काठमाडौं । साना विद्युतीय कारमा कर्णाली प्रदेशले कम कर लगाएको छ । कर्णाली प्रदेश सरकारले विद्युतीय सवारीमा ४ खण्डमा नै कर लगाएको भएपनि सुदुरपश्चिको भन्दा फरक समूह बनाएको हो ।
कर्णाली सरकारले ५० किलोवाटसम्मको एउटा समूह बनाइएको छ । सुदुरपश्चिम सरकारले ४९ किलोवाटसम्मको एउटा समूह बनाएर कर लगाएको छ । यो समूहमा कर्णाली प्रदेश सरकारले वार्षिक ५ हजार रुपैयाँ कर लगाएको हो । तर, सुदुरपश्चिम सरकारले भने १० हजार रुपैयाँ वार्षिक कर लगाएको छ ।
कर्णाली प्रदेश सरकारले ५० किलोवाट माथि १५० किलोवाटसम्मका साधनलाई एउटै समूहमा राखेर वार्षिक १५ हजार रुपैयाँ कर लाग्ने बनाएको छ । उता सुदुरश्चिम सरकारले भने ५० किलोवाटदेखि १२५ किलोवाटसम्मका साधनमा वार्षिक १५ हजार कर लगाएको छ ।
त्यसैगरी सुदुरपश्चिम सरकारले १२५ माथि २२५ किलोवाटसम्मका मोटर क्षमताका कारमा २० हजार र २२५ किलोवाट माथिका विद्युतीय कारमा ३० हजार वार्षिक सवारी कर लगाएको छ ।

कर्णाली प्रदेश सरकारले भने १५० माथि २०० किलोवाटसम्म साधनमा वार्षिक २० हजार र २०० किलोवाट माथिका सबै विद्युतीय कारमा ३० हजार वार्षिक कर लाग्ने बनाएको छ ।
मूल्यका हिसावले सस्ता र कम बजेटका ५० किलोवाटसम्मका कारमा सुदुरपश्चिम सरकारभन्दा कर्णाली प्रदेश सरकार निकै उदार देखिन्छ । उसले यो समूहमा सुदुरपश्चिमको तुलनामा आधा कम कर लगाएको हो ।


