काठमाडौं । चोभार सुख्खा बन्दरगाहबाट गाडीको भन्सार जाँच पास सुरु भएको छ । उक्त बन्दरगाहको प्रयोग सबैभन्दा पहिला साँग्रिला मोटर्सले गरेको हो ।
फ्रेन्च ब्राण्ड सिट्रोनको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले आफ्नो उत्पादनहरु सिधै चोभार बन्दरगाहमा ल्याएको हो । तुलनात्मक रुपमा सस्तो पार्किङ चार्ज, ठूलो पार्किङ एरिया भएको कारण पनि ब्यवसायीहरु चोभार बन्दरगाहमा गाडी ल्याउन इच्छुक देखिएका हुन् ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आषिश गजुरेलका अनुसार सिट्रोनका १० वटा पेट्रोल कार सुख्खा बन्दरगाहबाट छुटेका छन् । कम्पनीले चाँडै विद्युतीय कार सीथ्री पनि यहिबाट भन्सार छुटाउने भनेको गजुरेलले जानकारी दिए ।
बन्दरगाह व्यवस्थापन गरिरहेको विकास समितिले दैनिक २०० रुपैयाँ मात्रै पार्किङ चार्ज लगाउँदै आएको छ । जबकी बिरगंज भन्सार कार्यालयमा दैनिक पार्किङ शुल्क मात्रै प्रतिदिन ८३५ रुपैयाँसम्म तिर्नु पर्ने हुन्छ ।
गाडी लामो समय याडमा थन्कदा पनि काठमाडौंमा पार्किङ शुल्क एउटै प्रतिदिन २०० रुपैयाँ तिर्नु पर्ने कार्यकारी निर्देशक गजुरेलले बताए ।
दशैं अगाडि धेरै ब्राण्डले ल्याउन सक्ने
अहिले गाडीको बिक्रीमा कमी आइरहेको भएपनि दशैंको लागि भनेर आउने गाडी चोभारबाट भन्सार जाँच पास गराउने विषयमा ब्यवसायीहरु छलफल गरिरहेका छन् । बिरगंजको तुलनामा कम पार्किङ शुल्क र काठमाडौं मै भन्सार छुटाउन पाउने भएपछि थप सहज हुने भएको कारण अन्य ब्राण्डले पनि चोभार सुख्खा बन्दरगाह प्रयोग गर्ने विषयमा छलफल गरिरहेका छन् ।
‘पार्किङमा बचत, शोरुमबाट नजिक पनि हुने र एकै पटक ५०० भन्दा धेरै गाडी ल्याएर राख्न पनि सकिने भएकाले ब्यवसायीको चाहना पनि चोभार ड्राइ पोर्ट बन्दै जानेछ’, एक आयातकर्ताले भने ।

