‘लोन टु भ्यालु रेसियो’ ७५ प्रतिशत पुर्याउन नाडाको माग

फाइल फाेटाे

काठमाडौं । नाडा अटोमोबाइलस एशोसिएशन अफ नेपालले लोन टु भ्यालु रेसियो (ऋण अनुपात) ७५ प्रतिशत पुर्याउन माग गरेको छ ।

बिहीबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटी अटो बजार गतिशील बनाउन लोन टु भ्यालु रेसियो बढाउन आग्रह गरेको हो ।

अध्यक्ष चौधरीले घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने माग राखे । उनले घरजग्गामा जस्तै सवारी साधन खरिदमा ऋण भुक्तानी आम्दानी अनुपातलाई बढाएर ५० प्रतिशतबाट ७० प्रतिशत पुर्याउन आग्रह गरे ।

उनले पेट्रोल र डिजेलबाट चल्ने निजी र व्यावसायिक महत्वका सवारी साधनहरूलाई छट्याउनुपर्ने भन्दै कालोसूचीमा परेका व्यक्ति वा कम्पनी माथि नियमहरूलाई थप कडा र प्रभावकारी बनाउन आग्रह समेत गरे ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडाका तर्फबाट आगामी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने ६ बुंदे लिखित सुझाव समेत दिए ।
उनले भारतीय मालवाहक ट्रक नेपालबाट फर्किँदा नेपालबाट सामान समेत लैजाने गर्दा नेपालको ढुवानी व्यवसाय र ढुवानीका साधनहरूको बिक्रीमा ठूलो असर परिरहेको जानाकारी गराए । उनले नेपालमा अटोमोबाइल कम्पोनेण्ट उद्योगहरूको प्रशस्त सम्भावना भएकोले यस्तो उद्योगहरू खोल्न सरकारले प्रोत्साहित गर्नुपर्ने धारणा राखे ।

गर्भनर अधिकारीले अटोमोबाइल व्यवसायबाट राष्ट्रलाई ठूलो राजश्व आउने गरेको भन्दै अटोमोबाइल व्यवसायलाई दिगो बनाउन, फाइनान्सियल र इकोसिष्टम सिष्टम, डेभलप गर्न र आर्थिक गतिविधि बढाउन नेपाल राष्ट्र बैंक लागिरहेको बताए । उनले अटो व्यवसाय लयमा ल्याउन राष्ट्र बैंकले प्रयास गरिरहेको बताए ।

यस्तै, नाडाको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासँग भेट गरी भन्सार मूल्याङ्कनका सम्बन्धमा व्यवसायीले भोगिरहेका समस्या बारे जानकारी गराएको छ ।

अध्यक्ष चौधरीले वर्तमान बजेटमा सवारी साधनहरूमा मूल्य अभिवृद्धिकर लाग्ने भन्ने उल्लेख नभएकोे सन्दर्भमा व्यवसायीहरूले मूल्य अभिवृद्धि कर लिने वा नलिने अन्यौलता भएको बताए । नाडाका महासचिव उप्रेतीले भन्सारसंग सम्बन्धित ७ बुंदे लिखित सुझावहरू दिएका थिए ।


Back_to_top