चीनबाहिर होङछी ईएचएस-४ को पहिलो बजार नेपाल : सुनिल क्षेत्रीको अन्तर्वार्ता

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पोबाट ‘होङछी’ ब्राण्ड नेपाल प्रवेश गरेको छ । नेपाल आएको होङछी ब्राण्ड कस्तो हो ? यसको मुख्य विशेषता के हो ? र नेपालमा कम्पनीले लिने रणनीति कस्तो हुन्छ भन्ने विषयमा एड्भान्स अटोमोबाइल प्रालिका जनरल मेनेजर सुनिलबहादुर क्षेत्रीसँग गरिएको कुराकानीको सम्पादित अंश :

होङछी ब्राण्ड चाहिँ कस्तो ब्राण्ड हो ?

यो चिनियाँ लग्जरी ब्राण्ड हो । होङछी विश्वकै पुरानो मध्येको एक अटोमोबाइल उत्पादक हो । होङछीको अर्थ ‘रेड फ्ल्याग’ हो । यो चिनियाँ समुदायमा गौरव गर्ने विषय हो । त्यसैले चिनियाँ राष्ट्रपतिको सवारीमा होङछी ब्राण्डनै प्रयोग हुँदै आएको छ । यो ब्राण्ड राष्ट्रपतिको अफिसियल कार भएको कारण पनि धेरैको ध्यान र चासो यो ब्राण्डमा देखिन्छ । चीनमा होङछीको कारहरू निकै प्रिमियम छन् ।

नेपालमा प्रबेश यति छिट्टो कसरी सम्भब भयो ?

एफएडब्लू ग्रुपले अन्तर्राष्ट्रिय बजारलाई पनि ध्यानमा राखेर नयाँ उत्पादनहरु बनाउन थालेसँगै हामीले होङछीका उत्पादन ल्याउने योजना बनायौं । अन्तर्राष्ट्रिय बजार त्यसमा पनि राइट ह्याण्ड ड्राइभमा ईएचएस-९ र ईएचएस-४ तयार भएको छ । यी दुवै मोडल नेपालमा बिक्री हुन्छ । अहिले नाइमा मोबिलिटी एक्स्पोमा भने ईएचएस-४ हामीले देखाएका छौं ।

ईएचएस-४ मोडल चीन बाहिर बिक्री थालिएको नेपाल पहिलो बजार हो । यसले चिनियाँ उत्पादकको नजरमा नेपालको बजार कति महत्वपूर्ण छ भन्ने देखाउँछ ।

ईएचएस-४ कस्तो मोडल हो ?

ईएचएस-४ क्रसओभर एसयूभी हो । साइजको आधारमा हेर्दा हामी यसलाई ४.५ मिटर सेग्मेन्टमा राख्छौं । मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ छ । अटो एक्स्पोमा बुकिङ गर्ने ग्राहकले २ लाख रुपैयाँ नगद छुट पाउनु हुनेछ । साथै, इन्स्योरेन्स पनि हामी नै दिन्छौं ।

यो एसयूभी फिचर लोडेड छ । ब्यूल्ट क्वालीटी पनि उत्कृष्ट छ । ठूलो ब्याट्री, लामो रेन्ज र सुरक्षामा सम्झौंता नभएको मोडल भएको कारण यसले बजारमा अलग पहिचान बनाउने देखिन्छ ।

गाडी राम्रो छ । ब्राण्ड नेम पनि बलियो छ । कडा प्रतिस्पर्धामा यसलाई बलियो कसरी बनाउन सकिन्छ होला ?

यो ब्राण्ड नै प्रिमियम हो । तर, प्रतिस्पर्धा त मान्नै पर्यो । उपभोक्तालाई बलियो सर्भिस दिने, उपभोक्ताको विश्वास जित्ने र अगाडि जाने हो । होङछीको गाइडलाइन अनुसार सर्भिस सेन्टर बनाउने काम भइरहेको छ । त्यहाँ काम गर्ने जनशक्ति पनि हामीले तयार पारिसकेका छौं ।

हामीले उत्कृष्ट प्रोडक्ट दिएका छौं । अटो शो सकिएपछि टेस्ट ड्राइभ सुरु गर्नेछौं । त्यसले अहिले बुकिङ गर्नेहरूलाई थप आस्वस्थ पार्नेछ ।


Back_to_top