सुरक्षित बाटोबाट गाडी ल्याउन ‘फ्रेट’मा लाग्ने कर हटाऔं : दीपक थपलियाको अन्तर्वार्ता

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटरहबले नाइमा मोबिलिटी एक्स्पोमै बीएआइसी ग्रुप अन्तर्गतको बीएआइसी र आर्कफक्स ब्राण्ड तथा चेरी ग्रुप अन्तर्गतको जेटोर ब्राण्ड लन्च गर्ने तयारी गरेको थियो । बीएआइसी ग्रुपका उत्पादन बजारमा आएपनि जेटोर ब्राण्ड लन्च हुन सकेन । भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि अझै केही समय यसको लन्चिङ नहुने भएको छ । यस्तोमा नयाँ गाडी लन्च गर्ने योजना, आर्कफक्स र बीएआइसीमा उपभोक्ताले देखाएको चासो र भन्सार नाकामा भएको विनासपछिको सप्लाई चेन कसरी दुरुस्त राख्ने लगायत विषयमा कम्पनीका महाप्रबन्धक दीपक थपलियासँग मेरोअटोले गरेको कुराकानीको सम्पादित अंश :

नाइमा र नाडा दुवै अटो शो सकिए । उपभोक्ताको प्रतिक्रिया कस्तो पाउनु भयो ?

अटो शोको सुरूआती प्रतिक्रिया निकै उत्साहजनक रह्यो । हामी अटो शोलाई एक प्रकारको ‘आइस ब्रेकिङ सेसन’का रूपमा लिनेगर्छौं । अटो शो दशैं,तिहार सुरू हुनुअघि अटोमोबाइलप्रेमी, सम्भावित ग्राहक, व्यवसायी, विद्यार्थी, युवा तथा नयाँ प्रविधिमा रुचि राख्ने मानिसहरूलाई एकै ठाउँमा ल्याउने राम्रो अवसर हो ।

बजारमा एक करोड रुपैयाँ आसपासको मूल्यमा लाइफस्टाइल, अफरोड क्षमता, आधुनिक डिजाइन र हाइब्रिड प्रविधि भएको गाडीमा धेरै विकल्प थिएनन् ।

अवलोकनकर्ताहरूमा नयाँ गाडी, नयाँ ब्राण्ड र नयाँ प्रविधिप्रति निकै उत्साह देखियो । विभिन्न ब्राण्डका स्टलमा पुगेर गाडी हेर्ने, फिचर बुझ्ने र मूल्य तथा अफरबारे जानकारी लिनेहरूको संख्या राम्रो थियो । त्यही बीचमा भोटेकोसीमा भएको अप्रत्याशित घटनाका कारण उपभोक्ताको मनोविज्ञानमा केही असर परेको छ । ठूलो उत्साह बजारमा देखिँदैन । यो देशको समग्र आर्थिक तथा सामाजिक वातावरणले गर्दा भएको हो ।

गाडी किन्न आउने ग्राहक सबैले अटो शोमै बुकिङ गर्छन् भन्ने होइनन् । धेरैले गाडी हेर्छन्, ब्राण्ड तुलना गर्छन्, कर्जाको बारे बुझ्छन् । त्यसपछि पारिवारिक सल्लाह गरेर निर्णय गर्छन् । त्यसैले अटो शोको वास्तविक ‘कन्भर्जन’ केही दिन वा केही सातापछि देखिन थाल्छ ।

अटो शो सकिएको एक हप्ताभन्दा बढी समय भयो । कस्तो छ चहलपहल ?

अघिल्ला वर्षहरूमा तीजको आसपासमा अटो शो आयोजना हुन्थ्यो । यसवर्ष अल्ली अगाडि नै भयो । त्यसैले तीजबाट चाडपर्व सुरू भएको मानिन्छ । दशैं-तिहारमा नयाँ गाडी किन्ने नेपाली ग्राहकको परम्परा छ । देशमा यति ठूलो विपत्ति भएको कारण पनि चहलपहल कम भए जस्तो लाग्छ ।

तपाईंहरूले बीएआईसी र आरफक्स ब्रान्डलाई अटो शोमार्फत प्रस्तुत गर्नुभयो । ग्राहकको प्रतिक्रिया कस्तो रह्यो ?

