काठमाडौं । चांगानको इलेक्ट्रीक सहायक ब्राण्ड दिपलको सफल क्रसओभर मोडल एस-०७ अपग्रेड भएर आएको छ । यसअघि प्योर ईभीमा मात्रै उपलब्ध एस-०७ अब भने (एक्सटेन्डेट रेन्ज इलेक्ट्रीक भेहिकल) ईआरइभीमा पनि उपलब्ध भएको हो ।
चिनियाँ बजारबाट सार्वजनिक भएको दिपल एस-०७को इआरईभी मोडलमा १.५ लिटर क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७० किलोवाट पावर प्रदान गर्छ । यससँगै दुई इलेक्ट्रीक मोटर अप्सन पनि उपलब्ध हुनेछ । जसमा एउटा १७५ किलोवाट र अर्को १९० किलोवाटको मोटर रहेको छ ।
हाइब्रिड भर्सनमा तीन फरक ब्याट्री रेन्ज दिइएको छ । जसमा सिंगल चार्जबाट १२५, २१५ र २८५ किलोमिटरसम्म रेन्ज पाउन सकिन्छ । तर, यसमा दिइएको इन्धन ट्याङ्कमा फुल इन्धन र ब्याट्री पनि फुल चार्ज गरेर चलाउने हो भने दुबैको संयुक्त पावर १२०० किलोमिटर रहेको छ ।
दिपल एस-०७ को प्योर इलेक्ट्री मोडलमा भने १६० र १९० किलोवाट क्षमताको मोटर दिइएको छ । ब्याट्री भेहिकलको रेन्ज ५२० देखि ६२८ किलोमिटरसम्म रहेको सीएलटीसीले प्रमाणित गरेको छ ।
नयाँ भेहिकलमा दिइएको एडास फिचर पनि निकै एड्भान्स बनाइएको छ । कम्पनीले हुवावेले बनाएको एड्भान्स ड्राइभिङ सिस्टम यसमा दिएको छ ।
एमएडब्लू वृद्धिले नेपालमा बिक्री वितरण गर्दै आएको दिपल एस-०७ अहिले निकै चर्चित मोडल हो । तर, कम्पनीले नेपाली बजारमा रेन्ज एक्सटेन्डेड भेहिकल भने उपलब्ध गराउने छैन । नेपालमा अपग्रेड भएको एस–०७ मोडल भने आउने छ ।