ओमोडाले १०% मार्केट सेयर लिनेमा कन्फिडेन्ट छु : गौरव शारडाको अन्तर्वार्ता

काठमाडौं । शारडा ग्रुपका डाइरेक्टर गौरव शारडा एसपीजी अटोमोबाइलको स्थापनासँगै अटोमोबाइल क्षेत्रमा आएका हुन् । चीनको निकै पुरानो चेरी ब्राण्ड नेपालमा भित्र्याएका गौरवले हालै मात्र चेरीको इलेक्ट्रीक ब्राण्ड अमोडा नेपालमा लन्च गरेका छन् । नयाँ ईभी ब्राण्ड ओमोडा, यसको शोरुम, सर्भिस, चार्जिङ नेटवर्क, स्पेयर पार्टस तथा नेपालको भविष्यको योजनाका बारेमा मेरोअटोले गरेको कुराकानीको सम्पादित अंश :

लामो समयको प्रतिक्षापछि अमोडा ईभी नेपाल आइपुग्यो । अमोडाको नेपाल यात्राको अनुभव कस्तो रह्यो ?

हामीले सन् २०२१ मा चेरी लन्च गर्दा नै ईभीको योजना बनाएका थियौं । हाम्रो योजना अनुसार सन् २०२२ को अन्तिमदेखि २०२३ को सुरूआतमै ओमोडा ईभी आइसक्नुपर्ने थियो । झण्डै १ वर्षको ढिलाइपछि अमोडा ईभी नेपाल आइपुगेको हो ।

अमोडा ईभीसँग नेपाली अटो मोबाइल बजारको कस्तो अपेक्षा रहेको बुझ्नुहुन्छ ?

सुस्ताएको अटोमोबाइल बजारमा नयाँ ब्राण्डको ईभी आएपछि एउटा ‘पेस’ देखिने गरेको छ । बजारमा उत्साह देखिएको छ । जुन पछिल्लो समयमा आइसको कुनै पनि ब्राण्ड वा मोडलमा देखिँदैन । नयाँ ईभीसँगै हाम्रो टिममा पनि नयाँ इनर्जी संवाह भएको देखेको छु । मेरो विचारमा समग्र अटोमोबाइल बजारमा नयाँ ईभीले एक्साइटमेन्ट थपेको छ ।

अमोडा ईभी नेपाल लन्च हुनु अगाडि नै प्यारेन्ट कम्पनीसँग दुई पटक अनलाइन इन्टरयाक्सन गराउनुभयो । नयाँ डेडिकेटेड शोरुम स्थापना भइसकेको छ । यस अवधि आम सर्वसाधरणको जिज्ञाशा कस्तो छ ?

हामीले चिनियाँ टिमसँग गरेका इन्टरयाक्सनले ओमोडालाई नेपालमा चिनाउन धेरै सहयोग गरेको छ । ओमोडाको बारेमा मिडियामा आएको समाचारहरूले लन्चिङ अगाडि नै राम्रो संख्यामा बुकिङ भइरहेको छ । औपचारिक लन्च हुनु अघि नै (हिजोसम्म) ५० भन्दा बढी बुकिङ भइसकेको छ । हामीले प्यारेन्ट कम्पनीमा बुकिङको रिपोर्ट गर्दा उनीहरू अचम्मित भएका छन् । गाडीको अफिसियल रिभिल अगाडि नै यो संख्यामा बुकिङ हुनु एकदमै राम्रो हो ।

अमोडाको आगामी योजना के छ ?

आज हामीले प्रेसको लागि मात्रै अनभिल गरेका हौं । कस्टुमरको लागि हामीले डेलिभरीको समयमा छुट्टै लन्चिङ प्रोग्राम आयोजना गर्नेछौं । अहिले हाम्रो अफिसियल प्राइस रिभिल र बुकिङ खुला गरिएको हो ।

सुरूआतकै चरणमा अमोडाले राम्रो रेन्सपोन्स पाएको छ । अब आगामी दिनमा प्रडक्ट र ईभीको इको सिस्टम चार्जिङ स्टेशन, नेटवर्क तथा सर्भिस सेन्टर बनाउन तपाईंहरूको के–कस्तो प्रयास गर्दै हुनुहुन्छ ?

सबैभन्दा पहिले हामी नेटवर्क विस्तारमा लाग्नेछौं । केही महिनामै नेपालको १२ देखि १५ स्थानमा शोरुम स्थापना गर्नेछौं । सबै डिलर नेटवर्कमा फास्ट चार्जरको अनिवार्य सुविधा हुनेछ । यसका अलावा हाइवेको अत्यावश्यक स्थानहरूमा छुट्टै फास्टचार्ज नेटवर्क स्थापना गर्नेछौं ।

फेरि हाम्रो कारको रेन्ज नै ४०० किलोमिटरभन्दा धेरै भएकाले यसलाई छिटोछिटो चार्ज गरिरहन आवश्यक पर्दैन । भविष्यमा हाम्रोमा पनि सर्टरेन्जको कारहरू हुनेछ । तर, उक्त समयसम्म हाम्रो नेटवर्क आवश्यक स्थानमा स्थापना भइसक्नेछ । अत्यावश्यक स्थानमा एकभन्दा बढी चार्जिङ सेन्टर हुनेछ ।

नयाँ ब्राण्ड ल्याएर गाडी मात्रै बेच्ने प्रवृत्ति देखिएको छ । नयाँ ब्राण्डसँगै यसको सर्भिसमा त्यति ध्यान दिएको देखिँदैन । यस्तोमा तपाईंको सर्भिस नेटवर्कको प्लान के छ ?

