बीवाइडी एटो-थ्री र ओमोडा ई-५को मासिक किस्तामा कति फरक ?

काठमाडौं । बीवाइडी एटो-थ्री अहिले बजारमा सर्वाधिक बिक्री हुने एसयूभी हो । यसलाई किन्न चाहनेहरूले यसका दुवै भेरियन्टलाई उत्तिकै रुचाएका छन् ।

एटो-थ्री एड्भान्स र सुपेरियर भेरियन्टमा उपलब्ध रहेको छ । तर, ओमोडा ई-५ अहिलेसम्म एउटा मात्रै भेरियन्टमा किन्न पाइन्छ । कम्पनीले ड्युल टोन कलर अप्सनमा फरक मूल्य निर्धारण गरेर बिक्री गर्दै आएको छ ।

बीवाइडी एटो-थ्रीमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । ओमोडा ई-५ मा भने ९९ किलोवाटको मोटर रहेको छ । दुवै एसयूभीमा रहेको मुख्य समानता भनेको एउटै ब्याट्री हो ।

ओमोडाले पनि आफ्नो एसयूभीमा फिन ड्रिम्सले उत्पादन गरेको ब्लेड ब्याट्री नै प्रयोग गरेको छ । फिन ड्रिम्स बीवाइडीको सहायक कम्पनी हो । जसले उत्पादन गरेको ब्लेड ब्याट्री विश्वभर चर्चामा छ ।

गत आर्थिक वर्षमा एटो-थ्रीको आयात २ हजार ८३१ युनिट आयात भएको थियो । नेपाल आएको छोटो समयमा नै ओमोडा ई-५ को आयात ३५१ युनिट भएको हो । त्यसैले सफलता र चर्चाको मामलामा दुवै मोडल राम्रा छन् ।

मूल्य

बीवाइडी एटो-थ्री एड्भान्स मोडलको मूल्य ५६ लाख ९० हजार रुपैयाँ रहेको छ । तर, सुपेरियर मोडल किन्नेले ६७ लाख ८० हजार रुपैयाँ तिर्नुपर्छ ।

ओमोडा ई-५ को मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, ड्यूल टोनमा किन्न चाहनेले ५० हजार रुपैयाँ अतिरिक्त तिर्नु पर्ने हुन्छ । ड्यूल टोन कलरमा भने ६२ लाख ४९ हजार मूल्य तोकिएको छ ।

डाउन पेमेन्ट

विद्युतीय कार किन्नेले २० प्रतिशत डाउन पेमेन्ट गर्दा पुग्छ । त्यसैले एटो-थ्री एड्भान्स किन्दा ११ लाख ३८ हजार रुपैयाँ डाउन पेमेन्ट बापत सुरूमै तिर्नु पर्छ । बाँकी रकम ४५ लाख ५२ हजार रुपैयाँ बैंकबाट कर्जा सुविधा पाइन्छ ।

ओमोडा ई-५ किन्नेले १२ लाख ३८ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट बापत सुरूमै तिर्नु पर्छ । बाँकी ४९ लाख ५९ हजार २०० रुपैयाँ बैंकबाट कर्जा लिन सकिन्छ ।

एटो-थ्री सुपेरियर किन्नेले १३ लाख ५६ हजार रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ भने ५४ लाख २४ हजार रुपैयाँ कर्जा लिन सक्नेछन् ।

मासिक किस्ता

अहिले बैंकहरूले ९ प्रतिशतमा नै कार किन्नेलाई कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । त्यसमा निजी कारको लागि ७ वर्षसम्मको कर्जा सुविधा पाइने भएको कारण कार किन्नेलाई सहज भएको छ ।

बीवाइडी एटो-थ्री एड्भान्स मोडल किन्ने मानिसले मासिक ७३ हजार रुपैयाँभन्दा केही बढी तिर्नु पर्छ । जबकी एटो-थ्री सुपेरियरको मासिक किस्ता ८७ हजारभन्दा बढी पर्छ ।

ओमोडा ई-५ किन्ने मानिसले मासिक ७९ हजार ८०० रुपैयाँ हाराहारी किस्ता तिर्नुपर्छ ।


Back_to_top