काठमाडौं । संसारकै ठूलो कार बजार चीन हो । वार्षिक २ करोड १५ लाखभन्दा धेरै कार बिक्री हुने चीनमा विद्युतीय कार उत्पादन र खपत दुबै विश्वलाई चकित बनाउने किसिमको छ ।
चीनमा अहिले करिब ३ दर्जन स्टार्टअप ब्राण्ड कार उत्पादनमा केन्द्रित छन् । त्यसैले केही ब्राण्डले आफ्नो घाटा बढ्दै जाँदा बैंकरप्सी फाइल गरेका छन् भने केही तिब्र बजार बिस्तारमा लागेका छन् ।
अहिले चीनमा उत्पादन भएका बीवाइडी, एमजी, नेटा जस्ता ब्राण्डका कार नेपालमा बिक्री वितरण भइरहेको भएपनि एमजीलाई चिनियाँहरुले नै चीनको ब्राण्ड मान्दैनन् । एमजी बेलायती ब्राण्ड हो । त्यसले चिनियाँ प्रतिस्पर्धामा एमजीको नाम आउँदैन ।
अहिले चीनमा ठूलो उत्पादन क्षमता र बजार हिस्सा रहेको अर्को टेस्ला ब्राण्ड हो । टेस्ला अमेरिकी ब्राण्ड हो । यस बाहेकका चिनियाँ ब्राण्ड ईभी उत्पादनमा राम्रो प्रतिस्पर्धा गरिरहेका छन् । चीनका ठूला एक दर्जन ब्राण्ड निम्नाअनुसार छन् ।
१२. लिप मोटर्स

चिनियाँ स्टार्टअप कम्पनी हो । लिप मोटर्सले अहिले मासिक १० हजार हाराहारी विद्युतीय कार उत्पादन र बिक्री गर्दै आएको छ । हङकङ स्टक एक्स्चेन्जमा सूचिकृत यो कम्पनीको कुल मार्केट क्यापिटलाइजेशन ४.६ विलियन डलर बराबर छ ।
कम्पनीले अहिले बिक्री गर्दै आएको सर्वाधिक सफल मोडल टी–०३ ह्याचव्याक हो । यसको बिक्री सन् २०२२ मा ६१ हजार ९१९ यूनिट भएको थियो । लिप मोटर्सले अहिले दुई नयाँ मोडल पनि बिक्री सुरु गरेको छ । कम्पनीसँग अहिले सी–११ एसयूभी र सी–०१ सेडान कार दुई नयाँ मोडल छन् । राइट ह्याण्ड ड्राइभमा यसले कार उत्पादन सुरु गरेको छैन ।
११. एक्सपङ
चीनको ग्वान्जाओमा रहेको एक्सपङ मोटर्सले उत्कृष्ट र प्रिमियम कार उत्पादन गर्दै आएको छ । यो पनि चिनियाँ स्टार्टअप कम्पनी नै हो । यसको मार्केट क्यापिटलाइजेशन ८.६४ बिलियन अमेरिकी डलर रहेको छ ।

एक्सपङले जी–३ एसयूभी र पी–७ सेडान कार बिक्री गर्दै आएको छ । ‘एक्स पाइलट अटोनोमस ड्राइभिङ सिस्टम’ उपलब्ध पी–७ मोडल चीन बाहिर ६० हजार यूनिट निर्यात समेत भइसकेको छ । यसको पनि राइट ह्याण्ड ड्राइभ मोडल बजारमा आएको छैन ।
१०. नियाे
चीनमा पब्लिक कम्पनीको रुपमा सूचीकृत नियाेको मार्केट क्यापिटलाइजेन १३.४२ बिलियन अमेरिकी डलर बराबर रहेको छ । यो पनि चीनको एक स्टार्टअप कम्पनी नै हो ।

