ईभीमा झुम्मिए भारतीय उपभोक्ता, अगस्टमा बिक्यो ३० हजार कार, कुन ब्राण्डको कति ?

काठमाडौं । छिमेकी देश भारतमा विद्युतीय कारको बिक्री तीव्र गतिमा विस्तार भएको छ । पछिल्लो १० महिनादेखि ईभी बिक्रीले रफ्तार लिएको हो ।

अगस्ट २०२६ को बिक्री तथ्यांक अनुसार ३० हजार ४१८ युनिट विद्युतीय कार बिक्री भएका छन् । जुन अघिल्लो वर्षको अगस्टको २० हजार ९५ युनिटको तुलनामा ५१ प्रतिशतले बढी हो । पछिल्लो ३ महिनादेखि लगातार मासिक ३० हजार युनिट माथिको बिक्री भइरहेको छ ।

मासमार्केट ईभी बिक्रीमा टाटा मोटर्सले आफ्नो अग्रता कायमै राखेको छ । कम्पनीले अगस्टमा १३ हजार ७० युनिट विद्युतीय कार बिक्री गर्दै ४३ प्रतिशत बजार हिस्सा आफ्नो पोल्टामा हालेको हो । अघिल्लो वर्षको तुलनामा टाटाको बिक्री ६२ प्रतिशतले बढेको छ ।

दोस्रो स्थानमा रहेको महिन्द्राले ६ हजार ४०८ युनिट ईभी बिक्री गरेको छ । उसको बिक्री ५५ प्रतिशत बढेको हो । विद्युतीय कारमा महिन्द्राको बजार हिस्सा २१ प्रतिशत पुगेको छ । महिन्द्रा भारतमा महँगो मूल्यका ईभी बिक्री गर्ने ब्राण्ड हो । महिन्द्रासँग बीई ६, एक्सईभी ९ई र एक्सईभी ९एस जस्ता मोडल छन् ।

जेएसडब्ल्यू एमजी मोटरले ४ हजार ६०२ युनिट बिक्रीसहित तेस्रो स्थानमा आफूलाई राखेको छ । कम्पनीको बिक्री अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत घटेको हो ।

यसैबीच, भारतमा नयाँ प्रवेश गरेको भिनफास्ट २ हजार १९८ युनिट बिक्रीसहित चौथो स्थानमा उक्लिएको छ । मारुती सुजुकीले १ हजार ४०५, हुन्डाईले ८०२, कियाले ६४० र बीवाईडीले ५४२ युनिट बिक्री गर्दै धेरै ईभी बिक्री गर्ने कम्पनीको सूचीमा छन् ।

लक्जरी ईभीमा बीएमडब्ल्यू अगाडि

भारतमा लक्जरी ईभीको बिक्री भने अगस्टमा ४ प्रतिशत घटेर ५४६ युनिटमा सीमित भएको छ । बीएमडब्ल्यूले २७३ युनिट बिक्री गर्दै अग्रता लिएको छ । मर्सिडिज–बेन्जले ११३ र टेस्लाले १११ युनिट बिक्री गरेका छन् ।

टेस्लाले लगातार दोस्रो महिना १०० युनिटभन्दा बढी बिक्री गरेको हो । भोल्भोले ३३, पोर्शेले १५ र जेएलआरले १ युनिट मात्रै बिक्री गरेका छन् । अगस्टमा भारतको लक्जरी ईभी बजारमा बीएमडब्ल्यूको हिस्सा ५० प्रतिशत, मर्सिडिजको २१ प्रतिशत र टेस्लाको २० प्रतिशत रहेको छ ।


Back_to_top