इमास फाइभ छोटो टेस्ट ड्राइभ : मूल्य निर्णायक कि फिचर ?

काठमाडौं । प्रटोन इमास फाइभ आगामी सोमबारदेखि आधिकारिक बिक्री सुरू हुँदैछ । कम्पनीले उपत्यकामा एक कार्यक्रम आयोजना गरेर इमास फाइभको बिक्री थाल्न लागेको हो ।

कम्पनीले पछिल्लो दुई महिनादेखि इमास फाइभ केन्द्रित विभिन्न गतिविधिहरू संचालन गर्दै आएको छ । कम्पनीले संचालन गरेको गतिविधिकै कारण मूल्य घोषणा नहुँदै ग्राहकको चासो बढाउन सफल भएको देखिन्छ ।

विभिन्न गतिविधिको एउटा पाटोको रूपमा हिजो (शुक्रबार) उपत्यकाको गोकर्ण रिसोर्टमा कम्पनीले मिडिया टेस्ट ड्राइभ आयोजना गरेको थियो । उक्त मिडिया टेस्ट ड्राइभमा गाडीको मूल्य बाहेक अन्य सबै कुराको जानकारी उपलब्ध गराइएको थियो ।

त्यहीँ मैले पनि इमास फाइभको दुवै भेरियन्ट चलाएर हेरेँ । सानो र क्युट लाग्ने ह्याचब्याक कार साँच्चै साइजमा भने सानो छैन । यसको क्याबिन स्पेसको आधारमा पनि कार पर्फेक्ट लाग्छ । सिट मेटेरियल उत्कृष्ट छ । एसीले निकै राम्रोसँग काम गर्छ । टु स्पोक स्टेयरिङ ह्वील आकर्षक छ ।

सेन्टर कन्सोलको डिजाइन ठूलो एसयूभीकै जस्तो छ । सेन्टर कन्सोलमै दिइएको गियर सेक्टर, एसीका बटन र हाजार्ड लाइट सहजै प्रयोग गर्न सकिन्छ । जिलीको टेक्नोलोजी प्रयोग भएको कारण इमास फाइभको स्क्रीनमा धेरै भद्दा लाग्ने फिचर छैनन् । स्मार्ट कारमा हुने र आवश्यक पर्ने टेक फिचर मात्रै दिइएको छ ।

गाडीको साइजको तुलनामा निकै ठूलो लाग्ने सेन्टर स्क्रीन र स्मार्ट इन्स्ट्रुमेन्ट क्लष्टरको प्रयोग राम्रो लाग्छ । टर्न इण्डिकेटर, हेडल्याम्प एड्जस्ट कुरा परम्परागत राइट ह्याण्ड ड्राइभ कारकै जस्तो स्थानमा पाउन सकिन्छ । यी सबै कुराका आधारमा नेपाली उपभोक्ताको लागि इमास फाइभ आफ्नैपन दिने किसिमको ह्याचब्याक कार हो भन्दा फरक पर्दैन ।

ड्राइभिङ अनुभव

मैले यसलाई मिडिया ड्राइभको दौरान निकै छोटो दुरी चलाएको थिएँ । छोटो दुरीमा पनि यसको केही कुराले चालकको ध्यान खिच्न सफल हुन्छ । ८५ किलोवाटको मोटर निकै ‘क्विक’ लाग्छ । उकालोमा चलाउँदा झनै मज्जा लिन सकिन्छ ।

गाडीको ‘थ्रोटल रेस्पोन्स’ उत्कृष्ट छ । छोटो समयमा तीव्र गति प्रदान गर्दा चालक र प्यासेन्जरले झट्का महशुस गर्दैनन् । छोटो दुरी चलाएको कारण रेन्ज कति आउँछ एकिन साथ भन्न सक्ने कुरा भएन । तर, डब्लूएलटीपीको परीक्षणले देखाएकोभन्दा १० प्रतिशत हाराहारी कम रेन्ज पक्कै पाउन सकिन्छ ।
सानो ह्याचब्याक कार भएकाले थ्री स्पोक स्टेयरिङ ह्वील भएको भए थप मज्जा हुन्थ्यो । आकर्षक डिजाइनमा सजिएको टु स्पोक ह्वील पनि निकै आकर्षक छ । हाइट एड्जस्ट गर्ने सुविधा स्टेयरिङमा छ । त्यसको फाइदा अग्लो वा होचो दुवै किसिमका चालकले उठाउन सक्ने देखियो ।

चालक सिट म्यानुअली एड्जस्ट गर्नुपर्छ । यसमा केही सुधार उपभोक्ताले पक्कै खोज्नेछन् । चालकको सिट हाइट एड्जस्ट गर्न मिल्छ । यसले ह्याचब्याक कार किन्नेलाई थप रोमान्चित बनाउने छ ।

किन नेपालमा बलियो हुन सक्छ ?

नेपालमा प्रोटोन ब्राण्डको पुरानै परिचय छ । यसअघिको परिचयमा जगदम्बा मोटर्सले परिमार्जन गर्दै ग्राहकमैत्री बनाउन सक्नुपर्छ । यसअघि भएका कमजोरीलाई इमास फाइभ रिकभर गराउन सक्षम देखिन्छ । त्यसको लागि बिक्रीपछिको सेवा चुस्त र दुरुस्त बनाउनु पर्ने हुन्छ ।
जिलीको प्रविधिका बारेमा उपभोक्ता माझ बलियोसँग कुरा राख्न सक्नुपर्छ । उसको ब्याट्री टेक्नोलोजी, मोटर र सफ्टवेयरको फाइदा इमासले पाउने छ । त्यसमा सेग्मेन्टकै पहिलो रियर ह्वील ड्राइभ मोटर र इन्डिपेन्डेन्ट सस्पेन्स भएको इमास फाइभले १७५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्सको फाइदा पनि उठाउन पाउने छ ।

साइजका हिसाबले पनि यो कर उत्कृष्ट लाग्छ । ४.१ मिटर लामो ह्याचब्याक कार पार्किङ गर्न सजिलो छ । सहरी क्षेत्रको भिडभाडको लागि पनि निकै उपयोगी हुने कारको सस्पेन्सन निकै आरामदायी यात्रा प्रदान गर्न सक्ने खालको छ ।

१४.६ इन्चको स्क्रीन, ३६० डिग्री क्यामेरा, एडास लेभल टु, ६ एयरब्याग र सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री यसको बलियो पक्ष हो । बाहिरी डिजाइन पनि निकै आकर्षक लाग्छ ।


मूल्य निर्णायक

प्रोटोनले राख्ने मूल्य यसको बिक्रीमा निर्णायक देखिन्छ । दुई भेरियन्टको मूल्य कसरी निर्धारण हुन्छ भनेर कुरेर बस्नेको लागि तोकिने मूल्य नै मुख्य आकर्षण बन्न सक्छ ।

आगामी चार साता भित्र थुप्रै ह्याचब्याक सार्वजनिक हुने चरणमा छन् । यस अवधिमा प्रोटोन इमास फाइभले कसरी बजार निर्माण गर्छ भन्ने कुरा निकै महत्वपूर्ण मानिएको छ ।


Back_to_top