सिट्रोनको ड्राइभिङ सिट सम्हालेका जय गोल्छा भन्छन्-‘तेस्रो ठूलो ब्राण्ड बनाउँछु’

काठमाडौं । देशकै पुरानो व्यवसायिक घरानाका चौथो पुस्ताका सदस्य अटोमोबाइल व्यवसायमा प्रवेश गरेका छन् । उसोत गोल्छा अर्गनाइजेशन विगत ६० वर्षदेखि कुनै न कुनै प्रकारले अटोमोबाइल व्यवसायमा संग्लन हुँदै आएको छ । दायहात्सु, बजाज, फोर्ड, हुलास मोटर्स जस्ता ब्राण्ड विगतदेखि गोल्छा अर्गनाइजेशन अन्तर्गत थिए ।

अहिले प्यूजो, सिट्रोन जस्ता ब्राण्ड पनि यही समूहसँग छ । यी मध्ये सिट्रोन सन् २०२१ बाट नेपालमा आएको ब्राण्ड हो । त्यही ब्राण्डलाई जय गोल्छाले नेतृत्व गरिरहेका छन् । उनै गोल्छासँग मेरोअटोले गरेको कुराकानीको सम्पादीत अंश :

विगतको पारिवारिक पृष्ठभूमिलाई पच्छाउँदै तपाईंं पनि अटोमोबाइल क्षेत्रमा नै किन आउनुभयो ?

मेरो अग्रजहरू, हजुरबुवा र बुबा धेरै किसिमका व्यवसायमा हुनुहुन्छ । त्यसमध्ये मैले ईभी रोज्नुको मुख्य कारण मैले गरेको अध्ययन हो । मैले इन्जिनीयरिङ गरेको कारण ईभीमा आएको हुँ । त्यसमा पनि क्लिन इनर्जी क्षेत्रमा नेपालले गरेको प्रगति र ईभी प्रति बढ्दो आकर्षण मलाई ईभी व्यवसायमा आउन प्रेरित गरेको हो ।

चिनियाँ ईभी ब्राण्डको चर्चा धेरै भइरहेको समयमा फ्रेन्च ब्राण्ड रोज्नुको कारण के होला ?

युरोपियनहरू सुरक्षीत कार निर्माणमा निकै कहलियका छन् । युरोपियन डिजाइन मानिसले मनपराउने मै पर्छ । हामीले सुरूमा प्यूजोका उत्पादन ल्याएका हौं । त्यो फ्रान्सबाटै आउने भएको कारण मूल्यको हिसाबले महंगो पर्ने भयो । यद्यपि, अहिले पनि हामीले राम्रोसँग प्यूजोका उत्पादन बिक्री गर्दै आएका छौं ।

सन् २०२१ मै भारतमा सिट्रोनले कार उत्पादन गर्ने भएपछि हामीले पनि नेपालमा सिट्रोन ल्यायौं । भारतमै उत्पादन भएपछि मूल्यका हिसाबले पनि सिट्रोनका कार प्रतिस्पर्धी भएका छन् ।

तपाईंले भारतमा उत्पादन भएको सीथ्री मोडल पेट्रोल र ईभी दुवैमा ल्याउनु भएको छ । सीथ्रीलाई कसरी स्थापित गर्दै हुनुहुन्छ ?

सीथ्री पर्फेक्ट कम्प्याक्ट एसयूभी हो । यसको सीधा प्रतिस्पर्धा सब फोर मिटर एसयूभीसँग नै हुन्छ । हाम्रो गाडीको ड्राइभिङ प्लेजर निकै उत्कृष्ट छ । अझ ईभी मोडल चलाउँदा अलगै फिल गर्न पाइन्छ ।

यही सेग्मेन्टमा रहेका अन्य ईभीको तुलनामा यसको साइज ठूलो छ । त्यसैले मैले भन्ने गरेको छु, सीथ्रीको प्रतिस्पर्धा आफैँसँग धेरै हुन्छ । अहिले अन्य इलेक्ट्रीक एसयूभी किन्न खर्च गर्नु पर्ने रकमभन्दा १० लाख रुपैयाँ सस्तोमा सिट्रोन ईसीथ्री पाउन सकिन्छ । त्यसैले ग्राहकको रोजाइमा ईसीथ्री पर्दै आएको छ ।

सिट्रोनले हतार गरेर ईभी बनायो भन्ने पनि छन् । भारतमा खासै राम्रो गर्न सकिरहेको छैन । नेपालमा बजार विस्तारका लागी कसरी काम गरिरहनुभएको छ ?

नेपाल र भारतको बजार ईभीको हकमा ठूलो भिन्नता छ । नेपालीहरू नयाँ टेक्नोलोजी प्रयोग गर्न हिचकिचाउँदैन्न । तर, भारतमा ईभी प्रति ठूलो आकर्षण देखिँदैन । भारमा सुजुकी, हुन्डाई, टाटा र महिन्द्रा बाहेक अन्य प्रोडक्ट प्रयोग गर्न उपभोक्ताले धेरै सोच्छन् ।

त्यसैले सिट्रोन भारतमा कति बिक्री हुँदैछ भन्ने विषयले यहाँ फरक पार्दैन । तपाईंंले हतारको कुरा गर्नुभएको छ, नेपालको हकमा त ढिला भएको हो । नेपालमा विद्युतीय साधनले २०१८ देखि नै बिक्रीमा रफ्तार समातेको हो । जहाँसम्म भारतको कुरा छ, त्यहाँ उत्पादकहरूको क्याफे रुल अनुसार काम गरिरहेका छन् ।

अहिले विद्युतीय कार बिक्री गर्नेको ध्यान गाडी बेच्न मात्रै छ । चार्जिङ पूर्वाधार र बिक्रीपछिको सेवामा काम गरिरहेको छैनन् । तपाईंहरूले यसको लागि के तयारी गर्दै हुनुहुन्छ ?

