टेस्ला मोडल थ्रीको फेसलिफ्ट चाँडै आउने

काठमाडौं । टेस्ला साइवर ट्रकको पहिलो उत्पादनको बारेमा चर्चा बढेसँगै कम्पनीको सर्वाधिक सफल मोडल थ्रीको फेसलिफ्ट ओझेलमा परेको छ । टेस्लाले ‘प्रोजेक्ट हाइल्याण्ड’ नाम दिएर सडक परिक्षण गरिरहेको मोडल थ्रीको तस्बिर र भिडियोहरु बाहिरी आएका छन् ।

हालै मात्र एक सवारी चालकले टेस्लाको मोडल थ्री परिक्षणको क्रममा भिडियो खिचेका थिए । १७ सेकेन्ड लामो भिडियोमा फेसलिफ्ट मोडल थ्रीको अगाडि र पछाडिको भाग छोपेर परिक्षण भएको देखिन्छ ।

भिडियोमा देखिए अनुसार मोडल थ्रीको पछाडिको भाग धेरै मात्रामा छोपिएको छ । यसको अर्थ प्रोजेक्ट हाइल्याण्डको पछाडिको भागमा महत्वपूर्ण परिवर्तन भएको छ भन्ने हो । यसअघि प्राप्त रिपोर्टहरुका अनुसार फेसलिफ्ट मोडल थ्रीमा अगाडिको फेस रि–डिजाइन भएको हुनेछ ।

टेस्लाले पछाडिको भागमै धेरै परिवर्तन गरेको अनुमान लगाउँदा पछाडिको लाइट, डिफ्यूजर, भर्टिकल टर्न इन्डिकेटर रि–डिजाइन बम्पर जस्ता फिचर रहेका छन् ।

नयाँ मोडल थ्रीमा अटोपाइलट ४ को लागि अपडेटेड गरिएको क्यामरा रहने छ । यसको इन्टेरियरमा पनि निकै ठूलो परिमार्जन रहने रिपोर्टहरुले दावी गरेका छन् । कम्पनीले यसको सिट, नयाँ एम्बीयन्ट लाइट, अहिलेको तुलनामा अब्बल साउन्ड सिस्टम दिने अनुमान गरिएको छ ।

अहिले पनि ग्राहकले निकै रुचाएको टेस्ला मोडल थ्री नेपालमा पनि बिक्री बितरण हुँदै आएको छ । नेपालमा अरेटी इन्टरनेशनलले आयात गर्दै आएको टेस्ला मोडल थ्रीको राम्रै संख्यामा उपत्यकामा गुडिरहेका छन् । फेसलिफ्ट मोडल थ्री आगामी अक्टोबर महिनाबाट बजारमा आउने बताइएको छ ।


Back_to_top