चीन, अमेरिका, सिंगापुर र हङकङ स्टक एक्स्चेन्जमा सूचिकृत एनआईओसँग इटी–७, इटी–५, इएस–६, इएस–७, इसी–६ र इसी–७ जस्ता मोडल छन् । कम्पनीले केही दिन अघि मात्रै सेमी सोलिड स्टेट ब्याट्रीमा इएस–८ मोडल सार्वजनिक गरेको छ । जसको रेन्ज १ हजार किलोमिटर हाराहारी रहेको कम्पनीले दावी गरेको छ । यसको पनि अहिलेसम्म राइट ह्याण्ड ड्राइभ मोडल छैन ।
९. ग्रेटवाल मोटर्स
चीनको पुरानो मध्येको एक गाडी निर्माता कम्पनी ग्रोटवालको कुल मार्केट क्यापिटलाइजेशन २७.५० बिलियन डलर रहेको छ । कम्पनीले ग्रेटवाल बाहेक ओरा, हाभल र वी ब्राण्डमा गाडी उत्पादन गर्दै आएको छ ।

ग्रेटवालको हाभल र ओरा ब्राण्डका उत्पादन नेपालमा भिजी इम्पेक्सले आयात र बिक्री वितरण गर्दै आएको छ । हाइड्रोजनबाट चल्ने ट्रक, मिनी ट्रक, पीकअप, प्यासेन्जर कार गरेर वार्षिक १० लाखभन्दा बढी यूनिट गाडी ग्रेटवालले बिक्री गर्दै आएको छ ।
८. ली अटो
चिनियाँ बजारमा २८.३५ विलियन डलर मार्केट क्याप भएको ली अटो प्रिमियम कार उत्पादक हो । बेजिङमा २०१५ मा स्थापना भएको ली अटोले पहिलो पटक ‘ली वान’ नामक एसयूभी २०१९ मा बजारमा ल्याएको थियो ।

सेल्फ ड्राइभ क्षमता रहेको ली वानलाई कम्पनीले २०२२ को अक्टोबरमा बन्द गरेको थियो । जनवरीदेखि अक्टोबरसम्ममा यो मोडल ७९ हजार यूनिट बिक्री भएको थियो ।
एउटा मोडल बन्द गरेको कम्पनीले त्यसपछि एल–९ र एल–८ एसयूभी बजारमा ल्यायो । सन् २०२३ मा कम्पनीले एल–७ सार्वजनिक गरेको छ । यो ५ सिट क्षमताको एसयूभी हो । अहिले कम्पनीले मासिक २० हजार यूनिट ईभी बिक्री गर्दै आएको छ ।
७. होजोन
सन् २०१४ मा स्थापना भएको स्टार्टअप कम्पनी होजोनले नेटा सिरिजमा कारहरु उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको नेटा भी चीन बाहिर थाइल्याण्ड र नेपालमा पनि बिक्री हुँदै आएको छ ।

कम मूल्यको विद्युतीय कार नेटा भीको सफलतापछि कम्पनीले नेटा एस, नेटा यू र नेटा जीटी जस्ता मोडलको उत्पादन गर्दै आएको छ । यो चिनियाँ स्टार्टअप कम्पनी टप ५ भित्र पर्दै आएको ब्राण्ड हो । होजोन अहिलेसम्म पब्लिक कम्पनीको रुपमा कतैपनि सूचिकृत भएको छैन ।
६. चांगन
चीन सरकारको लगानी रहेको ठूला ४ अटो कम्पनीमा पर्ने ब्राण्ड हो । अहिले चांगनको मार्केट क्याप १५.१२ बिलियन डलर रहेको छ । यसले सुरुमा कमर्शियल, प्यासेन्जर कार बनाउँदै आएको थियो । अहिले मात्रै यसले ईभीको उत्पादन थालेको हो ।