बीएआईसी ब्राण्डमा धेरैले राम्रो प्रतिक्रिया पायौं । हाइब्रिड र अफरोड क्षमतायुक्त गाडीले फरक किसिमको ग्राहकलाई आकर्षित गरेको देखियो । बजारमा एक करोड रुपैयाँ आसपासको मूल्यमा लाइफस्टाइल, अफरोड क्षमता, आधुनिक डिजाइन र हाइब्रिड प्रविधि भएको गाडीमा धेरै विकल्प थिएनन् । यस्तोमा बीजे-३० ले ग्राहकलाई नयाँ र राम्रो विकल्प दियो ।

आर्कफक्सको प्रतिक्रिया झनै उत्साहजनक छ । टी-१ को डिजाइनले मानिसहरूलाई तुरुन्तै आकर्षित गरेको देखिन्छ । यसमा डिजाइन, साइज, इन्टेरियर स्पेस र उपलब्ध फिचरको संयोजन राम्रो छ । ग्राहकले पाउने फिचर र त्यसको मूल्य बीच राम्रो सन्तुलन भएको महसुस गरेका छन् ।

हाम्रो ठूलो परिमाणमा गाडी बढीले बगाएको अवस्था छ । तथापि, हाम्रो साइडबाट सक्ने प्रयास गर्दैछौं । कोरोला नाकाबाट गाडी ल्याउने प्रयास सुरू भएको छ ।

विशेषगरी गाडीको आधुनिक डिजाइन र स्पेसियस इन्टेरियरले ग्राहकलाई धेरै आकर्षित गरेको छ । हाम्रो योजनाभन्दा राम्रो प्रतिक्रिया अबलोकनकर्ताबाट आयो । त्यही अनुसारको बुकिङ पनि भयो ।

बुकिङ राम्रो भएका गाडी डेलिभरीमा समस्या आउने अवस्था त छैन ?

हामीसँग गाडीको तयारी थियो । केही गाडी नेपाल आइसकेका थिए । थप गाडी आउने प्रक्रियामा थिए । तर, दुर्भाग्यवश भोटेकोसीमा आएको महाविपत्तिले आपूर्ति शृंखलामा प्रभाव पारेको छ । हाम्रो ठूलो परिमाणमा गाडी बढीले बगाएको अवस्था छ । तथापि, हाम्रो साइडबाट सक्ने प्रयास गर्दैछौं । कोरोला नाकाबाट गाडी ल्याउने प्रयास सुरू भएको छ ।

लक्ष्मी मोटरहबले जेटोर ब्राण्ड पनि लन्च गर्ने तयारी गरेको थियो । कहाँ समस्या भयो ?

अटो शोमा नै जेटोर लन्च गर्ने योजना थियो । त्यही अनुसारको तयारी पनि गरेका थियौं । तर, केही प्राविधिक कारण आइपुगेन । तर, भदौ १० गतेको बाढीले नेपाल आइरहेका सबै जेटोरका गाडी बगायो । अब हामी जेटोरलाई केही समयपछि लन्च गर्छौ ।

एउटा नयाँ नाका वा मार्ग सञ्चालन गर्न सडक मात्र पर्याप्त हुँदैन । त्यहाँ भन्सार पूर्वाधार चाहिन्छ । पर्याप्त जनशक्ति चाहिन्छ । व्यवस्थापन प्रणाली, भन्सार याड र पार्किङ चाहिन्छ ।

जेटोर ब्राण्डलाई बजारको नियमित प्रक्रियाभन्दा ‘फरक ढंगले स्थापित गर्ने’ हाम्रो योजना छ । अन्तर्राष्ट्रिय बजारमै हेर्नुभयो भनेपनि जेटोर अलग पहिचान सहितको ब्राण्ड भएको छ । अहिले हाम्रो बजारमै पनि ३०–३५ वटा नयाँ ब्रान्ड छन् । यस्तोमा केवल गाडी ल्याएर ब्राण्ड स्थापित हुँदैन । गाडीको उपलब्धता, स्पेयर पाट्र्स, बिक्रीपछिको सेवा, डेलिभरी क्षमता र दीर्घकालीन व्यवसायिक योजना बनाउनु पर्छ । त्यसैले सही रणनीतिसहित केही समयपछि जेटोरलाई बजारमा ल्याउँछौं ।

चीनबाट गाडी ल्याउनै समस्या देखियो । आपूर्ति शृंखलामा रहेका मुख्य समस्या के देख्नुहुन्छ ?

