काठमाडौं । रोयल इनफिल्डको बहुप्रतिक्षित नयाँ हिमालयन ४४० मोटरसाइकल सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा नयाँ हिमालयन ४४० काे सुरूआती मूल्य २ लाख २९ हजार भारु (एक्स शोरुम) तोकेर बिक्री सुरू गरेको हो ।
कम्पनीले नयाँ मोटरसाइकल हिमालयन ४५० भन्दा निकै सस्तो मूल्यमा बजारमा उपलब्ध गराएको हो ।हिमालयन ४५० को सुरूआती मूल्य ३ लाख भारु माथि छ ।
नयाँ हिमालयन ४४० ले १० वर्षअघि बजारमा आएको हिमालयन ४११ कै झल्को दिन्छ । यो मोटरसाइल नयाँ इन्जिनमा आएको छ । अन्य फिचरहरु भने परिवर्तन गरिएको छैन ।
नयाँ हिमालयन ४४० रोयल इनफिल्डको स्क्रयाम ४४० मोटरसाइकलकै जे सिरिज इन्जिन प्लेटफर्ममा आधारित छ । यसमा ४४३ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, एफआई सेर्पा इन्जिन छ । जुन स्क्रयाम ४४० मा प्रयोग गरिएको इन्जिन हो । यसले अधिकतम २५.४ पीएस पावर तथा ३४ न्युटन मिटर टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।
हिमालयन ४४० मा गोलाकार ओआरभीएम, अग्लो विन्डस्क्रीन, एलईडी हेडलाइट, डिजिटल एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, ट्रिपर नेभिगेसन पोड र टाइप सी यूएसबी चार्जिङ पोर्ट दिइएको छ ।
सुरक्षाका लागि अगाडि पछाडि नै डिस्क ब्रेक र डुअल च्यानल एबीएस उपलब्ध छ । रियर एबीएसलाई आवश्यकता अनुसार स्विच गर्न सकिन्छ । साथै, वायर स्पोक ह्वील र अफरोडमा सहजता प्रधान गर्ने लामो ट्राभल सस्पेन्सन सेटअप रहेको छ । जसमा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक सस्पेन्सन पाइन्छ ।
हाफ डुप्लेक्स स्प्लिट क्र्याडल फ्रेममा रहेको यो मोटरसाइकलमा लामो दूरीको यात्राका लागि सहज हुने प्यानियर, टप बक्स, टुरिङ सिट, ह्यान्डगार्ड र इन्जिन प्रोटेक्शन सामग्री समावेश गरिएको छ ।
४४० हिमालयन साधारण प्रयोगमैत्री ओडबल स्टाइल डिजाइनमा छ । पुराना हिमालयन प्रयोगकर्ताले खोजेको पुरानोको जस्तै सहज र टर्की अनुभव हिमालयन ४४० ले फर्काउने अपेक्षा गरिएको छ ।


