काठमाडौं । अटो व्यवसायीहरूको पाँच दशक पुरानो छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आगामी पुस २० र २१ गते हुने निर्वाचनमा अध्यक्ष पदमा करण चैधरीले उम्मेद्वारी घोषणा गरेका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै आफु उमेद्वार बन्ने घोषणा गरेका हुन् ।
सुजुकीका गाडीको आधिकारीक बिक्रेता रहेको सिजी मोटोकर्पका निर्देशक चौधरी यसअघिको निर्वाचमा पनि अध्यक्षका उम्मेद्वार थिए । उनि थोरै मतले पराजित भएका थिए । उनले पुनः अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
यसपटकको नाडा निर्वाचनमा पूर्व उपाध्यक्ष प्रकाश कपुरीले यसअघि नै उम्मेद्वारी घोषणा गरिसकेका छन् भने पूर्व उपाध्यक्ष आकाश गोल्छाले पनि उम्मेद्वारी दिने तयारी गरिरहेका छन् ।
आफ्नो उम्मेद्वारी घोषणा गर्दै चौधरीले को को अध्यक्षको प्रतिस्पर्धामा छन् भन्ने अन्योलता देखिएको भन्दै आफुले घोषणा गरेको जनाएका छन् । उनलाई सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ लगायतका अटो व्यवसायीहरुको साथ रहेको देखिन्छ।
आफुले उम्मेद्वारी घोषणा गर्नु पूर्व नै धेरै तयारी पुरा गरेको बताउँदै सहमतिकाे प्रयासले पनि निरन्तरता पाउने उनको भनाई छ ।
सर्वसम्मत नभए निर्वाचनको विकल्प नहुँने भन्दै निर्वाचनको अवस्था सृजना भए देशभरका व्यवसायीहरुको साथ आफुलाई रहने र आफ्नो जित्ने हुने विश्वास चौधरीले व्यक्त गरे ।

