काठमडौं । पूर्ण रूपमा स्टेयरिङ ह्वील, एक्सीलेटर/ब्रेकका पेडल र ऐनाविहीन भनेर प्रचार गरिएको टेस्लाको बहुचर्चित रोबोट्याक्सी ‘साइबरक्याब’मा म्यानुअल तरिकाले गाडी चलाउन मिल्ने लुकाइएको फिचर भेटिएको छ ।
सेप्टेम्बर ७ मा म्याथ्यू स्क्रजिप्चाक नामक एक यात्रुले सामाजिक संजाल एक्समा भिडियो सार्वजनिक गर्दै आफ्नो यात्राका क्रममा साइबरक्याबको मुख्य स्क्रीनमा अनौठो म्यानुअल इन्टरफेस देखिएको खुलासा गरेका हुन् ।
उनले आफू गाडीमा चढ्दा टचस्क्रीनमा हातले गाडी चलाउन मिल्ने एउटा भर्चुअल जोइस्टिक देखिएको बताएका छन् । ‘म गाडीमा चढ्दा डिस्प्ले फरक रूपमा खुलेको थियो र त्यसमा म्यानुअल ड्राइभिङका लागि भर्चुअल जोइस्टिक देखिन्थ्यो,’ उनले लेखेका छन्, ‘मलाई मैले यो नदेख्नुपर्ने हो भन्ने लाग्यो । तर पनि मैले त्यसबाट गाडी चलाउने प्रयास गरेँ,’ उनले लेखेका छन् ।
सार्वजनिक भिडियो अनुसार साइबरक्याबको मुख्य स्क्रीन दुई भागमा बाँडिएको थियो । देब्रेतिर अनस्क्रीन जोइस्टिकसहितको ड्राइभिङ इन्टरफेस छ, जहाँ ‘गाडीको ढोका बन्द गर्नुहोस्’ भन्ने मेसेजका साथै ढोका खोल्ने र सपोर्टमा कल गर्ने बटनहरू छन्। दाहिनेतिर पार्किङमा राखिएको गाडीको प्रत्यक्ष सराउन्ड क्यामेरा भ्यू देखिन्छ ।
अटोमोबाइल विज्ञहरूका अनुसार कुनै प्राविधिक समस्या वा आकस्मिक अवस्थामा गाडी यताउता सार्न वा साँघुरो ठाउँबाट निकाल्नुपर्दा प्राविधिकहरूले प्रयोग गर्न सकून् भनेर टेस्लाले यो ‘सफ्टवेयर बेस्ड’ म्यानुअल कन्ट्रोल प्रणाली विकास गरेको हो। यद्यपि, टेस्लाले भने यो मोड सार्वजनिक रूपमा कहिल्यै देखाएको थिएन ।
अमेरिकी सडक सुरक्षा निकायद्वारा छानबिन सुरू
टेस्लाले सेप्टेम्बर ३ बाट टेक्सासको अस्टिनमा साइबरक्याबको व्यावसायिक सेवा सञ्चालनमा ल्याएको थियो। तर, सेवा सुरू भएकै दिन अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले यसको प्रमाणीकरण माथि औपचारिक अनुसन्धान थालेको छ।
सडक सुरक्षाका लागि अनिवार्य मानिने स्टेयरिङ, पेडल र साइड ऐना नै नभएको गाडीलाई टेस्लाले कसरी सडकमा गुडाउन योग्य ठहर गर्यो र सुरक्षा मापदण्डहरू उल्लङ्घन भयो कि भएन भन्ने विषयमा करिब १,००० वटा साइबरक्याब माथि नियमनकारी निकायले सूक्ष्म अध्ययन गरिरहेको छ।


