काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरघचीले तेल ढुवानी गर्ने विश्वकै प्रमुख समुद्रीमार्ग ‘स्ट्रेट अफ होर्मुज’ आफ्ना दुश्मनहरूका लागि मात्र बन्द भएको बताएका छन् ।
उनले केबल न्यूज च्यानलसँगको अन्तर्वार्तामा स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभई अमेरिका र इजरायलका लागि मात्र बन्द भएको बताएका हुन् ।
उनले यो समुद्री मार्ग अमेरिका र इजरायलका लागि जहाजका लागि मात्र बन्द गरिएको बताए । यी दुई बाहेक अन्य देशका जहाज आवतजावत गर्न दिइएको उनले बताए ।
‘स्ट्रेट अफ होर्मुज खुला छ । तर जुन देशले इरानमाथि हमला गरिरहेका छन् वा इरानका दुश्मन हुन्, ती देशका जहाजलाई रोक लगाइने छ । बाँकी देशका जहाज सामान्य रुपमा आउजाउ गर्न सक्नेछन्,’ उनले भनेका छन् ।
यद्यपि, अन्य देशका जहाजहरू पनि आक्रमणमा परिने डरले संचालन हुन सकेका छैनन् । अन्तर्राष्ट्रि संचार माध्यमहरूका अनुसार सुरक्षाका कारण सयौं जहाज रोकिएका छन् । जसका कारण विश्वभर इन्धन आपूर्ति प्रभावित भएको छ ।
अन्यदेशका जहाज संचालन गर्ने/नगर्ने उनीहरूकै निर्णय भएको अरघचीले बताएका छन् । यसको प्रत्यक्ष सम्बन्ध इरानसँग नभएको उनको भनाइ छ । उनले अझै पनि केही तेल ट्यांकर र जहाजहरू होर्मुज जलमार्ग हुँदै आवतजावत गरिरहेको बताए ।
यसैबीच, भारतको विदेश मन्त्रालयका प्रवक्ताले पनि तेल ग्यास बोकेका दुईवटा जहाज भारततर्फ आइरहेको जानकारी दिएका छन् ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरान माथि हमाल गरेपछि उसले स्ट्रेट अफ होर्मुज बन्द गरेको घोषणा गरेको थियो । साथै, कुनै जहाज जबरजस्ती आवतजावत गरे आक्रमण गर्ने धम्की समेत दिएको थियो ।
स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो । इरान र ओमानको बीच रहेको यो मार्ग करिब ३३ किलोमिटर चौडा छ । तर, करिब ११ किलोमिटर क्षेत्रमा मात्रै जहाज चलाउन मिल्छ ।
विश्वमा दैनिक आपूर्ति हुने करिब २० प्रतिशत अर्थात् २ करोड ब्यारेल तेल यही मार्ग हुँदै ढुवानी हुन्छ ।

