका विषयमा आफ्ना धारणा राखेका थिए ।

नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले सरकारले सडक सुरक्षा तथा सुरक्षित र डबल हेल्मेटको विषयमा पर्याप्त प्राथमिकता नदिएको उल्लेख गर्दै प्रभावकारी नीति तथा कार्यान्वयन आवश्यक रहेको बताए ।

कार्यक्रमको समापनमा १५ जना बालबालिकाहरुलाई नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुरप्रसाद न्यौपाने, डा. शिवजी यादव, हिसान नेपालका महासचिव रामहरि सिलवाल, कार्यक्रमका वक्ताहरु लगायतले चाइल्ड हेल्मेट हस्तान्तरण गरेका थिए ।

नासा नेपालले यस अभियान अन्तर्गत राष्ट्रिय हेल्मेट मापदण्डको कार्यान्वयन, डबल हेल्मेटको प्रयोग र चाइल्ड हेल्मेट प्रवद्र्धन सम्बन्धी जनचेतना तथा एड्भोकेसी अभियान सञ्चालन गरिरहेको छ ।


Back_to_top