ईभीको भविष्य उज्वल, निर्विकल्प होइन

काठमाडौं । नेपालको लागि विद्युतीय सवारीसाधन (ईभी) निर्विकल्प हुनुपर्छ भन्यो भने के तपाईं पत्याउनुहुन्छ ? कम्तीमा आगामी केही वर्षका लागि मलाई यस्तो लाग्दैन ।

सवारी साधन सडकमा गुड्नु मात्रै पर्याप्त हुँदैन । कहाँ र कस्तो सडकमा चलाउने, त्यसको आयु कति हुन्छ, मर्मतसम्भारमा कति खर्च लाग्छ, ऊर्जा आपूर्ति कति सहज छ र खरिद गर्दा तथा प्रयोग गर्दा कति कर तिर्नुपर्छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।

भौगोलिक कठिनाइ, पहिरो, नदी कटान र बाढीका कारण चीनसँग जोडिएका व्यापारिक मार्गमा जोखिम बढी छ ।

नेपालको भौगोलिक विविधता हेर्दा एउटै प्रकारको सवारीसाधन सबैका लागि उपयुक्त हुन्छ भन्न सकिँदैन । तराईका समथर सडक, पहाडका साँघुरा घुम्ती र हिमाली क्षेत्रका कठिन बाटोमा सवारीसाधनले फरक चुनौती सामना गर्नुपर्छ । हाम्रा धेरै सडक अझै धुलाम्मे, हिलाम्मे र जोखिमपूर्ण छन् । यस्तो अवस्थामा सवारीसाधन छनोट गर्दा प्रविधि र मूल्यसँगै त्यसको व्यावहारिक उपयोगिता पनि हेर्नुपर्छ ।

पछिल्लो समय चीनबाट नेपाल ल्याउने क्रममा क्षति पुगेका विद्युतीय गाडीका तस्बिरले यही बहसलाई थप सान्दर्भिक बनाएका छन् । अपर मुस्ताङ हुँदै ल्याइएका गाडीहरू सडक किनारमा बिग्रिएको अवस्थामा देखिएपछि नेपाली उपभोक्तादेखि विदेशी पर्यटकसम्मले चासो व्यक्त गरेका छन् । यसले नेपालको सडक पूर्वाधार र सवारीसाधन ढुवानी व्यवस्थामाथि प्रश्न उठाएको छ ।

तर, यी घटनालाई आधार बनाएर सबै ईभी कमजोर छन् भन्ने निष्कर्ष निकाल्नु पनि गलत हुन्छ । गाडीमा भएको क्षति, त्यसको कारण र ढुवानीको अवस्थाबारे प्राविधिक तथ्य आवश्यक हुन्छ । यद्यपि, यसले एउटा महत्त्वपूर्ण प्रश्न भने उठाएको छ । नेपालको कठिन भूगोल र कमजोर पूर्वाधारका लागि हामीले कस्तो सवारीसाधन र कस्तो आयात प्रणाली रोजिरहेका छौँ ?

समस्या सडकको मात्रै होइन, व्यवस्थापनको पनि हो

चीनबाट आउने गाडीको यात्रा उत्पादन केन्द्रबाट सुरू भएर सीमासम्म पुग्छ र त्यसपछि नेपाली भू-भागका कठिन सडक पार गर्दै गन्तव्यमा आइपुग्छ । यस क्रममा सडकको अवस्था, मौसम, ढुवानीको तरिका र व्यवस्थापनले गाडीको सुरक्षामा प्रभाव पार्न सक्छ । भौगोलिक कठिनाइ, पहिरो, नदी कटान र बाढीका कारण चीनसँग जोडिएका व्यापारिक मार्गमा जोखिम बढी छ ।

दुर्गम क्षेत्रमा चार्जिङ पूर्वाधारको उपलब्धता, चार्ज गर्न लाग्ने समय, मर्मतसम्भारको पहुँच र आपत्कालीन अवस्थामा सवारीसाधन संचालन गर्न सकिने क्षमताले ठूलो अर्थ राख्छ ।

सरकारले सवारीसाधन आयात गर्दा ढुवानी खर्चसमेत जोडेर कर गणना गर्ने व्यवस्था गरेका कारण वैकल्पिक मार्गबाट गाडी ल्याउँदा मूल्य बढ्नेछ । त्यसैले सडक पूर्वाधार कमजोर भएको अवस्थामा सरकारले ढुवानीको लागत घटाउने नीतिगत विकल्प बारे विचार गर्नुपर्छ । सम्भव हुने स्थानमा सुरक्षित ट्रक ढुवानी, व्यवस्थित ट्रान्जिट र जोखिम न्यूनीकरणका उपाय अपनाउनु आवश्यक देखिन्छ ।

