काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई २ लाख रिङ्गिट (करिब ७४ लाख रुपैयाँ) बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ ।
कम्पनीले हालै रसुवास्थित भोटेकोसीमा आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरेको हो ।
विपद्का बेला प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले ड्रोन उपलब्ध गराइएको प्रोटोनले जनाएको छ । विशेषगरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुने कम्पनीले जनाएको छ ।
मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी नाडमा (एनएडिएमए) ले यसको व्यवस्थापन तथा समन्वय गरेको हो । कम्पनीका अनुसार, ड्रोनहरू सुरूमा मलेसियास्थित स्पेसल मलेसिया डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिम स्मार्ट (एसएमएआरटी) को मुख्यालयमा नाडमा (एनएडिएमए) लाई हस्तान्तरण गरिएका थिए ।
मलेसियाको मानवीय सहायता तथा विपद् उद्धार अभियानअन्तर्गत हाल नेपालमा खटिएको स्मार्ट(एसएमएआरटि) को टोली द्वारा ड्रोन नेपालसम्म ल्याउने व्यवस्था मिलाइएको थियो । यी ड्रोन नेपाल सरकारका लागि प्रदान गरिएका र नेपाल सरकारकै स्वामित्वमा रहने पनि उल्लेख गरिएको छ ।
ड्रोन हस्तान्तरण समारोहमा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ र नाडमा (एनएडिएमए) का महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकीमको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रोटोनका प्रमुख कार्यकारी अधिकृत एडमन्डले विपद्का बेला प्रभावित क्षेत्रको स्पष्ट अवस्थाबारे जानकारी लिन ड्रोनले महत्वपूर्ण सहयोग पुर्याउने बताए । उनका अनुसार हालको मानवीय सहयोगसँगै यसले नेपालको दीर्घकालीन विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । साथै, नेपालमा प्रयोग गर्नुअघि स्मार्ट(एसएमएआरटि) को टोलीले सम्बन्धित नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालन सम्बन्धी आवश्यक तालिम दिइने पनि उनले बताए ।
नेपालमा प्रोटोनका सवारी साधन जगदम्बा मोटर्सले बिक्री वितरण गर्दै आएको छ । जगदम्बा मोटर्सले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ नगद योगदान गर्दै विपदको घडीमा नेपालप्रति आफ्नो प्रतिबद्धता जनाएको छ । साथै अन्य जिन्सी सहयोगहरू पनि गरिरहेको छ ।
प्रोटोन र जगदम्बा मोटर्सबीचको सहकार्यले चुनौतीपूर्ण समयमा नेपालीको साथ उभिने र राष्ट्रिय राहत तथा पुनरुत्थानमा योगदान पुर्याउने साझा प्रतिबद्धता झल्काउँछ ।


