हुन्डाई इन्डियाले अक्टोबर १० बाट भारतमा अनलाईन बुकिङ सुरु गरेको सेन्ट्रो नौ दिनमा १४ हजार २०० यूनिट बुकिङ गर्दै आफ्नो रि इन्ट्रीलाई जबरजस्त बनाएको छ ।
कम्पनीले ११ हजार रुपैयाँमा अनलाईन बुकिङ खुलाएको थियो । अहिलेसम्म मूल्य र भेरिएन्ट आधिकारीक रुपमा सार्वजनिक नगरेको कम्पनीले भोली दिल्लीमा एक कार्यक्रम आयोजनगरी सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।
भारतमा हुन्डाई ब्रान्डले २० वर्ष पुरा गरेको अवसरमा कम्पनीले यो कारलाई पुनः बजारमा ल्याएको हो । सन् १९९८ मा पहिलोपटक भारतीय बजारमा सेन्ट्रो मार्फत हुन्डाईले आफ्नो उत्पादन सुरु गरेको थियो । २०१४ बाट वार्षिक ३० हजारभन्दा माथी कारको बिक्री हुँदा हुँदै उत्पादन बन्द गरेको कम्पनीले ४ वर्षपछि पुनः अल न्यू सेन्ट्रो बजारमा ल्याउन लागेको हो ।
नयाँ जेनेरेशन २०१८ हुन्डाई सेन्ट्रोले मारुती सुजुकी सेलेरियो र वेगनआर, टाटा टियागो तथा रेनो क्विड १.०सँग प्रतिस्पर्धा गर्नेछ । हुन्डाईको नयाँ सेन्ट्रोमा १.१ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसमा लगाइएको पेट्रोल इन्जिनले ६८ बीएचपी पावर र ९९ एनएम टर्क उत्पादन गर्छ । कारमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्स जडान गरिएको छ ।