व्यवसायीको जिम्मेवारी पनि कम छैन । उपभोक्तालाई गाडी बिक्री गर्नु मात्रै उनीहरूको दायित्व होइन । सुरक्षित ढुवानी, उपयुक्त सवारीसाधन छनोट र बिक्रीपछिको सेवा सुनिश्चित गर्नु पनि उत्तिकै महहत्वपूर्ण हुन्छ । समुद्री मार्गबाट आयात गर्ने विकल्पको लागत र फाइदा/घाटाको निष्पक्ष मूल्यांकन गर्न सकिन्छ ।

ईभी सबैका लागि निर्विकल्प होइनन्

सहरी आवागमन, दैनिक कार्यालय यात्रा र धेरैजसो नियमित हाइवे यात्राका लागि ईभी उत्कृष्ट विकल्प हुन् । कम संचालन खर्च, ऊर्जा दक्षता र स्थानीय वायु प्रदूषण नगर्ने भएकाले ईभीहरूलाई पेट्रोलियम पदार्थबाट चल्ने कारभन्दा उपयोगी बनाएका हुन् । तर, कठिन भूभागमा नियमित यात्रा गर्नुपर्ने वा दुर्गम क्षेत्रमा बसोबास गर्ने उपभोक्ताका लागि अवस्था फरक हुन्छ ।

दुर्गम क्षेत्रमा चार्जिङ पूर्वाधारको उपलब्धता, चार्ज गर्न लाग्ने समय, मर्मत सम्भारको पहुँच र आपत्कालीन अवस्थामा सवारीसाधन संचालन गर्न सकिने क्षमताले ठूलो अर्थ राख्छ । बाढीपहिरोले सडक अवरुद्ध हुँदा वा विद्युत् आपूर्ति प्रभावित हुँदा विकल्पको उपलब्धता पनि महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा पेट्रोलियम इन्धनबाट चल्ने सवारीसाधन वा अन्य उपयुक्त प्रविधि व्यावहारिक हुन सक्छन् ।

यसको अर्थ ईभीले कठिन सडक पार गर्न सक्दैनन् भन्ने होइन । गाडीको ग्राउण्ड क्लियरेन्स, ड्राइभट्रेन, ब्याट्री सुरक्षा, वाटर वेडिङ क्षमता र निर्माताले तोकेको संचालन सीमाले पनि ठूलो भूमिका खेल्छ । त्यसैले उपभोक्ताले आफ्नो वास्तविक आवश्यकता बुझेर सवारीसाधन छनोट गर्नुपर्छ ।

सरकारको लक्ष्य ईभीलाई निर्विकल्प बनाउनु होइन, उपभोक्तालाई आफ्नो आवश्यकता सुहाउँदो सवारीसाधन छनोट गर्न सक्ने वातावरण बनाउनु हो ।

सरकारले पनि ईभी प्रवद्र्धनलाई एउटै प्रविधि सबै माथि लागू गर्ने नीतिका रूपमा लिनु हुँदैन । वातावरणीय लाभ, ऊर्जा सुरक्षा र आयातित पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने लक्ष्य महत्वपूर्ण छन् । तर, ती लक्ष्य हासिल गर्ने क्रममा उपभोक्ताको भौगोलिक अवस्था र आर्थिक क्षमतालाई बेवास्ता गर्न मिल्दैन ।

नेपालमा ईभीको भविष्य उज्ज्वल छ । तर त्यसको विस्तार सडक, पुल, चार्जिङ नेटवर्क र बिक्रीपछिको सेवामा हुने सुधारसँगै अघि बढ्नुपर्छ । पेट्रोलियम गाडीलाई तत्काल विस्थापित गर्नेभन्दा उपयुक्त स्थानमा ईभीको प्रयोग बढाउने र आवश्यकता अनुसार अन्य प्रविधिका विकल्प खुला राख्ने नीति बढी व्यावहारिक हुन्छ ।

अन्ततः सवारीसाधनको भविष्य कुनै एक प्रविधिले मात्र निर्धारण गर्दैन । भूगोल, पूर्वाधार, लागत र उपभोक्ताको आवश्यकता सबैले त्यसमा भूमिका खेल्छन् । नेपालमा ईभीको प्रयोग बढ्नुपर्छ, तर ईभी नै सबै समस्याको समाधान हुन् भन्ने सोच सही होइन । सरकारको लक्ष्य ईभीलाई निर्विकल्प बनाउनु होइन, उपभोक्तालाई आफ्नो आवश्यकता सुहाउँदो सवारीसाधन छनोट गर्न सक्ने वातावरण बनाउनु हो ।


Back_to_top