शारडा ग्रुपको अटोमोटिभ डिभिजनको सुरूआत नै सर्भिसबाट भएको हो । हाम्रो ट्रयाक रेकर्ड हेर्दा थाहा हुन्छ, हामी सर्भिसमा कतिको सेन्सेटिभ छौं भन्ने ।

पछिल्लो समयमा आएको चेरीको पेट्रोल गाडी संख्यात्मक रूपमा धेरै बिक्री भएको छैन । तर, तपाईंले कुनै पनि ग्राहकलाई सोध्न सक्नु हुन्छ के उहाँहरूले कुनै समस्या भोग्नु परेको छ ? हाम्रो सर्भिस र आफ्टर सेल्समा कुनै समस्या भेटाउन सक्नुहुँदैन । यस्तै स्ट्याडर्डको सर्भिस हाम्रो अरू ब्राण्ड डाट्सन र निसानमा पनि रहेको छ । हामी गौरवका साथ भन्न सक्छौं कि हाम्रो सर्भिस नेपालको बेन्चमार्कभन्दा सधैं माथि रहेको छ ।

ओमोडाको शोरुमको साथै सर्भिस सेन्टर पनि तयार भइसकेको छ । हामीले सीतापाइलामा गाडी बेच्नु अगाडि नै सर्भिस सेन्टर बनाइसक्यौं । स्पेयर पाट्सको अर्डर प्लेस गरिसकेका छौं । हाम्रो दुई जना इन्जिनीयरहरूले चीनमै गएर ट्रेनिङ लिएर आइसक्नुभएको छ । हामीले ओमोडा बिक्री गर्नु अगाडिनै सर्भिस सेन्टर, स्पेयर पार्टस् तथा इन्जिनीयरलाई तयार गरिसकेको हौं ।

अमोडाको युनिक सेलिङ प्रपोजिसन (यूएसपी) के हो त ? नेपाली बजारमा उपलब्ध ईभीहरू मध्ये अमोडा ई ५ लाई कसरी स्थापित गर्न सकिन्छ ?

मलाई लाग्छ ओमोडा टिमले यो कार विकास गर्दा एकदमै राम्रो काम गरेको छ । यदि नेपाली ग्राहकले खोज्ने ५० थरिको फिचर हो भने अमोडामा ४८ वटा फिचर पाउन सकिन्छ । सेफ्टी फिचरको कुरा गर्दा यो ईभीमा नेपालमा समान मूल्यको रेन्जमा उपलब्ध ईभीभन्दा धेरै फिचर रहेको छ । धेरै महँगो गाडीमा समेत नभएको सेफ्टी फिचर यसमा उपलब्ध छ ।

ओमोडा ई ५ मा ६ वटा एयरब्याग रहेको छ । त्यस्तै, सोनीको प्रिमियम म्युजिक सिस्टम तथा स्पिकर रहेको छ । यसमा थप फिचरको रूपमा टचस्क्रीन, पेडल लाइट, कम्पनी फिटेड स्पेयर टायर जस्ता फिचर रहेको छ । यो कारलाई कन्टुमर सेन्ट्रिक बनाउन प्रिमियम इन्टेरियर दिएको छ ।

चेरीले अन्य सब ब्राण्ड पनि विश्व बजारमा लन्च गरिरहको छ । नेपालमा कुनै नयाँ ब्राण्ड ल्याउने योजना पनि छ कि ?

चेरीले नयाँ ब्राण्डको रूपमा राइट ह्याण्ड डाइभ मार्केटको लागि जेटुर ब्राण्ड लन्च गरेको छ । यो एक लाइफ स्टायल प्रोडक्ट हो । यसमा पनि ईभी र हाइब्रिडमा पनि प्लान भइरहको छ । चेरीले राइटह्याण्ड डाइभ मार्केटमा जेटुर र अमोडा प्रस्तुत गर्ने योजना अनुसार काम गरिरहेको बुझिएको छ । हामीले जेटुर पनि यो वर्षको अन्त्यसम्ममा नेपाल लन्च गर्ने प्लान गरिरहेका छौं ।

ओमोडाको २०२४ को लागि कति संख्यामा बिक्री टार्गेट रहेको छ ?

यो वर्ष संख्यात्मक रूपमा यति नै भन्न नसकिएता पनि हामीले ८ देखि १० प्रतिशत मार्केट शेयर लिने योजना बनाएका छौं । अहिलेको मार्केटको फिटब्याक अनुसार हामीले सजिलैसँग १० प्रतिशतको मार्केट शेयर लिन सक्ने कन्फिडेन्टमा छौं ।


Back_to_top