नेपालले भोग्नु परेको ठूलो समस्या भनेकै ‘सप्लाई चेन’को हो । हामी कुनै एउटा सडक बन्द भयो वा कुनै नाका प्रभावित भयो भने त्यसको असर एउटा क्षेत्र वा एउटा व्यवसायमा मात्र पर्छ भन्ने सोच्छौं । आधुनिक अर्थतन्त्रमा त्यसको असर ‘चेन’मै हुन्छ ।

कपडा व्यवसाय, खाद्य सामग्री, निर्माण सामग्री, अटोमोबाइल, इलेक्ट्रोनिक्सदेखि दैनिक उपभोग्य वस्तुसम्म सबै एउटै आपूर्ति शृंखलासँग जोडिएका हुन्छन् । एउटा ठाउँमा सृजना भएको अवरोधले क्रमशः अर्को व्यवसायलाई पनि असर गर्न थाल्छ । विश्व अर्थतन्त्रमा हामीले यही कुरा देखिरहेका छौं । कुनै देशमा युद्ध हुँदा तेलको मूल्य बढ्छ र त्यसको असर विश्वभर पुग्छ । अहिले हामीले भोगिरहेकै छौं ।

यसले बजारमा मूल्य बढ्न सक्छ । डेलिभरी ढिलो हुन सक्छ । बजारमा अभाब सृजना हुनसक्छ । जहाँसम्म अटोमोबाइल क्षेत्रमा पर्ने असर छ, त्यो त प्रत्यक्ष नै हुन्छ ।

नेपालको व्यापारिक आपूर्ति प्रणाली सीमित क्षमतामा आधारित छ । सामान्य अवस्थामा कन्टेनर, ट्रक, गोदाम र सडकको एउटा निश्चित चक्र हुन्छ । चीनबाट सामान आउँछ, भन्सार प्रक्रिया पूरा हुन्छ । काठमाडौं वा अन्य बजारमा पुग्छ । सामान अनलोड हुन्छ र कन्टेनर फेरि अर्को चक्रका लागि फर्किन्छ । त्यो निश्चित अवधिमा चलिरहेको हुन्छ । कुनै स्थानमा यो चक्र अवरुद्ध भयो भने त्यसले प्रणालीमै दबाब सृजना गर्छ ।

वैकल्पिक नाका वा सडक प्रयोग गरेर समस्या समाधान गर्न सकिँदैन ?

वैकल्पिक मार्ग आवश्यक हुन्छ । तर वैकल्पिक मार्गको घोषणा गर्दैमा समस्या समाधान हुँदैन । एउटा नयाँ नाका वा मार्ग सञ्चालन गर्न सडक मात्र पर्याप्त हुँदैन । त्यहाँ भन्सार पूर्वाधार चाहिन्छ । पर्याप्त जनशक्ति चाहिन्छ । व्यवस्थापन प्रणाली, भन्सार याड र पार्किङ चाहिन्छ ।

मानौं कुनै नाकाले दैनिक २०–३० वटा गाडी मात्र व्यवस्थापन गर्न सक्छ । अचानक सयौं कन्टेनर त्यहाँ आए भने झन् ठूलो जाम सिर्जना हुन्छ । वैकल्पिक मार्गलाई पूर्ण क्षमतामा चलाउन लामो तयारी चाहिन्छ । आजको भोलि त्यो सम्भव हुँदैन ।

यसको असर अटोमोबाइल क्षेत्र कस्तो पर्छ ?

