काठमाडौं । केकी अधिकारी नेपाली चलचित्र उद्योगकी चर्चित नायिका तथा निर्माता हुन् । उनले सन् २०१० मा चलचित्र श्वरबाट अभिनय यात्रा सुरू गरेकी थिइन् । त्यसयता दर्जनौं चलचित्रमा देखिएकी अधिकारीले अभिनय गरेको आई एम सरी, बाइटुली क्याफे, श्री ५ अम्बरे, राज्जा रानी, बोक्सीको घर लगायत चलचित्रमा सफल मानिन्छन् ।
अभिनयसँगै सामाजिक विषयमा स्पष्ट धारणा राख्ने र विभिन्न सामाजिक अभियानमा सक्रिय व्यक्तित्वका रूपमा पनि उनी परिचित छिन् । पछिल्लो समय उनी वातावरणमैत्री प्रविधि र विद्युतीय सवारीप्रति सकारात्मक दृष्टिकोण राख्दै आफ्नो दैनिक जीवनमा पनि इलेक्ट्रीक एसयूभी प्रयोग गरिरहेकी छन् । उनको प्रोटोन इमास सेभेनसँगको अनुभवका बारेमा मेरोअटोले गरेको छोटो कुराकानीको सम्पादित अंश :
कति भयो तपाईंले इलेक्ट्रीक एसयूभी ‘इमास-७’ चढ्न थाल्नु भएको ? अहिलेसम्मको पर्फमेन्ससँग कति सन्तुष्ट हुनुहुन्छ ?
मैले इमास सेभेन किनेको एक वर्ष जस्तो भयो । अहिलेसम्म गाडीको पर्फमेन्ससँगै लक्जरी लागने क्याबिनले मलाई सन्तुष्ट बनाएको छ ।

कति हजार किलोमिटर चलाउनु भयो ?
ठ्याक्कैभन्दा मैले काठमाडौं बाहिर धेरै टाढा यसलाई लगेकी छैन । कहिले काहीँ काभ्रेसम्म जान्छु । अन्यथा उपत्यका वरपर हुने सुटिङहरूमा नै गाडी प्रयोग गर्दै आएको छु । सहरी क्षेत्रमा मात्रै चलाउँदा धेरै किलोमिटर भने पुगेको छैन । उपत्यमा सहरी क्षेत्रमा आफैँ चलाउँछु । काममा जाँदा भने प्यासेन्जरको रूपमा यात्रा गर्दै आएको छु ।
आफूले चलाउँदा त ड्राइभिङ सिटमै बस्नु पर्यो । आफूले नचलाउँदा अगाडि को चालक सिटमा बस्नु हुन्छ कि पछाडिको सिटमा ?
आफूले नचलाउँदा जहिल्यै पछाडिको सिटमा बस्छु । त्यसको एउटा कारण छ । लामो हाँसो हाँस्दै.. आफूलाई चलाउन आएपछि अगाडि सिटमा बस्दा चालक माथि कन्फिडेन्ट गुम्दो रहेछ । आफैँले चलाए जस्तो हात र खुट्टाको मुभमेन्ट हुन्छ । आफूले मात्रै बाटोमा आएका अन्य साधन र मानिस आएको जस्तो लाग्ने गर्छ । त्यसैले गाडी चलाइरहेको मानिसलाई पनि अफ्ठ्यारो लाग्ने भयो । त्यसपछि सधैँ म गाडी नचलाएको खण्डमा पछाडिको सिटमा बसेर नै यात्रा गर्छु ।

धेरै मानिसले ईभीले बचत गर्छ भन्ने मानसिकता राख्छन् । तपाईंको अनुभव के हो ?
मैले यसअघि पेट्रोल कार नै चलाउँथे । पेट्रोल भर्न ठूलो रकम खर्च गर्न परेको जस्तो लाग्थ्यो । अहिले पेट्रोल हाल्नु पर्दैन । वातावरणमैत्री पनि भएको कारण खर्च पनि कमसँगै सन्तुष्टि पनि बढी मिलेको अनुभव हुन्छ । स्वभाविक रूपमा इमास सेभेन एसयूभी ठूलो भएको कारण मैले फिल्म निर्माणको दौरान एउटा भाडामा लिनु पर्ने भ्यानको खर्च समेत बचाएको छु । त्यसैले खर्च र वातावरणका हिसाबले ईभीहरू राम्रा छन् ।
अन्तिममा, ईभी बिक्रेताहरूले दिने सर्भिसलाई लिएर बजारमा थुप्रै किसिमका टिकाटिप्पणी हुने गरेको छ । तपाईंको अनुभव चाहिँ के छ ?
सर्भिसमा कम्पनीहरूले थप काम गर्नु पर्ने मेरो पनि अनुभव छ । हामीले चढ्ने गाडीको बिक्रीपछिको सेवा कम्पनीहरूले दिनुपर्छ । त्यसको लागि आवश्यक पूर्वाधारहरू थप्न जरुरी देख्छु । सायद, उहाँहरू त्यसमा काम गर्दै हुनुहुन्छ होला ।


