पेट्रोल कारमा कर्जा सिमा बढाउन प्रधानमन्त्रीलाई नाडाको आग्रह

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पेट्रोल कारमा रहेको लोन टु भ्यालू रेसियो बढाउन माग गरेको छ । अटोमोवाइल क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न नाडाले आग्रह गरेको हो ।

बैकहरुबाट निजी सवारी साधन खरिद गर्नेलाई प्रवाह गरिने ‘लोन टु भ्यालू रेसियो’ अहिले ५० प्रतिशत रहेकोमा त्यसलाई बढाएर ७५ प्रतिशत गर्न माग गरेको छ ।

साथै, नेपालमा विद्युतिय सवारी साधन आयात बढ्दै गएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ्ग स्टेशनहरुको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतीय सवारी साधन विकासको लागि सरकारले स्थायी प्रकृतिको नीति नियम ल्याउन नाडाले प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

दुई पाँग्रे सवारी साधन पैठारीकर्ताले डिलरलाई विल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई विल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।

अहिले प्रयोग भएको इम्बोस्ड नम्बर प्लेट पनि सुधार गर्न नाडाले आग्रह गरेको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योगहरुको समस्या र चुनौतीहरु बारे जानकारी गराएका थिए ।

छलफलमा प्रधानमन्त्री ओलीले सवारी साधन, टायरटयूव, ब्याट्री तथा लुव्रिकेण्टस उद्योगहरुको बर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिएको नाडाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


Back_to_top