यसको असर अटोमोबाइलमा मात्र सीमित हुँदैन । दशैं–तिहारमा हरेक वस्तुको बजारमा माग बढ्छ । गाडी, मोटरसाइकल, स्पेयर पाट्र्सदेखि खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, लसुन, अदुवा र अन्य दैनिक उपभोग्य वस्तु सबैको आपूर्ति आवश्यक हुन्छ ।

चीनसँग व्यापार गर्ने नाका कुनै पनि दिगो देखिँदैन । त्यसैले गाडीको फ्रेटमा लाग्ने कर मात्रै हटाउने हो भने सामुन्द्रिक मार्ग भएर नै गाडी आउथे ।

चाडपर्वकै लागि भनेर व्यवसायीले ल्याउन लागेको सामान पनि बाटोमा अड्किन सक्छ । यसले बजारमा मूल्य बढ्न सक्छ । डेलिभरी ढिलो हुन सक्छ । बजारमा अभाब सृजना हुनसक्छ । जहाँसम्म अटोमोबाइल क्षेत्रमा पर्ने असर छ, त्यो त प्रत्यक्ष नै हुन्छ । ग्राहकले गाडी बुकिङ गरेपछि कम्पनीले समयमा डेलिभरी दिन सक्नुपर्छ । तर गाडी नै समयमा आउन सकेन भने कसरी दिन सकिन्छ ? व्यवसायमा एउटा महत्वपूर्ण शब्द हुन्छ, ‘लिड टाइम’ । त्यो अर्डर गरेको सामान बजारसम्म पुग्न लाग्ने समय हो । यो समय बढ्नु भनेको व्यवसायको लागत बढ्नु हो । यसले ब्यापरको लागत बढाउँछ । उपभोक्तामा थप भार पर्छ ।

यो समस्याको दीर्घकालीन समाधानका लागि सरकारको भूमिका कस्तो हुनुपर्छ ?

मेरो व्यक्तिगत विचारमा सरकारले केही ठाउँमा दीर्घकालीन सोचका साथ निर्णय गर्नुपर्छ । कहिलेकाहीँ तत्काल राजस्व वा अन्य स्वार्थभन्दा देशको दीर्घकालीन आपूर्ति सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छ ।

नेपाल एउटा वा दुईवटा प्रमुख व्यापारिक मार्गमा अत्याधिक निर्भर छ । यस्तो अवस्थामा कुनै प्राकृतिक विपत्ति, राजनीतिक समस्या वा सडक अवरोधले सम्पूर्ण अर्थतन्त्रलाई प्रभावित गर्न सक्छ ।

त्यही चीनबाट आउने पार्ट्सहरु समुन्द्रबाटै आउँछ । किनभने पार्ट्सको भाडामा कर तिर्नु पर्दैन ।

हामीले हाम्रो स्रोत, क्षमता र सीमिततालाई बुझेर योजनाबद्ध रूपमा काम गर्नुपर्छ । जहाँसम्म अहिले भोटेकोसीको बाढीमा परेका सयौं कन्टेनर र नयाँ गाडीको सवाल छ, त्यसलाई ठिक गर्न नयाँ नीति चाहिन्छ । अहिले व्यवसायीहरूले नयाँ गाडीको फ्रेट (freight)मा पनि कर तिर्नु पर्ने भएको कारण कम खर्चमा गाडी ल्याउने मार्ग रोजेका छन् । चीनसँग व्यापार गर्ने नाका कुनै पनि दिगो देखिँदैन । त्यसैले गाडीको फ्रेटमा लाग्ने कर मात्रै हटाउने हो भने सामुन्द्रिक मार्ग भएर नै गाडी आउथे ।

समुद्रको बाटो भएर गाडी ल्याउँदा करिब ३०० देखि ५०० डलर बढी भाडा लाग्छ । त्यसमा पनि कर लाग्दा गाडी महँगो पर्ने भएको कारण पैदल मार्गबाट गाडी आयात भइरहेको छ । तर, त्यही चीनबाट आउने पार्ट्सहरू समुद्रबाटै आउँछ । किनभने पार्ट्सको भाडामा कर तिर्नु पर्दैन ।

हामीले गाडीहरू सामुन्द्रिक मार्गबाट ल्याउन सकेको खण्डमा ठूलो जोखिम कम गर्न सक्छौं । चीनपटिको नाकाबाट खाद्यान्न, धार्मिक पर्यटक र अन्य गतिविधि संचालनमा सहज हुन्छ । यो कुरा सरकारले समयमा सोचेको खण्डमा दीर्घकालीन फाइदा लिन सकिन्छ । हाम्रो सप्लाई चेन बिग्रदैन ।


Back_to_top