एथरलाई पनि नेपालमा टोयोटा जस्तै बनाउँछौंं : सूर्यांश वैद्यको अन्तर्वार्ता

काठमाडौं । सूर्यांश वैद्य अर्थात् नेपालको प्रतिष्ठित व्यापारिक घराना वैद्यज् अर्गनाइजेशन जसले आजै आफ्नो स्थापनाको ६० वर्षलाई उत्सवको रुपमा मनाउँदैछ, त्यसको तेस्रो पुस्ताका लिडर हुन् । नेपालका चर्चित स्कुलहरू रुपिज इन्टरनेशनल, ब्रिटिस स्कुल, लिङ्कनबाट उच्च माध्यमिकसम्मकाे शिक्षा हासिल गरेका उनले अमेरिकाको बर्कले युनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्ट विथ कन्सन्ट्रेन इन अन्टरप्रेनरसिपमा डिग्री गरेका छन् ।

अमेरिकाबाट अध्ययन सकेर फर्किएका उनले हाल नेपालमै विभिन्न नयाँ व्यवसाय सुरू गरेका छन् । पारिवारिक व्यावसायिक विरासत भएका उनको पहिलो भेन्चर पिटस्टप हो । हालै मात्र उनले भारतको चर्चित इलेक्ट्रीक स्कुटर ब्राण्ड एथर नेपालमा भित्र्याएका छन् । प्रस्तुत छ वैद्यको व्यवसाय र व्यावसायिक यात्रा लगातको बारेमा मेरोअटोले गरेको कुराकानीको सम्पादीत अंश :

विश्वकै चर्चित टोयोटा जस्तो सुपेरियर ब्राण्ड बेचिरहनु भएको तपार्ईंंहरूले हालै स्टार्टअप कम्पनीको ईभी भित्राउनु भएको छ ? आगामी योजना के बनाउनु भएको छ ?

म व्यवसायमा सानैदेखि संलग्न नभए पनि हजुरबुबा, बुबा, आमाको व्यवसायिक यात्रा र निर्णय सधैं नजिकबाट नियालेको थिएँ । उहाँहरूले गर्नुहुने व्यवसायिक डिस्कसन, मिटिङहरूमा सहभागी हुन्थेँ । जसको कारण मोबिलिटी बिजनेसमा मेरो सानैदेखि रुची जागेको थियो । अमेरिकाको बर्कलेमा हुँदा मैले रिन्युएबल इनर्जीको बारे अध्ययन गरेको थिएँ । विशेषतः विण्ड इनर्जी र हाइड्रो इलेक्ट्रीसीटीको अध्ययन गरेँ ।

मेरो सिकाइ नै रिन्युएबल इनर्जीमा रह्यो । त्यही भएर मैले मोबिलिटी र रिन्युएबल इनर्जीको कम्बाइन प्रडक्ट नेपालमा ल्याएको छु । अहिले हामीलाई टोयोटा बेच्न धेरै माथापच्ची गर्नुपर्दैन । यो हाम्रो परिवारले विगत ५५ वर्षदेखि गरेको मिहेनत र टोयोटाको लिगेसीको उपलब्धी हो ।

मेरो हजुरबुबा (विजय गजानन्द वैद्य)ले सन् १९६५ मा टोयोटा नेपाल भित्र्याउँदा यो ‘योङ प्रडक्ट’ थियो । विश्वका कमै देशमा निर्यात हुन्थ्यो । ठ्याक्कै, त्यसैगरी अहिले एथर भारत बाहेक अरु देशमा बिक्री हुने नेपाल पहिलो देश भएको छ । हामी एथरलाई पनि टोयोटा जस्तै नम्बर वान ब्राण्ड बनाउने लक्ष्य राखेका छौंं । सोही अनुसार काम गरिरहेका छौंं ।

नेपालमा इलेक्ट्रीक स्कुटरका करिब १०० ब्राण्ड छन् । मुख्यगरी भारतीय इलेक्ट्रीक ब्राण्डहरूलाई मार्केटले राम्रो रेस्पोन्स गरेको देखिँदैन । यस्तो अवस्थामा एथरलाई कसरी स्थापित गर्नुहुन्छ ?

