नेपाल सरकारको उपेक्षा र करको मारमा हाइब्रिड कार

काठमाडौं । विश्वभर न्यू इनर्जी भेहिकलको रुपमा फस्टाउँदै गएको हाइब्रिड कार नेपाल सरकारको उपेक्षामा परेको छ । सरकारी उपेक्षाको कारण नै गत आर्थिक वर्ष २०८०/८१ मा केवल ३६ यूनिट मात्रै हाइब्रिड कार आयात भएको छ ।

चीनमा अहिले विद्युतीय कारको तुलनामा हाइब्रिड कारको बिक्री उच्च रहेको छ । त्यसैले त कम्पनीहरु प्लगइन हाइब्रिड, स्ट्रङ हाइब्रिड र रेन्ज एक्सटेन्डर जस्ता प्रविधिमा ठूलो लगानी गर्दै आएका छन् ।

धेरैजसो विद्युतीय मोडको प्रयोग र लामो यात्रामा जाँदा मात्रै पेट्रोलको प्रयोग गर्नु पर्ने यस्ता कारहरु जापान, भारत, दक्षिण कोरिया र इन्डोनेशियाबाट आयात भएका देखिन्छन् ।

सरकारी करको भारकै कारण हाइब्रिड कारहरुको आयात खुम्चेको हो । विश्वमा सबैभन्दा तिब्र गतिमा बिस्तार भइरहेको हाइब्रिड नेपालमा महंगो भएको कारण धेरैको पहुँच बाहिर पुगेको हो ।

आयातकर्ता कम्पनीहरुले ३६ यूनिट हाइब्रिड कार किनेर ल्याउँदा १६ करोड ९० लाख ६८ हजार रुपैयाँ उत्पादकलाई तिरेका छन् । तर, त्यहि गाडीलाई भन्सार, अन्तशुल्क, भ्याट र सडक निर्माण दस्तुर गरेर ३९ करोड ५२ लाख ५३ हजार रुपैयाँ भन्सार विन्दुमा नै तिरेको देखिन्छ ।

त्यसमा अन्य खर्च र ब्यवसायीको नाफा समेत जोड्दा कारको मूल्य निकै महंगो पर्न जान्छ ।


Back_to_top