काठमाडौं । सर्वाधिक चासोका साथ हेरिएको नयाँ माइक्रो एसयूभी टाटा पन्च नाडा अटो शो २०२४ मा सार्वजनिक हुने भएको छ । सिप्रदी ट्रेडिङले अटो शोमा उपभोक्तालाई आकर्षित गर्न पन्च ईभीको बिक्री सुरु गर्न लागेको हो ।
अटो शोको अघिल्लो संस्करणमा टाटा टियागो ईभी ल्याएर ग्राहकलाई आफु तिर आकर्षित गरेको टाटाले यस पटक पन्च मार्फत नयाँ रेकर्ड निर्माण गर्ने योजना बुनेको छ । त्यसैले निकै आक्रमक मूल्यमा पन्च ईभी सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।
सिप्रदीले अहिलेसम्म पन्च ईभीको मूल्यका विषयमा कुनै जानकारी दिएको छैन । तर, भारतीय बजारमा रहेको मूल्य अनुसार भने अनुमान लगाउन सकिन्छ । भारतमा इन्ट्री भेरियन्ट पन्चको मूल्य १० लाख ९९ हजार भारतीय रुपैयाँमा छ । जुन टाटा टियागो टप भेरियन्टको भन्दा कम हो ।
भारतमा भएको मूल्यभन्दा नेपालमा ब्राण्डको रणनीति फरक हुन सक्छ । त्यसैले ठ्याक्कै कति मूल्यमा पन्च ईभी आउँछ भन्ने एकिन भन्न त सकिदैन । तर, अनुमान लगाउन सकिन्छ । सिप्रदीले पन्च ईभीको मूल्य ३२ लाखदेखि ४२ लाख रुपैयाँ भित्रै रहने गरी ल्याउन सक्ने छ ।
यस्तो छ पन्च ईभी
टाटा पन्च सर्ट रेन्ज (एसआर) र लङ रेन्ज (एलआर) गरी दुई फरक मोडलमा उपलब्ध हुनेछ । सम्भवत दुबै मोडलमा थप भेरियन्टहरु आउने छन् । सर्ट रेन्ज मोडलमा २५ किलोवाट आवरको ब्याट्री छ । जुन टियागो ईभीकोभन्दा १ किलोवाट आवर ठूलो ब्याट्री हो ।

लङ रेन्ज मोडलमा ३५ किलोवाट आवरको ब्याट्री रहने छ । पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर छ । यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्छ ।
त्यस्तै, लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्दछ ।
पन्च ईभीमा १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्लोज फ्रन्ट ग्रिल, १०.२४ इन्चकै टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा दिइएको छ ।
त्यसैगरी, पन्च ईभीलाई प्रिमियम बनाउन कम्पनीले लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, कनेक्टेड डे टाइम रनिङ लाइट, ब्लाइन्ड स्पट भ्यू मिरर, एयर प्युरिफायर जस्ता फिचर दिएको छ । सुरक्षामा ५ स्टार रेटिङ पाउन सफल पन्चले गर्ने ब्यापार हेर्न भने केही समय थप कुर्नु पर्ने हुन्छ ।

