होण्डाका दुई नयाँ मोटरसाइकल र स्कुटर बिक्री सुरू

काठमाडौं । होण्डा इन्डियाले भारतीय बजारमा नयाँ मोटरसाइकल र स्कुटर सार्वजनिक गरेको छ । होण्डाले अल न्यु मोडलका रूपमा क्रुजर सेग्मेन्टको रेबेल ३०० मोटरसाइकल र १६० एड्भेन्चर स्कुटर बिक्री सुरू गरेको हो ।

कम्पनीले भारतीय बजारमा होण्डा रेबेल ३०० मोटरसाइकलको मूल्य २ लाख २२ हजार भारु र १६० एड्भेन्चर स्कुटरको १ लाख ७० हजार भारु (एक्स शोरुम) तोकेको छ । कम्पनीले बुकिङ खुलाएको यी दुवै मोडलको डेलिभरी अक्टोबर महिनादेखि सुरू हुनेछ ।

होण्डाले नयाँ एड्भेन्चर स्कुटरलाई म्याक्सी-स्कुटर शैलीमा डिजाइन गरेको छ । स्कुटरमा एलईडी हेडलाइट, ५ इन्चको कलर टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी तथा होण्डा रोडसिंक जस्ता फिचर उपलब्ध छन् ।

सुरक्षाका लागि यसमा सिंगल च्यानल एबीएस, अगाडि र पछाडि दुवै टायरमा डिस्क ब्रेक तथा होण्डा सेलेक्टेबल टर्क कन्ट्रोल दिइएको छ ।

होण्डा एड्भेन्चर स्कुटरमा १५६.९३ सीसीको सिंगल-सिलिण्डर, लिक्विड-कुल्ड इन्जिन जडान गरिएको छ । यो इन्जिनले अधिकतम १६.३ पीएस पावर र १४.९ एनएम टर्क उत्पादन गर्छ । इन्जिनलाई सीभीटी अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ । यसको सबैभन्दा ठूलो विशेषता इ-८५ फ्लेक्स-फ्युल क्षमता हो ।

प्रपर क्रुजर सेग्मेन्टमा आधारित रेबेल ३०० मा २८६ सीसी सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम ३० पीएस पावर र २७.५ एनएम टर्क उत्पादन गर्छ । यसमा ६-स्पीड गियरबक्स छ ।

बबर डिजाइनमा तयार गरिएको मोटरसाइकलमा गोलो एलईडी हेडलाइट, एलईडी लाइटिङ, टीएफटी डिस्प्ले, होण्डा रोडसिंक, कनेक्टिभिटी सिस्टम, टर्न-बाइ-टर्न नेभिगेसन जस्ता फिचर उपलब्ध छन् । यसको ई-क्लच भेरियन्टमा क्लच लिभर प्रयोग नगरी गियर परिवर्तन गर्न सकिने सुविधा रहेको छ ।

यसमा डुअल-च्यानल एबीएस, दुवै टायरमा डिस्क ब्रेक, अलोय ह्वील, टेलिस्कोपिक फोर्क र रियर ट्विन सक अब्जर्बार दिइएको छ ।


Back_to_top