हामीले देशभर ९ वटा डिलर बनाएका छौं । अहिले काठमाडौं र चितवनमा फास्ट चार्जर राखेको छौँ । यसबाहेक हाम्रो ७ वटा डिलरहरूमा पनि फास्ट चार्जर राख्ने काम अगाडि बढेको छ । हाम्रो योजना अनुसार १२ स्थानमा ३० किलोवाटको चार्जर राख्दैछौं । ती मध्ये ७ वटा डिलरमा र अन्य उपयुक्त स्थान छनोट गरेर राखिने छ ।

हाइवेमा चार्जिङ स्टेशनको लागि अन्य ब्राण्डसँग पनि छलफल गर्दै हुनुहुन्छ कि ?

हामीले भविष्यमा पनि फास्ट चार्जर नै जडान गर्ने हो । एसी चार्जर जडान गरेर केही उपलब्धी हुन्छ जस्तो लाग्दैन । त्यसैले हामीले अन्य कम्पनीसँग पनि कुरा गर्ने सोचेका छाैँ । हामी निकट भविष्यमा नै १०० वटा चार्जर राख्ने योजनासहित काम गरिरहेका छौं । त्यसको लागि ३ देखि ४ वर्ष लाग्न सक्छ ।

अहिले भारतमा उत्पादन भएको एउटा मात्रै मोडल यहाँ छ, कम्पनीले निकट भविष्यमा कस्ता उत्पादन पठाउँदैछ ?

नेपाली बजारमा अहिले सीथ्री पेट्रोल र ईभीमा उपलब्ध छ । भारतमा स्रीथी एयर क्रस र बसाल्ट जस्ता नयाँ मोडल आउँदैछ । तर, हाम्रो प्राथमिकता पेट्रोलमाभन्दा ईभीमा धेरै छ ।

चाँडै सीथ्री एयरक्रस ईभीमा आउने कुरा छ । भारतमा आएको केही समयमा नै नेपाल ल्याउने छौं । भावी दिनमा पेट्रोल गाडीको करमा कमी आयो भने सोचौंला, नत्र ईभी मै केन्द्रित हुने योजना छ ।

ईभी किन्न आउने ग्राहकले खोज्दा रहेछन् ?

ग्राहकको पहिलो प्राथमिकतामा ग्राउन्ड किलरेन्स, ब्याट्री, रेन्ज र फिचर भएको पाएका छौं । त्यसमा पनि रेन्ज २५० किलोमिटर माथि हुनु पर्ने रहेछ ।

ईभीलाई थप बलियो बनाउन ब्याट्री व्यवस्थापनमा कसरी काम गर्दै हुनुहुन्छ ?

हामीले सिट्रोनको ईभी नेपाल ल्याउनु अघि नै ब्याट्री व्यवस्थापन सम्बन्धी ठोस योजना दिएका छौं । भारतको लोहोन कम्पनीसँग सहकार्य गरेर ब्याट्री व्यवस्थापनमा काम गरेका छौं । हाम्रोमा आउने सम्पूर्ण पुराना ब्याट्री हामी लोहोन कम्पनीमा पठाउँछौं । अहिले ७-८ वर्षको वारेन्टी भएका ब्याट्री फेर्नु पर्ने कुरै भएन । त्यसैले यसको लागि हामी तयारी अवस्थामा छौं ।

ग्राहकले ब्याट्री र मोटरमा वारेन्ट खोज्छन् यसमा तपाईंंहरूले के के दिनुभएको छ ?

हामीले ब्याट्रीमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर र मोटरमा ५ वर्ष १ लाख किलोमिटर वारेन्ट दिएका छौँ । हाम्रो ब्याट्री सधैं फास्ट चार्जरमा जोड्न मिल्ने किसिमको छ । त्यसैले यो आफ्नै घर नभएका उपभोक्ताको लागि पनि उपयुक्त छ । कोठा भाडामा बस्नुहुनेले पनि फास्ट चार्जरबाट सधैं चार्ज गरेर यसलाई चलाउन सक्नुहुन्छ ।

अहिले बिक्री कमै देखिन्छ । अबको ३ वर्षमा सिट्रोनका ईभी प्रतिस्पर्धामा कहाँ रहन्छन् ?

नेपालले ईभीलाई सहजै स्वीकार गरेको कारण हामी आगामी ३ वर्ष भित्रै नेपालमा टप थ्री ब्राण्ड भित्र पर्ने गरी काम गर्दैछौं । त्यसको लागि आवश्यक नेटवर्क तयार छ । सर्भिसमा लगानी गरेका छौं । स्पेयर पार्टस्को कमी हुन दिँदैनौं । समग्रमा ग्राहकको चाहना अनुसार हामी काम गर्छौं ।


Back_to_top