काठमाडौं । विद्युतीय कारको चर्चा व्यापक भए पनि एक करोड माथिका कारमा धेरैको रुची देखिएको छैन । अहिले बजारमा १७ लाखदेखि ५ करोड रुपैयाँ मूल्यसम्मको ईभी किन्न पाइने भए पनि महंगा गाडी किन्नेको रोजाइमा ईभी परेको देखिँदैन ।
भर्खरै सकिएको गत आर्थिक वर्ष २०८०/८१ मा केबल १८८ युनिट विद्युतीय गाडी एक करोड रुपैयाँ मूल्य माथिका आयात भएका छन् । यसरी आयात भएका ईभी मध्ये सबैभन्दा धेरै कियाले नेपाल ल्याएको देखिन्छ । कियाले ४० युनिट ईभी-६ ल्याउँदा नयाँ ईभी-९ को अयात ९ युनिट गरेको छ । कियाले कुल ४९ युनिट प्रिमियम इलेक्ट्रीक कार नेपाल ल्याएको छ ।

दोस्रो धेरै आयात बीएमडब्ल्यूले गरेको छ । कम्पनीले आइएक्स-३ को आयात ३० युनिट गर्दा भर्खरै नेपाल आउन थालेको आइएक्स-१ को आयात ६ युनिट गरेको छ । समग्रमा बीएमडब्ल्यूले ३६ युनिट आयात गरेको देखिन्छ ।
तेस्रो स्थानमा स्काइवेल परेको छ । स्काइवेलले गत वर्ष ३२ युनिट ईटी-५ मोडल नेपाल ल्याएको छ । त्यसैगरी, चौथो स्थानमा हुन्डाई रहेको छ । हुन्डाईले आयोनिक-५ को अयात ३० युनिट गरेको देखिन्छ ।
सूचीको छैटौं स्थानमा अउडी रहेको छ । कम्पनीले क्यू फोर इट्रोन १५ युनिट र क्यू एट इट्रोन २ युनिट गरी १७ युनिट आयात गरेको हो ।
यी बाहेक कुनै पनि ब्राण्डले एक करोड माथि मूल्य रहेका गाडी दोहोरो अंकमा आयात गरेका छैनन् । टेस्लाले ९ युनिट, मेक्ससले ६ युनिट, बीवाइडी सिल ४ युनिट, अवतार ४ युनिट र पोर्श्चेले एक युनिट आयात भएको देखिन्छ ।