चांगनले उत्पादन गरेको इलेक्ट्रीक कमर्शियल र पेट्रोलियम पदार्थबाट चल्ने गाडी नेपालमा उपलब्ध छन् । तर, प्यासेन्जर सेग्मेन्टको ईभी भने आएको छैन । चांगनको इलेक्ट्रीक सेडान र एसयूभी चीनमा उपलब्ध छन् । सम्भवत चाँडै चांगनका कार पनि नेपालमा उपलब्ध हुनेछन् ।
५. चेरी
सन् १९९७ मा स्थापना भएको चेरी मोटर्स नेपालको लागि नौलो ब्राण्ड होइन । सुरुमा बतास समूहले नेपाल ल्याएको चेरी अहिले सारडा ग्रुपले बिक्री गर्दै आएको छ ।

चेरीले आफ्नो सब ब्राण्ड मार्फत चीनमा थुप्रै मोडल बिक्री गर्दै आएको भएपनि नेपालमा भने अमोडा–५ इलेक्ट्रीक कार ल्याउँदै छ । अबको केही महिना भित्रै चेरीका इलेक्ट्रीक एसयूभी नेपालमा उपलब्ध हुनेछ ।
४. जीएसी एवोन
जीएसी एवोन ग्वान्जाओ अटोमोवाइल कर्पोरेशनको सब ब्राण्ड हो । अहिले चीनमा सर्वाधिक बिक्री हुने मामलामा चौथो स्थानमा रहेको एवोनको मार्केट क्याप १३.८ बिलियन डलर रहेको छ ।

सन् २०२३ को ६ महिनामा मात्रै २ लाख यूनिट हाराहारी एवोन बिक्री भइसकेको छ । अहिलेसम्म जीएसको आधिकारीक बिक्रेता नेपालमा छैन । कम्पनीले आफ्ना ईभीमा म्याग्जीन २.० टेक्नोलोजीमा आधारित ब्याट्री प्रयोग गर्दै आएको छ ।
३. जिली
सन् १९९६ मा स्थापना भएको कम्पनी हो । जिली कम्पनीको अहिले मार्केट क्यापिटलाइजेशन १२.६० बिलियन डलर रहेको छ । गाडी उत्पादनमा पुरानो अनुभब भएको जिलीले जिकर ब्राण्ड नेममा ईभी उत्पादन गर्दै आएको छ ।

जिलीका ईभी अन्तर्राष्ट्रिय बजारमा कम मूल्यको कारण चर्चामा छन् । तर, नेपालमा पहिला उपलब्ध जिलीको अहिले भने आधिकारीक बिक्रेता छैन ।
२. एसएआईसी–जीएम–विलिङ

चिनियाँ कम्पनी र अमेरिकी कम्पनी मिलेर स्थापना भएको यो ब्राण्डले सानो ईभी उत्पादन गरिरहेको छ । सन् २०२२ मा ४ लाखभन्दा धेरै गाडी उत्पादन र बिक्री गरेर यसले चर्चा कमाएको थियो । अहिले नेपालमा विलिङ एयर मिनी बिक्री हुँदै आएको छ ।
१. बीवाइडी
न्यू इनर्जी भेहिकल बिक्रीको रेकर्ड बनाएको बीवाइडी चीनको सबैभन्दा धेरै मार्केट क्याप भएको ब्राण्ड हो । अहिले बीवाइडीको मार्केट क्याप १०१.७९ बिलियन डलर रहेको छ ।

बीवाइडीका उत्पादन अहिले विश्वका ६० भन्दा धेरै देशमा बिक्री सुरु भइसकेका छन् भने हरेक महिना एकपछि अर्को देशमा नेटवर्क बिस्तार गरिरहेको छ । अघिल्लो वर्ष १८ लाख ईभी बिक्री गरेको बीवाइडीले यो वर्ष ३० लाख ईभी बिक्री गर्ने लक्ष्यको साथ अगाडि बढेको छ ।
नेपालमा साइमेक्स इंकले सन् २०१७ देखि नै बीवाइडीका इलेक्ट्रीक गाडी बिक्री गर्दै आएको छ । कम्पनीको पछिल्लो उत्पादन एटो–३ नेपालमा निकै चर्चामा रहेको मोडल हो ।


