काठमाडौं । स्कोडा अटो र जेएसडब्ल्यू बीच एक सम्झौता भएको छ । यी दुई कम्पनीले भारतमा रणनीतिक साझेदारी गर्दै अगाडि बढ्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
यी दुवै कम्पनी भारतमा सवारीसाधन विकास, उत्पादन र बिक्री वितरणमा काम गर्दै आएका छन् । त्यसैले भोलिका दिनमा यी दुई कम्पनी मिलेर नयाँ कम्पनी बनाउन आधार तयार गर्न सहमत भएका हुन् ।
अहिलेसम्म यी दुई कम्पनी बीच भएको सम्झौता अनुसार स्कोडाको इन्जिनियरिङ तथा उत्पादन क्षमता र जेएसडब्ल्यू समूहको भारतस्थित उत्पादन पूर्वाधार तथा औद्योगिक क्षमता दुवैले उपयोग गर्ने कुरा पुष्टि भएको छ । साथै, भोलि यी दुई कम्पनी मिलेर बनाउने गाडी भारतीय बजारसँगै निर्यातका लागि पनि हुने कुरा समझदारी बनेको हो ।
यी दुई कम्पनी मिलेर पेट्रोलियम पदार्थबाट चल्ने कार उत्पादन गर्ने, ईभीको विकास गर्ने, प्लग–इन हाइब्रिड र हाइब्रिड गाडीहरू बनाउने कुरामा सहमति भएको छ ।
अहिले भएको समझदारी गैरबाध्यकारी हो । जेएसडब्ल्यूका अनुसार दुवै कम्पनी प्रारम्भिक छलफलमै रहेको र अन्तिम निष्कर्ष आउन समय लाग्नेछ ।
यी दुई कम्पनीको साझेदारी बलियोसँग अगाडि बढेमा फक्सवागन समूहको भारत लक्षित ‘इन्डिया मेन प्लेटफर्म’मा आधारित विद्युतीय सवारी विकास तिब्र हुने अनुमान छ ।
त्यसैगरी जेएसडब्ल्यू मोटर्सको छत्रपति सम्भाजीनगरमा निर्माणाधीन प्लान्टलाई प्रयोग गर्ने र स्कोडा कोडियाक स्थानिय स्तरमै उत्पादन गर्ने योजना दुबैले बनाएका छन् ।
अन्तिम जेभी गठन भएमा यसको नाम, लगानी संरचना, उत्पादन योजना र मोडलसम्बन्धी थप विवरण आगामी महिनामा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।