पक्कै पनि बजारमा स्थापित हुन पहिलो कुरा प्रडक्ट उत्कृष्ट हुनै पर्छ । एथर इलेक्ट्रीक स्कुटरको प्रिमीयम ब्राण्ड हो । हामीले टोयोटा जस्तो प्रिमियम प्रडक्ट खरिद गर्ने ‘कस्टुमर विहेवियर’ राम्रोसँग बुझेका छौंं । ग्राहकलाई कसरी उत्कृष्टता दिन सकिन्छ, राम्रोसँग थाहा छ ।

हामी एथर बिक्री मात्रै गर्दैनौं । ग्राहकलाई बिक्रीपछिको सेवामा आफ्नो परिवारलाई जस्तै टेककेयर गर्छौंं । टेस्ट ड्राइभ गरेका चालकबाट एकदमै राम्रो रेन्पोन्स पाएका छौंं । अर्कोकुरा, हामीले ईभी इफ्रास्ट्रक्चरमा पनि ठूलो लगानी गर्दैछौंं। स्पेयर पार्टस र एसेसरिज पर्याप्त मात्रामा उपलब्ध हुनेछ । आगामी साता (डिसेम्बर १०) तीनकुनेमा डेडिकेटेड सर्भिस सेन्टर उद्घाटन हुँदैछ । चार्जिङ नेटवर्क देशैभरी विस्तार गर्दैछौंं ।

मलाई लाग्छ कुनै पनि नयाँ प्रडक्ट बजार स्थापित हुनुमा पहिलो तत्व इनोभेशन हो, जुन हाम्रो प्रडक्टले प्रमाणीत गरिसकेको छ । दोस्रो, इन्भेष्टमेन्ट जसले पूरै इकोसिस्टम बनाउँछ त्यसका लागि हामीले तयारी थालिसकेका छौंं । तेस्रो इन्सेन्टिभ जुन नेपालमा ट्याक्स इन्सेन्टिभको रूपमा हामीले पाइ नै रहेका छौंं ।

हामीले विश्व ईभी बजार कता गइरहेको छ, सूक्ष्म ढंगले हेरिरहेका छौंं । विश्वमा ईभीमा नेपाल छाटो समयमै स्थापित भएको देश हो । सरकारले भन्सार तथा अन्तःशुल्कमा छुट दिएर प्रोत्साहन गरिरहेको छ भने हामीले इफ्रास्ट्रक्चर विकासमा साथ दिएका छौंं । हाम्रा यिनै प्रयासले एथर स्थापित हुन्छ भन्नेमा म विश्वस्त छु ।

अब प्रडक्ट बारे कुरा गरौं । नेपालमा उपलब्ध अधिकांश इलेक्ट्रीक स्कुटरमा रिमुभेबल ब्याट्री छ । यस्तो स्कुटर राम्रो भन्ने आम बुझाइ छ । तर, एथरमा ब्याट्री रिमुभ गर्न सकिँदैन । फिक्स्ड ब्याट्री हुनुको फाइदा के छ ?

रिमुभेबल ब्याट्री नहुनुको पहिलो फाइदा ‘ह्यासल्स’ नहोस भन्ने हो । सयौं वर्ष अघि विश्वमा पहिलो पटक कार गुड्दा उक्त समयमा पेट्रोल, डिजल, मट्टीतेल लगायत सबै खाले इन्जिन बनेका थिए । पछिल्लो समयमा पेट्रोल मात्र धेरै रुचाइयो । इलेक्ट्री स्कुटरको विकास पनि भर्खरै भएको हो । क्रमशः अभ्यस्त हुँदै जान्छन् । मेरो बुझाइमा एथरले ग्राहकलाई झन्झट बिनाको प्रडक्ट दिन चाहिरहेको छ । इलेक्ट्रीक स्कुटरको ब्याट्री एकदमै भारी हुन्छ । यो सजिलै बोकेर हिँड्न सकिँदैन । अझ अपाङ्गता भएका व्यक्तिका सम्भवनै छैन । फेरि ब्याट्री निरन्तर राख्दा निकाल्दा ड्यामेज हुने सम्भावना पनि हुन्छ । यो स्कुटरको सबैभन्दा महंगो कम्पोनेन्ट हो ।

एथरलाई सजिलै घर वा कार्यालयमा चार्ज गर्न सकिन्छ । यदि घर वा कार्यालयमा चार्ज गर्न नसक्नेहरूका लागि हामीले चार्जिङ स्टेशनको स्थापना गर्नेछौंं । हाम्रीले प्रत्येक २ किलोमिटरको दुरीमा चार्जिङ स्टेशन राख्ने लक्ष्य राखेका छौंं । २०२४ को जनवरीसम्म १० वटा फास्ट चार्जर स्थापना गर्ने लक्ष्य छ । त्यसपछि क्रमशः आवश्यकता अनुसार क्याफे, जिम, सपिङ सेन्टर जस्ता पब्लिक प्लेसमा चार्जर राख्नेछौंं ।

नेपालमा बिक्रेताले प्रडक्ट बिक्रीपछिका सेवामा ध्यान नदिएको देखिन्छ । तपाईंहरूले पार्टस र सर्भिसको सहज उपलब्धताका लागि के कस्ता योजना बनाउनु भएको छ ?

