काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आज केन्द्रिय बैंकले सार्वजनिक गरेको मौद्रिक नीति माथि असन्तुष्टि ब्यक्त गरेको छ । मौद्रिक नीतिले पुरै अटोमोवाइल क्षेत्रलाई वेवास्था गरेको भन्दै नाडाले आपत्ति जनाएको हो ।
नाडाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नाडाले केही दिन अघि मात्रै पनि अटोमोवाइल क्षेत्रमैत्री मौद्रिक नीतिको आवश्यकताका विषयमा सरोकरवालाई बताएको थियो । अटोमोवाइल क्षेत्रले विद्युतीय सवारी साधन मात्र नभई समस्त अटो व्यवसायलाई समेट्छ, जसमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी, पार्ट्स, लुब्रिकेन्ट्स र टायर पनि पर्छन् । यी सबै व्यवसायलाई हित हुने नीतिको आवश्यकता थियो । तर, मौद्रक नीतिले नाडाको कुनै पनि सुझावहरुलाई सम्बोधन गर्न नसकेको मात्र होइन पुरै वेवास्ता गरिएको छ ।’
यस्तो किसिमको वेवास्ताले एकातर्फ नेपालका सम्पूर्ण अटोमोवाइल व्यवसायीहरुले ऋण भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न हुने र सवै व्यवसायीहरु कालोसुचीमा पर्ने देखिएको नाडाको भनाइ छ ।
मौद्रिक नीतिको धारा ७९ को ‘ख’मा निर्माण व्यवसायलाई कर्जा सूचना सम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसुचीमा समावेश नगर्ने भनिएको छ । यस्तो नीतिले व्यवसायीहरु अन्योलमा परेको नाडाको भनाइ छ ।
यस्तो नीतिले हेवी इक्यूपमेण्ट, ट्रक, टिपर, पार्टस लुव्रिकेण्टस, टायर र ब्याट्रीहरु जुन उधारोमा बिक्री गर्नु पर्ने हुन्छ, त्यस्तोमा कुनै पनि फर्मलाई कालोसूचीमा नै राख्ने व्यवस्था गरिनु पर्ने नाडाको धारणा रहेको छ ।
कालोसूचीको ब्यवस्था हटाउँदा व्यवसायीहरु ठूलो समस्यामा फस्ने भएकोले कुनै पनि सामान बिक्री गरे पश्चात् लिएको चेकको हकमा मात्र यस्तो व्यवस्था लागु गरिनु पर्ने भएकोले यसतर्फ नेपाल राष्ट्र बैंकले तत्कालै सुधार गर्नु पर्ने नाडाले जनाएको छ ।

