काठमाडौं । बजाज चेतकले २ लाख यूनिट बिक्री पुरा गरेको छ । सन् २०२१ को अन्तिममा सार्वजनिक भएको बजाज चेतक इलेक्ट्रीकले २ लाख यूनिटको माइल स्टोन पुरा गरेको हो ।
कम्पनीले पछिल्लो ८ महिनामा १ लाख यूनिट स्कुटर बिक्री गर्न सफल भएको छ । अहिले कम्पनीले भारतीय बजारमा तीन भेरियन्टमा चेतक स्कुटर बिक्री गर्दै आएको छ ।
बजाजले सन् २०२२ मा चेतक इलेक्ट्रीक स्कुटर ३० हजार यूनिट विक्री गर्न सफल भएको थियो । त्यसपछि क्रमिक रुपमा बिक्री बढ्दै २ लाख यूनिट पुरा भएको हो ।
बजाज मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले चेतक स्कुटर नेपालमा सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले लामो समयदेखि परीक्षण गरिरहेको चेतक भदौ ११ गतेदेखि हुने नाडा अटो शो २०२४ मा सार्वजनिक गर्ने भएको हो ।
भारतीय बजारमा तीन भेरियन्टमा उपलब्ध चेतकको कुन भेरियन्ट नेपाली बजारमा सार्वजनिक हुन्छ भन्ने यकिन भइसकेको छैन । यसको मूल्यका बारेमा पनि कम्पनीले हालसम्म कुनै जानकारी बाहिर ल्याएको छैन ।
बजाज चेतकमा ५०.४ भोल्ट ५७.२४ एम्पीयर आवरको लिथियम आयन ब्याट्री प्याक दिइको छ । यसमा ४.२ किलोवाट पिक पावरको मोटर जडान गरिएको छ । चेतकले इको मोडमा १०८ किलोमिटरसम्म रेन्ज दिन्छ ।