हाम्रो मुख्य सर्भिस सेन्टर तीनकुनेमा बन्दैछ । त्यसपछि सहरका अन्य स्थानमा सर्भिस सेन्टर विकास गर्नेछौंं। बाइकका सर्भिस सेन्टरहरूलाई पनि ईभी सर्भिस सेन्टरमा कन्भर्ट गर्ने सोचमा छौं । आगामी दिनमा नेपालमा ग्यासोलिन भन्दा ईभी स्कुटर धेरै हुने देखिन्छ । परम्परागत सर्भिस सेन्टरको अस्तित्व संकटमा पर्न सक्छ । त्यसकारण भइरहेका टु ह्वीलर सर्भिस सेन्टरलाई नै ट्रेनिङ दिई ईभी सर्भिस सेन्टर बनाउने योजना छ ।

आफ्नै ट्रेनिङ सेन्टरमा मोटर, ब्याट्री र इलेक्ट्रीक स्कुटरका अन्य कम्पोनेन्टको ट्रेनिङ संचालन गर्नेछौं । त्यस्तै, हामीले मोबाइल सर्भिस सेन्टर पनि संचालन गर्नेछौं । कसैको स्कुटर बाटोमै बिग्रिए भ्यानमै रहेका पूरा सर्भिस सेन्टरको सेटअप गएर ‘अन द स्पट’ सर्भिस दिनेछौं ।

एथर नेपालमा लन्च भएको करिब २ महिना पुग्न लाग्यो । यस अवधिमा अनुभव कस्तो रह्यो ?

राम्रै भइरहेको छ । हामी नेपालका लागि एथरको डिलर पाउनुभन्दा अगाडिदेखि नै इमानदारपूर्वक काम गरिरहेका थियौं । धेरै व्यवसायीहरू एथर भित्र्याउन लागिपरेका थिए । एथरले हाम्रो अर्गनाइजेसनको बिजनेस, ब्याकग्राउण्ड मात्र होइन भविष्यको कार्ययोजना समेत हेरेर आधिकारिक बिक्रेता बनाएको हो । हाम्रो टिममा अधिकांश युवाहरू छन् । व्यक्तिगत रूपमा शोरुम स्थापनादेखि लन्चिङ इभेन्ट र पछिल्लो बिक्री सुरू भएसम्म दिनदिनै नयाँ कुरा सिक्ने अवसर प्राप्त भइरहेको छ । आगामी दिनमा झनै सक्रिय हुनेछौं ।

एथर इनर्जीको इण्डियामा ठूलो प्लानिङ रहेको देखिन्छ । चाँडै प्रिमियम सेग्मेन्टमा अर्को बेस भेरियन्ट लन्च हुँदैछ । नेपालमा तपाईंहरूको प्रडक्ट प्लानिङ के छ ?

नेपालमा इण्डियासँग इनलाइन नै छ । जस्तो हामीले पहिलो प्रडक्टको रूपमा ४५०एक्स नेपालमा लन्च गर्यौं । अब अर्को हामी चाँडै नै ४५० एस लन्च गर्दैछौं । इण्डियामा नयाँ प्रडक्ट लन्च भए पनि नेपालमा हामी धेरै पर्खनु पर्दैन । इण्डिया र नेपाल छिमेकी मुलुक भएकाले उता लन्च हुने बित्तिकै नेपालमा ल्याउन सक्छौं ।

नेपालमा ईभीको बजार तीव्र गतिमा विकास भइरहेको छ । फोर ह्वीलरमा नयाँ बिक्रीको ६० प्रतिशत ईभी रहेकोमा टु ह्वीलर ५ प्रतिशतभन्दा कम रहेको छ । यसलाई बढाउन के गर्नुपर्ला ?

