काठमाडौं । काठमाडौं उपत्यकामा रहेका सडक साना र साँघुरा हुन् ?, कसरी ट्राफिक जामबाट बच्ने ? ट्राफिक जाम बाटो सानो भएर कि गाडी धेरै भएर ? यी र यस्ता सयौं प्रश्न काठमाडौं उपत्यका भित्रका सडक प्रयोगकर्ताको मनमा आउने गर्छ ।
हरेक चालकलाई आफूले ट्राफिक नियम पालना गरेर गाडी चलाएको अनुभूति हुन्छ । आफ्नो कारण अरूलाई परेको समस्यामा कुनै पनि चालकलाई आत्मग्लानी हुँदैन । बरू उसलाई प्रश्न गर्यो भने मुख छाड्छ र हिँड्छ ।
अहिले काठमाडौं उत्यकाको ट्राफिकलाई भयावह बनाउने मुख्य काम चालकहरूकै हो । सार्वजनिक यातायात चालकले नियम मिच्ने, राइड एण्ड सेयरिङ गर्नेले मच्चाउने आतंक र धेरै सनकमा हिँड्ने निजी कार चालक मुख्य दोषी हुन् । उनीहरूलाई ‘नियम मान्दा होइन, तोड्दा मज्जा आउँछ’ भने जस्तो देखिन्छ ।
करिब १२ वर्ष अगाडि उपत्यकाको सडक विस्तार गरियो । तर, त्यो विस्तारित सडक पनि गाडी चल्न होइन भने जस्तो अवस्था छ । जथाभावी पार्किङ र ढुवानीका साधन रोकेर राख्दा त्यसले सडक जाम बनाइरहेको छ । ट्राफिक प्रहरीको सक्रियता पनि बताउन लायक छैन ।
हामीलाई परिवर्तनको हुटहुटी बेजोडसँग लागेको छ । पुराना नेताहरूले देशलाई बस्न लायक नै छाडेनन् भन्ने हामीहरूको अनुशासन सडकमा देखिँदै आएको छ । युवाहरूको नेतृत्वमा देश अगाडि बढ्ने पक्का भइसकेको छ । सम्भवतः आजको ७ दिन भित्रै देशले ३५ वर्षे युवालाई प्रधानमन्त्री पाउने छ । यस्तोमा देश सुधारको पहिलो खुड्किलो सडक हुनुपर्छ ।

सडक अनुशासन कायम बिना देशले प्रगतिको पथ लिनै सक्दैन । त्यसैले नयाँ सरकार निर्माण भएपछि सडक नियम नमान्ने चालकहरू माथि निर्मम भएर कारबाही चलाउनु पर्नेछ । त्यसमा सरकारले खुट्टा कमायो भने देशभरका सहरी क्षेत्रको ट्राफिक भयावह बन्ने निश्चित प्रायः छ ।
लेन अनुशासनमा कडाइ
अहिले लेन अनुशासन कायम छैन भन्न खोजिएको होइन । सडकमा बसेका ट्राफिक प्रहरीको मुड बिग्रिएको समयमा पर्दा डिभाइडर ‘मार्क’मा गाडीको चक्का मात्रै परे पनि ‘चिट’ काट्ने काम हुन्छ । नत्र आफ्नै आँखा अगाडि गम्भीर किसिमको त्रुटी गर्दा पनि रोकेर सम्झाउनेसम्मको काम हुँदैन ।
लेन अनुशासन कायम गर्न मादक पदार्थ सेवन गरेर सवारी साधन चलाए सरहको कारबाही गर्न आवश्यक हुन्छ । त्यसको लागि ट्राफिक प्रहरीलाई परिणाममुखी बनाउनु पर्छ ।
जरिवानामा व्यापक वृद्धि
अहिले चालकले गल्तिगर्दा गरिने ५०० देखि १० हजारसम्मको जरिवाना निकै कम हो । अहिले सडकमा लेन अनुशासन कायम गराउने हो भने कम्तीमा ५ हजार रुपैयाँ माथि जरिवाना बनाउनु पर्छ ।
गम्भीर किसिमका ट्राफिक नियम उल्घंनमा ठूलो रकम जरिवाना गर्न सकेको खण्डमा चालकहरूले लापरबाही गर्ने छैनन् । त्यसले सडकमा हुने जाम घटाउन र दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेछ ।
स्पीड बढाउने र ट्राफिक लाइट बलियो बनाउने
देशभरका सडकमा सडक बत्ती जडान गर्नुपर्छ । सडकहरूको सुरक्षा रेटिङ गर्ने र सडकमा हुने मार्किङ दुरुस्त बनाउनु पर्छ । नेपालका हाइवेमा ट्राफिक साइनहरूको प्रयोग राम्रोसँग भएको खण्डमा चालकहरू अनुशासित नभइ सुखै छैन ।

अर्को महत्वपूर्ण विषय सवारीसाधनको स्पीड वृद्धि गर्नु आवश्यक छ । अहिले बनेका नयाँ हाइवेमा पनि ४० देखि ५० को स्पीड भनेर लेखिएको छ । हाइवे भन्ने बित्तिकै कम्तीमा ७०/८० किलोमिटर प्रतिघण्टाको स्पीड हुनुपर्छ । सहरी बाटोमामा पनि ४० को स्पीड राम्रो मान्न सकिन्छ ।
यदि, उपत्यकामा स्पीड वृद्धि गर्न सकिएन भने जाम थप बढ्नेछ । सरकारले नै यसमा पुनः काम गर्नुपर्ने देखिन्छ ।
विविध
अहिलेको ट्राफिक समस्या समाधन गर्न करिडोरको प्रयोगलाई व्यवहारिक बनाउन जरुरी छ । ठूला सडकलाई सीसी टीभीको सहायतामा निगरानी गर्ने र गल्ती गर्नेलाई घरमै कारबाहीको पत्र पठाउनेसम्मको काम गर्नुपर्छ ।
राइड एण्ड सेयरिङ कम्पनीहरूलाई व्यवस्थित गर्दै पूर्ण कानुनी दायरामा ल्याउन आवश्यक छ । यति गर्न सकेको खण्डमा ट्राफिक नियमको पालना, सडकमा जाम कम र सहज यात्राको वातावरण बन्नेछ ।

