अटो एक्स्पो गाडी बेच्ने मात्र होइन, मोबिलिटी सिक्ने ठाँउ पनि हो : गौरव सारडाको अन्तर्वार्ता

काठमाडौं । यही साउन २६ गतेबाट नाइमा मोबिलिटी एक्स्पो २०२६ सुरू हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोको यो दोस्रो संस्करण हो । चाडपर्वको मुखमै आयोजना हुने अटो एक्स्पोमा दर्जन बढी ब्राण्डले नयाँ उत्पादन बजारमा ल्याउँदैछन् ।

बैंक तथा वित्तिय संस्थादेखि बीमा कम्पनीहरूसम्म सहभागि हुने अटो एक्स्पोको तयारी, प्रदर्शनीमा सहभागि कम्पनीको योजना र उपभोक्तको अपेक्षालाई कसरी व्यवस्थापन गर्दैछन् भन्ने विषयमा एक्स्पो संयोजक गौरव सारडासँग मेरोअटोले गरेको कुराकानीको सम्पादित अंशः

अटो एक्स्पोको तयारी कहाँ पुग्यो ?

अहिले भृकुटीमण्डपमा स्टल निर्माणले गति लिइसकेको छ । प्रदर्शनीमा सहभागि कम्पनीहरूले आ-आफ्नो स्टल पाइसकेका छन् । यसको मतलब साउन २५ गते साँझसम्ममा हरेक स्टलमा गाडी बस्ने छ ।

अघिल्लो पटक अटो एक्स्पोमा धेरै नयाँ ब्राण्ड आएका थिए । यस पटक नयाँ मोडलको बढी लाग्दैछ भन्ने सुनिन्छ । कसरी लन्चिङको व्यवस्थापन गर्दै हुनुहुन्छ ?

पक्कै पनि धेरै उत्पादन बजारमा आउनेवाला छन् । त्यसैले हामीले हरेक प्रदर्शनीमा सहभागि कम्पनीसँग छलफल गरेर सकभर लन्चिङको समय नजुधाउने पक्षमा छौं । मिडियाको लागि समय छुट्याएर नै काम गर्दैछौं । चीनबाट गाडी आउने रसुवागढी र तातोपानी दुवै नाका पहिरोका कारण बन्द भइसकेका छन् । केही नयाँ गाडी आइपुग्न कठिन भइरहेको छ । हेरौं, आएका गाडीहरू मिलाएर लन्च गर्ने र धेरैभन्दा धेरै जानकारी उपभोक्तासम्म पुउर्याउने हाम्रो योजना छ ।

अटो एक्स्पो विगतदेखि नै गाडी बेच्ने ठाँउ भएको छ । यसपटक यसलाई बुझ्ने र सिक्ने स्थान बनाउन केही पहल हुन्छ ?

गाडी बिक्री गर्ने मात्रै कम्पनी मेलामा सहभागि छैनन् । यहाँ सर्भिस प्रोभाइडरहरू पनि हुन्छन् । केही चार्जिङ शोलुसन लिएर सहभागि हुँदैछन् । केही कम्पनी पार्किङ शोलुसन लिएर आउनु भएको छ । बोस्चले अटोमोटिभ सेक्टरमा के के नयाँ हुँदैछ भन्ने कुरा प्रदर्शनीमा राख्दै छ । त्यसैगरी ‘लर्निङ सेसन’ पनि सँगसँगै लगेका छौं । यसरी हेर्दा यहाँ गाडी बिक्री मात्रै हुँदैन । सिक्न र जान्न चाहनेको लागि धेरै कुरा उपलब्ध हुनेवाला छ ।

केही समस्याको कुरा गरौं । ईभी मोडल हरेक एक वर्षमा पुरानो भएको देखिन्छ । दोस्रो वर्ष लाग्दा नयाँ मोडलको कारण पुरानो गाडी नबिक्ने अवस्था छ । यसले समग्र स्पेयर पार्ट्स र सर्भिसको कस्तो समस्या आउला ?

राम्रो ब्राण्ड र उत्कृष्ट प्रोडक्टमा लगानी गर्दा समस्या हुँदैन । कम्पनीहरूको पनि बाध्यता छ । हरेक महिना केही न केही नयाँ आइरहेको छ । ठूला कम्पनीको पनि प्रोडक्ट साइकल छोटो देखिँदैछ । उनीहरू पनि नयाँ कुरा दिन काम गरिरहेका छन् । त्यसैले गाडी मोडल आउन छाड्यो भनेर चिन्ता गर्नु पर्ने अवस्था छैन । उनीहरूको प्लटर्फम एउटै हुन्छ । त्यसैले खर्च कम भएको छ । मुख्य कम्पोनेन्ट एउटै हुन्छ । कस्मेटिक परिवर्तनले फरक पर्दैन । त्यसैले ढुक्कसँग ईभी किन्दा हुन्छ । स्पेयर पार्ट्सकै कारण समस्या आउँदैन ।

भृकुटीमण्डपमा अटो एक्स्पो गर्दा पानी, हिलो, गर्मी र पार्किङको चिन्ता सधैँ हुन्छ । यसपटक हामीले के अपेक्षा गर्ने ?

हाम्रो प्रदर्शनी स्थलको अभाव ठूला इभेन्ट आयोजना गर्दा समस्या नै छ । हामी हल बाहिर सकभर राम्रो गर्न कोशिस गर्छौं । तर, प्रदर्शनी स्थलमा कुनै किसिमको समस्या भोग्नु पर्दैन । जहाँ गर्मी, हिलो र पानीको फिल होइन, अन्तर्राष्ट्रिय स्तरको स्टलहरू पाउनु हुन्छ । जहाँसम्म पार्किङको कुरा छ । भृकुटीमण्डपकै पार्किङ, पुलिस क्लबको पार्किङ पनि हामी प्रयोग गर्दैछौं । यसका अलावा पठाओसँग पनि केही सहकार्य हुँदैछ । जहाँ भाडामा केही छुटको स्कीम आउन सक्छ ।

अटो एक्स्पोहरू भोलिका उपभोक्ता खोज्ने स्थल पनि हो । त्यसैले कलेज वा स्कुलहरूबाट अवलोकनको लागि युवा विद्यार्थीहरू पनि ल्याउँदै हुनुहुन्छ कि ?

अटो क्षेत्रमा इच्छा राख्ने सबैको लागि यो एक्स्पोमा स्वागत छ । दुईवटा कलेजसँग भने नलेज सेयरिङ कार्यक्रमको लागि सहकार्य हुँदैछ । हाम्रो चाहना युवा पुस्तालाई अटोमोबाइलसँग जोड्दै जाने हाम्रो पनि चाहना हो ।


Back_to_top