काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि उक्त रकम सहयोग गरेको हो ।
इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
अगस्ट २६ मा नेपाल चीन सीमाक्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।
विपद्का कारण जनधनको क्षतिसँगै घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ । बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्य जारी रहेका छन् भने बेपत्ता व्यक्तिहरूको खोजीसमेत निरन्तर भइरहेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको आर्थिक योगदानसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पुर्याएको छ । यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका वार्ड न-९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराइएको छ ।
प्रत्यक्ष राहत सहयोगअन्तर्गत प्रभावित परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरिएको हो । विपद्पछिको कठिन परिस्थितिमा दैनिक जीवन सञ्चालनका लागि आवश्यक आधारभूत सामग्री उपलब्ध गराउँदै प्रभावित परिवारलाई तत्काल राहत पु¥याउनु यस पहलको मुख्य उद्देश्य रहेको थियो ।
इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टोम्स्कीले इनड्राइभ नेपाली समुदायको महत्वपूर्ण हिस्सा रहेकाले कठिन समयमा आफहरू जनाताको साथमा उभिएको बताए ।
‘नेपालमा आएको विनाशकारी बाढीले धेरै परिवार र समुदायलाई गम्भीर क्षति र कठिन परिस्थितिको सामना गर्न बाध्य बनाएको छ । आफ्ना प्रियजन, घर वा जीविकोपार्जनको आधार गुमाउनुभएका सबैप्रति हामी गहिरो संवेदना व्यक्त गर्दछौँ ।
नेपाल-इनड्राइभ समुदायको महत्वपूर्ण हिस्सा हो र यस्तो कठिन समयमा हामी नेपाली जनताको साथमा उभिन चाहन्छौँ । हाम्रो यो सहयोगले तत्काल सहायता आवश्यक रहेका प्रभावित परिवारसम्म आवश्यक सहयोग पु¥याउन तथा प्रभावित समुदायको पुनस्र्थापना र पुनर्निर्माणका प्रयासमा केही योगदान पुर्याउने विश्वास लिएका छौँ,’ उनले भने ।
इनड्राइभले भोटेकोशी विपद्मा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, अझै बेपत्ता आफन्तको खबरको प्रतीक्षामा रहेका परिवार तथा विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता जनाउँदै यस कठिन समयमा उनीहरूसँगै रहेको जनाएको छ ।


