काठमाडौं । बेलायती ब्राण्ड ट्राइम्फले भारतमा उत्पादन गरेको ‘स्पीड ४००’ नेपाल आउने भएको छ । भारतमा बजार र ट्राइम्फ मिलेर बनाएको स्पीड ४०० नेपाल आउने भएको हो ।
अघिल्लो हप्ता मात्रै भारतमा बिक्री सुरु भएको ट्राइम्फको उत्पादनमा नेपालमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ल्याउने छ । बजाजको समेत आधिकारीक बिक्रेता रहेको कम्पनीले बजाज कै शोरुममा राखेर ट्राइम्फ बिक्री वितरण गर्नेछ ।
ट्राइम्फ मोटरसाइकल भारतमा बजाजले चकन प्लान्टमा उत्पादन गरेको हो । स्पीड ४०० ट्राइम्फ ब्राण्डकै सबैभन्दा सस्तो मोटरसाइकल हो ।
भारतीय बजारमा २ लाख २३ हजार सुरुवाती मूल्य रहेको ट्राइम्फ नेपाल कति मूल्यमा आउला भन्ने धेरैको चासो रहेको पाइन्छ । कम्पनीको निर्यात मूल्यले नेपालमा कति पर्ला भन्ने एकिन गर्न सकिन्छ । तथापि, बजाज डोमिनारकै सेग्मेन्टमा आउने र डोमिनारभन्दा भारतमा सुरुवातमा कम मूल्य राखेको कारण ६ लाख नेपाली रुपैयाँ हाराहारीमा स्पीड ४०० नेपालमा बिक्री हुन सक्ने हाम्रो अनुमान छ ।

यी कुराले मूल्य फरक
खासगरी नेपालमा आउने मोटरसाइकल दुई तरीकाबाट आउँछन् । जसमा (सीबीयू) कम्प्लीट ब्युल्ड यूनिट र कम्प्लीट्ली नक्ड डाउन (सीकेडी) क्याटगोरीका हुन्छन् ।
सीबीयू भन्नाले तयारी अवस्थाका मोटरसाइकल तथा स्कुटर हुन् भने सीकेडी भन्नाले नेपालमा ल्याएर एसेम्वल हुने मोटरसाइकल तथा स्कुटर हुन् ।
सीबीयूमा लाग्ने र सीकेडीमा लाग्ने कर फरक-फरक हुन्छ । यदी कुनै पनि कम्पनीले सीकेडी ल्याउँछ भने त्यसमा लाग्ने करमा सरकारले छुट दिएको छ ।
ट्राइम्फ ४०० स्पीडमा ३९८ सीसी इन्जिन प्रयोग भएको छ । यो सेग्मेन्टमा सीबीयू मोटरसाइकल ल्याउँदा यसको भन्सार दर ७० प्रतिशत र अन्तशुल्क ६० प्रतिशत लाग्छ ।
त्यस्तै यो मोटरसाइकल बजाजको नेपालमा एसेम्वल भएजस्तै सीकेडी यूनिट आउँदा ३० प्रतिशत भन्सार तथा ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था रहेको छ । यो सेग्मेन्टमा सडक निर्माण दस्तुर २० हजार रुपैयाँ रहेको छ ।
ट्राइम्फ स्पीड ४०० सीकेडी यूनिट आउँछ वा सीबीयू यूनिट आउँछ भन्ने एकिन जानकारी कम्पनीले दिएको छैन । भारतमा बजाजले नै उत्पादन गरेको ट्राइम्फ मोटरसाइकलको सीकेडी यूनिट नै नेपाल आउने सम्भावना धेरै छ ।

