हेटौंडा-नारायणगढ सडक ४ लेनको बनाइँदै, ठेक्का आह्वान

सांकेतिक तस्बिर

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा-नारायणगढ ७० किलोमिटर सडक स्तरोन्नति प्रक्रिया अघि बढेको छ ।

सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी)ले पथलैया-हेटौंडा-नारायणगढ १०० किलोमिटर सडकमध्ये पहिलो चरणमा हेटौंडा-नारायणगढ खण्डकाे ७० किमी विस्तार तथा स्तरोन्नतिका लागि ग्लोबल टेन्डर आह्वान गरेको हो ।

एशियाली विकास बैंक (एडीबी) को वित्तीय सहयोगमा संचालित ‘साउथ एसिया सबडिजिनल इकोनोमिक कोअपरेसन हाइवे इम्प्रुभमेन्ट एण्ड इकोसिस्टम रेस्टोरेसन प्रोजेक्ट’ अन्तर्गत यो सडकखण्डको स्तरोन्नति गर्न लागिएको हो ।

आयोजनाले पहिलो चरणको हेटौंडा-नारायणगढ ६९.९२ किमी सडकलाई ३ प्याकेजमा विभाजन गरी ठेक्का आह्वान गरेको हो । जसमा पहिलो प्याकेज पथलैया-लोथर-हेटौंडा-नारायणगढ खण्डको चेनिज ३९७+४०० देखि ४३७+३२० सम्म (३९.९२ किमी), दोस्रो प्याकेज चेनिज ४३७+३२० देखि ४६३+५०० सम्म (२६.१८ किमी) र तेस्रो प्याकेज अन्तर्गत ४६३+५०० देखि ४६७+३२० सम्म (३.८२ किमी) रहेको छ ।

हाल दुई लेनको रहेको यो सडकलाई कम्तीमा चार लेनमा विस्तार गर्न लागिएको हो। आयोजनाको डिजाइन अनुसार यो सडक कुल चौडाइ ५० मिटरसम्म रहने छ । हेटौंडा बजार क्षेत्रमा भने करिब ४५.८ मिटर चौडाइ रहनेछ । अर्धसहरी क्षेत्रमा सडकको चौडाइ ३७.४ मिटर र ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर फराकिलो हुनेछ । सहरी क्षेत्रमा सर्भिस लेनसहित ८, अर्धसहरी क्षेत्रमा ६ र अन्यत्र ४ लेनको हुनेछ ।

इच्छुक कम्पनीले असोज २६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । निर्माण व्यवसायीहरूले कुनै एक वा एकभन्दा बढी (सबै) प्याकेजका लागि आवेदन दिन सक्नेछन्। बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने एडीबी निर्देशनालयले जनाएको छ ।


Back_to_top