काठमाडौं । टाटा मोटर्सको सफल इलेक्ट्रीक एसयूभी नेक्सन किन्न चाहने ग्राहकलाई विभिन्न आधा दर्जन बैंकले कर्जा दिदै आएका छन् । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभी किन्ने ग्राहकको सहजताको लागि विभिन्न ५ बैंकसँग सम्झौंता गरेको हो ।
सिप्रदी १०.५ प्रतिशत व्याजदरमा ईभी किन्नेलाई सहजै कर्जा उपलब्ध हुने जनाएको छ । कम्पनीले त्यसको विभिन्न शोसल मिडियाको माध्यमबाट प्रचारप्रसार पनि गरिरहेको छ ।
‘हामीले कमर्शियल बैंकहरुसँग सम्झाैंता गरेअनुसार नै कर्जा स्कीम ल्याएका हौं । अहिले ब्याजदर घट्दो क्रममा रहेको कारण गाडी किन्ने मानिसले वार्षिक १०.५ प्रतिशत ब्याजदरमा कर्जा पाउने अवस्था आएको हो’। सिप्रदी स्रोतले भन्यो ।
कम्पनीले नेपालमा यसअघि टाटाका गाडीमा कर्जा उपलब्ध गराउने सम्बन्धी पत्रमा हस्ताक्षर भएका एनएमबि, प्रभु, नबिल, एभरेष्ट र ग्लोबल बैंकले कर्जा सुविधा दिने छन् ।
अहिले ब्याजदर घट्ने क्रममा रहेको र बैंकहरुले विद्युतीय सवारीसाधनमा कर्जा लगाउन छुट्टै ग्रिन फण्डको ब्यवस्था गरेको कारण १०.५ प्रतिशतमा कर्जा उपलब्ध गराएका हुन् ।
नयाँ ब्याजदर अनुसार मासिक किस्तामा ठूलो फरक हुने देखिन्छ । यसअघि १३ प्रतिशत ब्याजदर तिर्दै आएकोमा नयाँ १०.५ प्रतिशत ब्याजदरमा किस्ता वापतको रकम कम लाग्छ । करिब ४० लाख मूल्यको गाडीको किस्ता मासिक ४ हजार जति कम पर्छ ।
सिप्रदीले अहिले नेपाली बजारमा नेक्सन प्राइमको ३ भेरियन्ट र डार्क एडिसनको २ भेरियन्ट बिक्री गर्दै आएको छ । साथै, नेक्सन ईभी म्याक्स मोडल पनि उपलब्ध छ ।
नेक्सन प्राइम एक्सएम भेरियन्टको मूल्य ४१ लाख ४९ हजार रुपैयाँ रहेको छ । त्यस्तै, एक्सजेड प्लस भेरियन्टको मूल्य ४३ लाख ४९ र एक्सजेड लग्जरी भेरियन्टको मूल्य ४५ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
नेक्सन ईभी डार्क एडिसन दुई भेरियन्टमा उपलब्ध छ । डार्क एडिसनमा एक्सजेड प्लस भेरियन्टको मूल्य ४४ लाख ४९ हजार रुपैयाँ र एक्सजेड लग्जरी प्लस भेरियन्टको ४६ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
सिप्रदी ट्रेडिङले नेक्सन म्याक्स लङ रेन्ज मोडलको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ । नेपाल आएको दुई वर्षमा ३ हजार यूनिट माथि बिक्री भएको नेक्सन ईभी अहिले पनि राम्रो बिक्री भइरहेको मोडल हो ।
नेक्सन ईभी प्राइम मोडलमा ३० किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । नेक्सन म्याक्समा भने ४० किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको मोटर उपलब्ध छ ।

