काठमाडौं । सिम्पल इनर्जीले भारतमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा नयाँ इलेक्ट्रीक स्कुटर सिम्पल वेभको बिक्री सुरू गरेको हो ।
कम्पनीले विभिन्न भेरियन्टमा बजारमा उपलब्ध गराएको सिम्पल वेभ स्कुटरको सुरूआती मूल्य १ लाख १० हजार भारु (एक्स शोरुम) तोकिएको छ । स्कुटरको डेलिभरी भने यही महिनाको अन्तिमबाट सुरू हुने बताइएको छ ।
सिम्पल इनर्जीले नयाँ स्कुटरलाई ब्याट्री क्षमता र फिचरका आधारमा भेरियन्ट छ्ट्याएर ल्याएको हो । जुन वेभ एस ईबीएन, वेभ एस टीएफटी, वेभ ईबीएन, वेभ टीएफटी र वेभ प्लस गरी ६ भेरियन्टमा पाइन्छ ।
स्कुटरमा भेरियन्ट अनुसार ब्याट्रीप्याक २.२ किलोवाट आवर, २.७ किलोवाट आवर, ३.७ किलोवाट आवर र ५ किलोवाट आवर क्षमताको पाउन सकिन्छ । यी ब्याट्रीले फुल चार्जमा क्रमशः ११० किलोमिटर, १३२ किलोमिटर, १७१ किलोमिटर र २४३ किलोमिटरसम्मको आइडीसी रेन्ज दिन्छ ।
ट्युबुलर स्टिल फ्रेममा निर्माण भएको यस स्कुटरमा पीएमएसएम मोटर र चेन ड्राइभ सिस्टम छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा ७० लिटरको स्टोरेज, राइडिङ मोड, फ्रन्टमा टेलिस्कोपिक फोर्क, रियरमा डुअल शक एब्जर्बर, फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक दिइएको छ ।
मोडल अनुसार स्कुटरमा फरक फरक फिचरहरू पाइन्छ । स्कुटरमा टीएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टर्न-बाई-टर्न नेभिगेसन, जीपीएस ट्र्याकिङ, ट्रयाक्सन कन्ट्रोल, रिजेनेरेटिभ ब्रेकिङ, हिल होल्ड असिस्ट, रिभर्स मोड, ओटीए अपडेट लगायतका फिचरहरू छन् ।