पहिलो, सरकारको सहयोग हुनपर्छ । ट्याक्स इन्सेन्टिभ दिएर सहयोग गरेकै छ भन्नुु पर्ला । तर, इन्फ्रास्ट्रक्चर विकासमा सरकारले लगानी बढाउनैपर्छ । पेट्रोलबाट चल्ने गाडी र ईभी छनोटमा उपलब्ध चार्जिङ इन्फ्रास्ट्रक्चरले धेरै प्रभाव पार्छ । चार्जिङ सहज भए ईभी बिक्री बढ्ने हो । अहिले निजी क्षेत्रबाट टु ह्वीलरको लागि यात्रीले चार्जिङ पोइन्टको विकास गरिरहेको छ । यसमा अहिले हामी पनि थपिएका छौं । अब सरकारले यसलाई अझै सहयो गर्नुपर्छ, अनि मात्र ईभीमा विश्ववास बढ्छ । नेपालमा पहिलो चरणमा फोर ह्वीलर ईभीको इन्फ्रास्ट्रक्चर बन्यो, अब हामी टु ह्वीलरको बनाउँछौं।

चार्जिङ इन्फ्रास्ट्रक्चर, सर्भिस सेन्टर लगायत ईभी इको सिस्टम बन्दै जानु र ठूला ब्राण्डहरू भित्रिएसँगै छिटै टु ह्वीलरको मार्केट सेयर पनि फोर ह्वीलरर्सको हाराहारीमा पुग्नेछ । अर्कोकुरा हामीले बिर्सन हुँदैन । आइसीइ भेहिकलको इन्फ्रास्ट्रक्चर बन्न १०० वर्ष बढी समय लागेको हो नि ।

पछिल्लो समय राजमार्गहरूमा धेरै संख्यामा स्कुटर देखिने थालेका छन् । ताप्लेजुङ, मनाङ, मुस्ताङदेखि रारासम्म स्कुटरमा जान थालेका छन् । यस्ता ग्राहकलाई इलेक्ट्रीक स्कुटरले कसरी आकर्षित गर्छ ?

हामीले यात्राको दुरी प्रडक्ट अनुसार हेर्नुपर्छ । ल्याण्ड क्रुजर जहाँसम्म पुग्न सक्छ, त्यो ठाँउमा सानो ह्याचब्याक कार पुग्दैन । च्यालेन्ज नै गर्यो भने पुर्याउन सकिएला तर, सहजै पुग्दैन । अहिले स्कुटरको मार्केट बढिरहेको छ । व्यक्तिगत मोबिलिटीको लागि पहिलो रोजाइ स्कुटर भएको छ । चलाउन सजिलो र अफोर्डेबल भएकाले यसको लोकप्रियता बढ्दै छ । अहिले इलेक्ट्रीक स्कुटर सबै ठाउँमा पुग्न रेन्जको समस्या छ । तर, सबै ठाउँमा चार्जिङको सुविधा हुने हो भने समस्या हुँदैन । भोलि जुन ठाउँमा पनि पुग्न सक्छन् ।

स्कुटर किन्न चाहने ग्राहकमा पनि ईभी कि रेगुलर आइसीइ स्कुटर किन्ने भन्नेमा दुविधा देखिन्छ । यस्ता ग्राहकलाई तपार्ईंको सुझाव के छ ?

सबैभन्दा पहिला तपाईंको आवश्यकता के हो स्पष्ट हुनुपर्छ । यदि सहरी क्षेत्रमा धेरै यात्रा गर्नुहुन्छ भने तपाईंको लागि इलेक्ट्रीक स्कुटर बेस्ट च्वाइस हो । अझ एथर स्कुटरमा रहेको अटोहोल्ड, रिभर्स जस्ता प्रिमियम फिचरकले तपाईंको दैनिक यात्रा धेरै सहज बनाउनेछ । तर, लामो दूरीको यात्रा गर्नुहुन्छ भने पर्याप्त चार्जिङ पूर्वाधार नबुन्जेल आइसीई नै ठीक होला । केही वर्षपछि हो भने इलेक्ट्रीकको विकल्प छैन । हामीले देशभरी चार्जिङ पूर्वाधारमा ठूलो लगानी र परिश्रम गरिरहेका छौं ।

अन्त्यमा, केही भन्नु छ  कि ?

हामी ईभीको इको सिस्टम विकास गर्न आएका हौं । हाम्रो लक्ष्य स्कुटर बेच्ने मोत्र होइन । अर्को कुरा भारत र नेपालमा मूल्यको तुलना भइरहेको छ, जुन गलत हो । भारतमा सररकारले प्रत्येक स्कुटरमा २०/२५ हजार सहुलियत दिएको छ । त्यसले मूल्यमा फरक पारेको हो । एथरमा ब्याट्रीमा ५ वर्षको बारेन्टी छ । जुनसुकै कारणले ब्याट्री ड्यामेज भएमा हामी रिप्लेस गर्दिन्छौं । त्यस्तै ५ वर्षभित्र ब्याट्रीको क्यापासिटी ७० प्रतिशत भन्दाकम भयो भने पनि सित्तैमा फेरिदिन्छौं । हामी कनेक्टिभिटी बढाउन, तपाईंहरूको विश्वास जित्न आएका हौं ।


Back_to_top