काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड भोलि (भाद्र २२ गते)देखि दिउँसोमा आंशिक रूपमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै तुइन खोलाको माटो कटान गर्न दिउँसोमा ५ चरणमा सडक बन्द गरिने जानकारी गराएको हो ।
हाल मुग्लिन-काठमाडौं सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम भइरहेकाले नारायणगढ-मुग्लिन सडकमा सवारी चाप कम छ । सोही मौकालाई सदुपयोग गर्दै तुइनखोलामा माटो कटान गर्न लागिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार बिहान ६ बजेदेखि हरेक २ घण्टा सडक बन्द भएर आधा घण्टाका लागि खुला रहने छ । बिहान ६:०० देखि ८:०० बजेसम्म सवारी आवगमन बन्द गरेर ८:०० देखि ८:३० बजेसम्म खुला गरिने छ ।
त्यस्तै, बिहान ८:३० देखि १०:३० बजेसम्म बन्द गरी १०:३० देखि ११:०० बजेसम्म खुलाइने छ । त्यसैगरी, बिहान ११:०० देखि दिउँसो १:०० बजेसम्म बन्द गरी १:०० देखि १:३० बजेसम्म सवारी चल्न दिइने छ ।
दिउँसो १:३० देखि ३:३० बजेसम्म बन्द भई ३:३० देखि ४:०० बजेसम्म खुला रहनेछ भने अन्तिम चरणमा दिउँसो ४:०० देखि साँझ ६:०० बजेसम्म सवारी बन्द गरिनेछ । साँझ ६:०० बजेपछि भने सवारी साधन नियमित रूपमा संचालन हुने प्रशासनले जनाएको छ ।
तोकिएको तालिकालाई मध्येनजर गर्दै सवारी संचालन र यात्रा योजना बनाउन प्रशासनले सबैमा अनुरोध गरेको छ ।


